दोलखा, १६ असार । जलवायु परिवर्तनसम्बन्धी गतिविधि सञ्चालनका लागि दोलखामा रेड कार्य समूह गठन गरिएको छ । वनको विनाश र
क्षयीकरण रोकी कार्बन उत्सर्जन न्यूनीकरण गर्ने अवधारणालाई रेड भनिन्छ ।
जिल्लामा जलवायु परिवर्तन र वातावरणका क्षेत्रमा काम गर्ने निकायलाई समावेश गरी जिल्ला वन कार्यालयले रेड कार्य समूह गठन गरेको हो ।
गठित कार्य समूहले जिल्लामा जलवायु परिवर्तन रेडसम्बन्धी गतिविधि सञ्चालनका लागि योजना निर्माण गर्ने सहायक जिल्ला वन अधिकृत गोविन्द दाहालले बताए ।
जिल्ला वन कार्यालयले नेतृत्व गर्ने रेड कार्य समूहमा जिल्ला विकास समितिको वातावरण ऊर्जा तथा जलवायु परिवर्तन शाखा, सामुदायिक वन उपभोक्ता महासंघ, गैरीशंकर संरक्षण क्षेत्र आयोजना, नेपाल आदिवासी जनजाति महासंघका प्रतिनिधि रहेका छन् । यसैगरी, कार्य समूहमा गैरसरकारी संस्थाहरू इकार्डस, एन्वास, हिमवन्ती, कप्सन, ग्रामीण विकास टुकी संघको पनि प्रतिनिधित्व रहेको छ । आगामी महिनाबाट दोलखामा इसिमोडसँगको साझेदारीमा जलवायु परिवर्तन र रेडसम्बन्धी नमुना कार्यक्रम सञ्चालन हुने भएकाले योजना निर्माणका लागि कार्य समूह गठन गरिएको सहायक जिल्ला वन अधिकृत दाहालले बताए ।
वनजंगलको संरक्षण र दिगो व्यवस्थापनमार्फत जलवायु परिवर्तनको असर कम गर्नका लागि रेड अवधारणा उपयुक्त मानिन्छ । विश्व बजारमा कार्बन व्यापारका लागि तयारी स्वरूप विभिन्न नमुना कार्यक्रम अहिले सञ्चालनमा छन् ।
कार्बन व्यापारको तयारीका लागि नेपाल सरकार राष्ट्रिय रेड रणनीति निर्माणको अन्तिम चरणमा पुगेको छ ।
प्रतिक्रिया