म्यानेजमेन्टमा आकर्षण बढ्दो, कसरी कलेज छान्ने ?

managementकाठमाडौं । एसएलसीपछि मात्र विद्यार्थीको भविष्य निर्धारण हुनेगर्छ । भविष्यको लक्ष्य डाक्टर, इन्जिनियर, बैंकर, सिइओ, बेजनेस, प्रशासनिक के हो त्यो अहिले नै उनीहरूले रोजेको विषयले निर्धारण गर्छ ।

तीनैमा आफ्नो क्यारियर बनाउन विद्यार्थी अहिले विषय छनोट गर्ने गरेका छन् । विद्यार्थीले अहिले सबैभन्दा बढी म्यानेजमेन्ट, साइन्स विषय पढ्ने गरेका छन् ।

त्यसपछिको रोजाइमा नसिङ शिक्षा पनि रहेको छ । नर्स पढेपछि तुरुन्तै जागिर पाइने भएकाले विद्यार्थीको आकर्षण पनि बढेको हो । तीमध्ये एसएलसीमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीको पहिलो रोजाइ साइन्स नै हुने गरेको छ ।

राम्रो अंक ल्याउने विद्यार्थीको लक्ष्य डाक्टर इन्जिनियर हुनेगर्छ । र, त्यसका लागि उनीहरू साइन्स विषय पढ्ने गरेका छन् ।

‘छोरी बिगे नर्स छोरा बिग्रे कमर्स’ भन्ने उक्ति अहिले उल्टो सावित हँदै गएको छ । यो उक्तिसँग जोडिएका दुई विषय पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्न थालेको छ ।

एसएलसीपछिको उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी अहिले यी दुई विषय रोज्ने गरेका छन् । तर, नर्स छात्राले मात्र पढ्ने भएकाले छात्रका लागि रोजाइ बन्ने गरेको छैन । पहिले पहिले प्रथम श्रेणी ल्याउने विद्यार्थी अभिभावकको करले साइन्स नै पढ्ने गर्थे ।

तर, अहिले ट्रेन चेन्ज भएको छ । विश्वव्यापीकरण, टेक्नोलोजी र विश्व अर्थतन्त्रले गर्दा अभिभावक पनि राम्रो अंक ल्याएका आफ्ना बालबालिकालाई म्यानेजमेन्ट विषय नै पढाउने गरेका छन् । अहिले विशिष्ट श्रेणी ल्याएका धेरै विद्यार्थी म्यानेजमेन्टमा आफ्नो भविष्य बनाउन खोजिरहेका पाइन्छ ।

एसएलसीमा सगरमाथा बोडिङ स्कुल सरस्वतीनगरबाट ९०.८७ प्रतिशत ल्याएका अविरल अधिकारीको रोजाइ साइन्स नभई म्यानेजमेनट नै रह्यो । भविष्यमा चार्टड एकाउन्ट (सिए) बन्न म्यानेजमेन्ट विषय पढ्न थालेका हुन ।

उनी जस्ता धेरै विशिष्ट श्रेणीमा उत्तीर्ण विद्यार्थीको उच्च शिक्षापछि सिए बन्न म्यानेजमेन्ट नै रोज्ने गरेका छन् । ‘सिए पढ्न साइन्सभन्दा म्यानेजमेन्ट नै सजिलो हुन्छ’ उनी भन्छन्,‘त्यसैले म्यानेजेमन्ट नै पढ्न थालेको हुँ ।’ हुन त साइन्स पढेर सिए पनि पढ्न पाइन्छ तर विद्यार्थी सिए पढ्न सजिलो होला भनेर म्यानेजमेन्ट नै पढ्ने गरेका छन् ।

यस्तै, एसएलसीमा ८४.५ प्रतिशत अंक ल्याएका जोरपाटीका सन्देश खड्काको रोजाइ साइन्स नभएर म्यानेजमेन्ट भयो । भविष्यमा सिए बन्ने लक्ष्य लिएका सन्देश अहिले म्यानेजमेन्ट विषय पढ्न खोजिरहेका छन् ।

बुबा व्यापारी भएकाले पनि सन्देशलाई म्यानेजमेन्ट पढ्न डोर्‍याएको हो । उनी साइन्स पढेर सिए बन्नुभन्दा तलैदेखिको जग बलियो बनाउने म्यानेजमेन्ट विषय पढ्न थालेका हुन् ।

विद्यार्थी सिए पढेर बैंकर हुन म्यानेजमेन्ट विषय नै पढ्ने गरेका छन् । साइन्स पढेर डाक्टर, इन्जिनियरिङ कृषि, वन, म्यानेजमेन्ट, टेक्नोलोजीजस्ता विषय पनि पढ्न पाइने हुन्छ । म्यानेजमेन्ट विषय पढेर उच्च शिक्षाका लागि सिए, विविए होटल म्यानेजमेन्ट, टेक्निकल विषयलगायत विषय पढ्ने गर्छन् ।

