कलेजले आफूखुसी उत्कृष्ट घोषणा गर्न नपाउने

HSEB_buildingकाठमाडौं, १४ असार । निजी उच्च माध्यमिक विद्यालय÷कलेजहरूले आफूखुसी मनपरी ढंगबाट उत्कृष्ट घोषणा गर्ने कार्यलाई उच्च माध्यमिक शिक्षा परिषद्ले रोक्ने भएको छ ।

परिषद्ले आफूखुसी कलेज घोषणा गरेर विद्यार्थीलाई ठग्दै आएका ती कलेजहरूलाई यस वर्षदेखि उत्कृष्ट घोषणा गर्ने कार्यमा रोक लगाउन थालेको हो । परिषद्ले कक्षा ११ र १२ को अन्तिम परीक्षाको मूल्यांकनको आधारमा निजी उमाविको उत्कृष्ट घोषणा गरे पनि त्यसलाई बेवास्ता गरिनेछ ।
उच्च माध्यमिक शिक्षा परिषद्का उपाध्यक्ष चैतन्य शर्माले परिषद्को स्वीकृतिविना कुनै पनि निकायले उत्कृष्ट उमावि घोषणा गर्न नमिल्ने भन्दै त्यसलाई तत्काल रोक लगाइने जानकारी गराए ।
राजधानीका नाम चलेका ट्रिनिट्री, प्रसादी, काठमाडौं मोडेल कलेज, गोल्डेनगेट कलेज, सिसिआरसी, लिभरपुलजस्ता कलेजहरूले आफूखुसी उत्कृष्ट कलेज भन्दै विद्यार्थीलाई ठग्दै आएका छन् । कलेजहरूले आर्थिक चलखेल गरेर केही मिडियमामार्फत उत्कृष्ट कलेज आफैँले आफैँलाई घोषणा गदै हिँड्न थालेका छन् । उत्कष्ट कलेज प्रचार गर्दै धमाधम विद्यार्थी भर्ना गर्ने प्रवृत्ति बढ्न थालेपछि परिषद्को ध्यानकर्षण भएको जनाउँदै परिषद्को स्वीकृति बेगर उत्कृष्ट घोषणा गर्न रोक लगाउने भएको छ ।
परिषद्का सदस्यसचिव नारायण कोइरालाले परिषद्ले कसैलाई पनि उत्कृष्ट उमावि भनी घोषणा नगरेको अवस्थामा एकलौटी रूपमा स्वघोषित उत्कृष्टताको प्रचार गर्ने माथि कारबाही गरिने जानकारी गराए । ‘हामीले कुनै पनि उमाविलाई उत्कृष्ट भनेका छैनौँ,’ उनले भने, ‘आफैँ घोषणा गर्दै हिँडेका छन् । त्यस्तो गर्न पाइन्न । आफैँ घोषणा गर्ने कलेजलाई कारबाही गर्छौं ।’
तर, उनले कुन विद्यालय उत्कष्ट हो वा होइन भन्ने अधिकार परिषद्लाई भएपछि अहिले यो वर्ष भने मूल्यांकन नगरिएको जानकारी गराए । ‘अहिले उत्कृष्ट घोषणा नगरेको अवस्थामा कसैले पनि यो उमावि उत्कृष्ट घोषणा गर्न पाउन्न,’ उनले भने ।
अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले आधार नै नभई उत्कृष्ट घोषणा गर्नु गतल भएको बताए । उनले आधिकारिकता नभईकन उत्कृष्ट घोषणा गर्ने निकायलाई कारबाही गर्नुपर्ने बताए । ‘उत्कृष्टताको आधार के हो ? आधिकारिक निकाय उच्च माध्यमिक शिक्षा परिषद्ले घोषणा नगरी मनगढन्ते रूपमा एकलौटी उत्कृष्ट उमावि भएको सार्वजनिक गर्नु गलत प्रवृत्ति हो,’ उनले भने ।
हिसानका अध्यक्ष उमेश श्रेष्ठले कुन उमावि उत्कृष्ट हो वा होइन भन्ने अधिकार अभिभावकलाई भएको बताउँदै योे वा त्यो उमावि उत्कृष्ट भनी घोषणा गर्नु गलत भएको दाबी गरे । ‘उत्कृष्टताको माध्यम के हो ? त्यसलाई प्रस्ट नपारी हचुवाको भरमा घोषणा गर्नु गलत नियत हो,’ उनले भने ।
उनले परिषद्ले उत्कृष्ट उमाविको नाम कहिल्यै पनि सार्वजनिक नगरेको अवस्थामा हचुवाको भरमा उत्कृष्ट भन्दै बाहिर नाम सार्वजनिक गर्नु गलत भएको बताए । परिषद्का कामु परीक्षा नियन्त्रक सन्तोष अर्यालले हामीले कुनै पनि उमावि उत्कृष्ट भए/नभएको भन्ने विषयमा सार्वजनिक नगरेको अवस्थामा आपूmखुसी उत्कृष्ट उमावि भनी नाम सार्वजनिक गर्नु कानुनविपरीत भएको बताए ।

प्रतिक्रिया