ज्येष्ठ नागरिकद्वारा सडक जाम

काठमाडौं । विभिन्न माग राखेर ३० महिनादेखि धर्ना बस्दै आएका ज्येष्ठ नागरिकले आइतबार एक घन्टा सडक जाम गरेका छन् ।

वृद्ध भत्ता बढाएर तीन हजार रुपैयाँ पु¥याउनुपर्ने र ज्येष्ठ नागरिकले सर्वोच्च अदालतले ०६७ चैत २४ गते सरकारको नाममा जारी गरेको परमादेशको आदेश लागू गर्नुपर्नेलगायत माग गर्दै उनीहरूले मीनभवनस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागको कार्यालय अगाडिको एकतर्फी बाटोमा लम्पसार परेर दिउँसो एक घन्टा सडक जाम गरेका हुन् ।
धर्ना बसेको ३० महिनासम्म पनि आफ्ना माग पूरा नभएपछि सडक संघर्ष गर्न बाध्य भएको ज्येष्ठ नागरिक संयुक्त संघर्ष समितिका अध्यक्ष महाप्रसाद पराजुलीले बताए ।
ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारीसाधनमा ५० प्रतिशत छुट गर्नुपर्ने र निजी तथा सरकारी अस्पतालमा निःशुल्क स्वास्थ्य उपचार गर्नुपर्नेलगायत आठ सूत्रीय माग गर्दै ०६९ फागुन २४ गतेदेखि धर्नामा बस्दै आएका हुन् । धर्नामा ६० वर्षदेखि १०२ वर्ष उमेर समूहका तीन सयको संख्यामा ज्येष्ठ नागरिकको सहभागिता रहेको थियो । (सौस)

प्रतिक्रिया