म्याग्दी, काठमाडौं र बाँकेमा च्याउको आतंक

mushroom-curryकाठमाडौं, १८ असार । विषाक्त जंगली च्याउ पकाएर खाँदा म्याग्दी, काठमाडौं र बाँकेमा गरी १८ जना बिरामी भएका छन् ।

म्याग्दी जिल्लाको रत्नेचौर नगरपालिकाको २३ ताले कुलो निर्माण कार्यमा रहेका मजदुरहरूले बिहीबार बिहानको खानामा च्याउको तरकारी पकाएर खाँदा १२ जना गम्भीर बिरामी परेका हुन् ।

मजदुरी गर्दै आएकका चितवन शक्तिखोर–२ का ३० वर्षीय कमल चेपाङ, २० वर्षीय दलबहादुर चेपाङ, ६५ वर्षीय राम्जी चेपाङसहित १२ जना च्याउको तरकारी खाएर बिरामी भएको प्रहरीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

बिरामीमध्ये ६ जनाको गण्डकी अस्पताल र ६ जनाको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको छ ।

यसैगरी काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–७ धरमपुर बस्ने रोल्पा लिवाङ–७ घर भएका ४७ वर्षीया विमला गुरुङ र ३० वर्षीया निर्मला गुरुङ च्याउनको तरकारी खाँदा बिरामी परेका छन् ।

उनीहरूले बिहीबार खेतमा उम्रेको च्याउ पकाएर खाँदा बिरामी भएको प्रहरीले जनाएको छ । गरुङ दम्पत्तिलई उपचारको लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

यस्तै काठमाडौं तारकेश्वर नगरपालिका–१७ मनमैजु बस्ने ४० वर्षीय कुमार थापा र उनकी ३८ वर्षीया श्रीमती सानु थापा महर्जन पनि च्याउको तरकारी खाएर गम्भीर बिरामी परेका छन् ।

बुधबार राति जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा उनीहरू बिरामी भएका हुन्. ।

बिरामी परेका उनीहरूलाई टेकु अस्पतालबाट बिहीबार थप उपचारका लागि पाटन अस्पताल लगिएको छ ।

यस्तै बाँके बागेश्वरी–८ बस्ने स्वयमप्रसाद शर्मा र उनकी १७ वर्षीया छोरी निरुता शर्मा पनि बिरामी परेका छन् ।

बिहीबार राति बारीमा उम्रेको च्याउ पकाएर खाँदा बिरामी भएको प्रहरीले जनाएको छ । उनीहरूलाई उपचारको लागि आज (शुक्रबार) नर्सिङ होम नेपालगंजमा लगिएको छ ।

प्रतिक्रिया