निजी क्षेत्रको विकाससँगै नेपालमा फस्टाउँदै गएको बैंकिङ, होटेल तथा निजी क्षेत्रका कम्पनीमा आकर्षण रोजगारी पाइने भएकाले विद्यार्थीको अहिलेको रोजाइ म्यानेजमेन्ट विषय रहन गएको छ ।

भक्तपुर पेप्सीकोलाका योगेश उदायले यस वर्षको एसएलसीमा ८२ प्रतिशत अंक ल्याएर म्यानेजमेन्ट विषय पढ्ने तयारीमा रहेका छन् । उनले अहिले राम्रो म्यानेजमेन्ट कलेज खोजिरहेका छन् ।

सिए पढेर पछि भविष्यमा राम्रो बिजनेस म्यान बन्ने उनको इच्छा छ । सिएका लागि साइन्स पढेकाले पनि पाउँछन् । तर, भविष्यमा सिए नै लक्ष्य गराएका धेरै विद्यार्थी साइन्स नपढेर म्यानेजमेन्ट पढ्ने गरेका छन् ।

‘साइन्सबाट सिए पढ्न गयो भने तलको बेस हुँदैन । म्यानेजमेन्टबाट सिए पढ्दा सजिलो हुन्छ’ योगेशले भने,‘त्यसैले भविष्यमा सिए पढ्न साइन्सभन्दा म्यानेजमेन्ट नै रोजे ।’

त्यसो त साइन्सबाट सिए पढ्न थालेपछि ४ वर्ष विविएस पनि अनिवार्य पढ्नुपर्छ । त्यसैले विद्यार्थी साइन्स पढेर फेरि ४ वर्ष विविएस गर्नुभन्दा एकैपटक कक्षा ११ मा म्यानेजमेन्ट विषय नै छान्ने गर्छन् ।

मध्यम वर्गको रोजाइ

आफ्नो हैसियतले डाक्टर इन्जिनियर बन्ने नसक्ने धेरै मध्यमवर्गका विद्यार्थी म्यानेजमेन्ट बनेर आफ्नो भविष्य कोर्नेतिर लागेका देखिन्छ । त्यस्ता विद्यार्थी पनि अहिले एसएलसीमा राम्रो अंक ल्याउँदैमा हत्तपत्त साइन्स नै पढ्न चाहँदैनन् ।

म्यानेजमेन्ट बनेरपछि कुसल व्यवस्थापक बन्ने पाउने भएकाले विद्यार्थी साइन्स पढेरभन्दा म्यानेजमेन्ट पढ्नतिर लागेका देखिन्छ । प्रसादी एकडेमी, त्रिनेट्री इन्टरनेसनल, काठमाडौं मोडेल कलेज, साउथवेस्र्टन कलेज, लिभरपुल, नासा, गोल्डेनगेट, लोयलाजस्ता कलेजले पनि साइन्सभन्दा धेरै कोटामा म्यानेजमेन्ट विषय पढाइरहेका छन् ।

नयाँ वानेश्वरका निश्चल शर्मा परिवारले साइन्स पढेर डाक्टर इन्जिनियर बनाउने नसक्ने भएपछि म्यानेजमेन्ट पढेर कुसल बैंकर बन्न चाहन्छन् । ७९.६७ प्रतिशत अंक ल्याएका निश्चल अहिल्यै नै साइन्स लिनुभन्दा एउटै बेसमा पढेर गए पछि राम्रो हुन्छ भनेर अहिल्यैदेखि नै म्यानेजमेन्ट विषय छनोट गरेको बताउँछन् ।

‘हाम्रो परिवारले पनि साइन्स पढेपछि डाक्टर इन्जिनियरमा खर्च गर्न सक्दैनन्’ उनले भने,‘त्यसैले पनि परिवारलाई भार पार्ने किसिमले भन्दा पनि म्यानेजमेन्ट पढेर राम्रो बैंकर बन्न सकिन्छ ।’

धेरै साइन्स विषय पढेर डाक्टर इन्जिनियर धेरै खर्च लाग्ने हुनाले पनि विद्यार्थी म्यानेजमेन्टतर्फ आकर्षित हुन थालेका हुन् । डाक्टर पढ्न ५० लाख र इन्जिनियरिङ पढ्न २० लाख खर्च गर्नुपर्ने हुन्छ । साइन्समा धेरै मिहिनेत गर्नुपर्ने हुन्छ तर त्यति नै मात्रामा म्यानेजमेन्टमा मिहिनेत ग¥यो भने राम्रो नम्बर ल्याउन सकिन्छ ।

साइन्सको तुलनामा म्यानेजमेन्ट विषय पढेर उच्च शिक्षा अध्ययन गर्न अलि कम खर्च हुने गरेको छ । त्यसैले अहिले म्यानेजमेन्ट पढेर कम खर्च गरेर राम्रा रोगजारीमूलक विषय पढ्न पाइने भएकाले विद्यार्थीको रोजाइ बनेको छ । म्यानेजमेन्टको तुलनामा डबल खर्च साइन्सको रहेको छ ।

साउथवेस्टन कलेज वसुन्धाराका भाइसप्रिन्सिपल हरिसिंह केसी अहिले विद्यार्थीको रोजाइ साइन्सभन्दा म्यानेजमेन्टतिर पढ्ने बढी भएको बताउँछन् ।

म्यानेजमेन्ट पढ्यो भने पछि यदि जागिर नपाएको खण्डमा आफैँ पनि बिजनेस गर्न सकिनेछ । जसले गर्दा विद्यार्थी आफ्नो खुट्टामा आफैँ उभिनका लागि पनि म्यानेजमेन्ट विषय पढ्ने गरेको उनी बताउँछन् ।

उनले विश्व अर्थतन्त्रमा म्यानेजमेन्ट विषयको राम्रो सम्भावना भएकाले विद्यार्थी पढ्ने गरेको बताउँछन् । अमेरिका, अस्ट्रेलिया, युरोपियन देशमा पनि साइन्स पढेको पाइँदैन । बरु म्यानेजमेन्ट विषय पढेर राम्रो करियर बनाएका उदाहरण देखिएका छन् ।

उनी भन्छन,‘अहिले म्यानेजमेन्ट पढेका विद्यार्थी बजारमा कमी छ । राम्रो पढेका विद्यार्थीलाई कलेजबाट नै जागिरको अवसर आउने गरेको छ ।’

उच्च माध्यामिक शिक्षा परिषद्का अनुसार अहिले विद्यार्थीमा म्यानेजमेन्ट विषय पढ्नेको संख्यामा वृद्धि भएको छ । काठमाडौंमा राम्रो नाम चलेका धेरै कलेजमा साइन्सजस्तै म्यानेजमेन्ट विषय पढ्ने विद्यार्थी धेरै छन् । हरेक क्षेत्रमा सफलता लागि म्यानेजरको महत्वपूर्ण भूमिका हुने र त्यसका लागि म्यानेजमेन्ट विषय चाहिने भएकाले विद्यार्थीमा रोजाइको विषय बनेको हो ।

जता जान पनि पाइने भएकाले साइन्स

एसएलसीमा राम्रो अंक ल्याउने र आर्थिक अवस्था भएका विद्यार्थीको पहिलो रोजाइ साइन्स हुनेगर्छ । राम्रो अंक र पैसा भएपछि अभिभावकले पनि आफ्ना बालबालिकालाई सजिलै डाक्टर इन्जिनियर बनाउन सक्छन् । लाखौँ खर्च गरेर डाक्टर बनाउन उनीहरूलाई कुनै दुविधा हँदैन ।

दोस्रो कतिपय यस्ता विद्यार्थी छन् जो छात्रवृत्तिमा डाक्टर र इन्जिनियरमा नाम निकालेर पढ्ने खालका विद्यार्थी जो साइन्स पढ्छन् । उनीहरू साइन्समा राम्रो अंक ल्याउँछन् र छात्रवृत्तिमा डाक्टर र इन्जिनियर पढ्न चाहन्छन् ।

अनि कतिपय विद्यार्थी उच्च शिक्षाका लागि जुनसुकै विषय पनि पढ्न पाइने भएकाले विद्यार्थी एसएलसीपछिको पढाइ साइन्स नै गर्ने गरेका छन् । अझ उत्कृष्ट अंक ल्याएका विद्यार्थी त आँखा चिम्लेर साइन्स विषय बढ्ने बताउँछन् ।

साइन्स पढेर डाक्टर इन्जिनियरको सपना बोकेर धेरै विद्यार्थी साइन्स नै पढ्ने गरेका छन् । साइन्स पढेर डाक्टर इन्जिनियर पढ्न नसकेपछि सिए, विविए तथा अन्य टेक्नोलोजी विषय पढ्न पाइने भएकाले पनि विद्यार्थी साइन्स पढ्ने गर्छन् ।

एसिएन पब्लिक स्कुल अनामनगरकी आस्मा सिबाकोटीले पछि इन्जिनियरि बन्ने धोको भएकाले साइन्स पढ्न खोजेको बताइन् । एसएलसीमा ९० प्रतिशत अंक ल्याएकी आस्मा घरपरिवारको सल्लाहमा इन्जिनियर बन्न साइन्स पढ्न थालेकी हुन् ।

विभिन्न टेक्नोलोजितर्फ पनि जान सकिने भएकाले विद्यार्थीको साइन्स रोजाइ बनेको छ । साइन्सबाट विएसी नसिङ, ल्याब टेक्निसियन, कृषि, आइसिटीजस्ता टेक्नोलोजी विषय पनि विद्यार्थीको छनोटमा पर्न थालेका छन् ।

म्यानेमेन्टपछि शिक्षा र मानविकी विद्यार्थीको दोस्रो छनोटमा पर्ने गरेको पाइन्छ । प्रायः शिक्षाशास्त्र र मानविकी पढ्ने गरेका छन् । विद्यार्थी शिक्षण पेसामा लाग्न शिक्षाशास्त्र र प्रशासनिक क्षेत्रमा रोजगारीका लागि मानविकी संकाय पढ्ने गरेका छन् ।

अझ मानविकी संकायमा आमसञ्चार, अंग्रेजी, नेपाली, समाजशास्त्रमा विद्यार्थीको आकर्षण बढेको हो । तर, पहिले राम्रो भएको आमसञ्चारको आकर्षण अहिले घटेको पाइन्छ ।

यसैगरी, चाँडै रोजगारी पाइने भएकाले नसिङ, ओभरसियर, हेल्थ असिस्टेन्ट, फार्मेसी, ल्याब टेक्निसियनजस्ता विषय पढ्ने विद्यार्थी पनि त्यत्तिकै छन् ।

कसरी कलेज छान्ने ?

अहिले कलेजरूले तँछाडमछाड गरेर विद्यार्थी तान्ने प्रयासमा छन् । विद्यार्थी पनि राम्रा कलेज छानिरहेका छन् । विद्यार्थी दैनिकजसो कलेजबारे बुझिरहेका छन् । तर, उनीहरू अझै पनि दुविधामा छन्– कसरी कलेज छान्नेबारे । कतिपय विद्यार्थीले कलेज छान्न नजान्दा समस्यामा पर्ने गरेका छन् । शिक्षाविद्ले कलेज छान्दा निम्न कुरामा ध्यान दिन सल्लाह दिन्छन् ।

१. धेरै तडकभडक गरेर विज्ञापन गरेका कलेज नछान्ने ।

२. आफूभन्दा अगाडिका साथीभाइसँग कलेजबारे बुझेर छान्ने ।

३. पुराना जेहन्दार, विद्यार्थी र तिनका अभिभावकसँग सोधीखोजी गर्ने । कलेजका राम्रा, नराम्रा पक्षबारे पुरान विद्यार्थी र तिनका अभिभावकबाट जति जानकारी अरूसँग हुँदैन । त्यसैले तिनीहरूसँग सोधपुछ गर्ने ।

४. कलेजले विगतका नतिजामा के कस्तो सफलता पाएको छ र पास भएका विद्यार्थी कुनकुन लेभलमा पुगेका छन् त्यो हेर्ने ।

५. आफ्नो आर्थिक हैसियतअनुसार कलेज छान्ने ।

६. कलेजको विज्ञापनमा नाम राखिएका शिक्षकले पढाउँछन् कि पढाउँदैनन् त्यो बुझ्ने । कतिपय कलेजले अन्य राम्रा शिक्षकको नाम राखी विज्ञापन गरिरहेका हुन्छन् ।

७. आफ्नो लक्ष्य के हो ? आफूले चाहेको लक्ष्य त्यो कलेजले पूरा गर्न सक्छ सक्दैन त्यो हेर्ने ।

८. नोट घोकाउने कलेज नछान्ने । कतिपय कलेज नोट घोकाउने गर्छन् । नोट घोकाउनेभन्दा बुझेर पढाउने कलेज छान्ने ।

९. आफ्नो घरभन्दा फरक खालको कलेज नछान्ने । घर र कलेजको उस्तैउस्तै हुनुपर्‍यो । कलेज पढ्दा घरमै पढेको अनुभव हुनुपर्‍यो । घरभन्दा राम्रो कलेज छ भनेपछि घरलाई हेला गर्न थाल्छन् र विद्यार्थीमा पढ्ने बानी हराउँछ । त्यसैले, आफू घरमा छु जस्तो गरेर पढेको फिलिङ हुने कलेज छान्नुपर्छ ।

१०. राम्रा भनिएका कलेजको के राम्रो ? कसरी राम्रो भयो ? स्तरीयताको मापन कसरी गरिएको छ ? भन्नेबारे प्रत्यक्ष रूपमा बुझ्ने ।

११. कलेज र सञ्चालकका इतिहास तथा विगतको परिमाबारे बुझ्ने ।

प्रतिक्रिया