एकै परिवारका तीन जना एचआइभी संक्रमित

ओखलढुंगा,१३ असार । ओखलढुंगाको ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा एचआइभी परीक्षण तथा परामर्श केन्द्र (एचटिसी) स्थापनाकोे तीन महिना नपुग्दै एकै परिवारका तीनजना एचआइभीबाट संक्रमित भएको पुष्टि भएको छ । अस्पतालले संक्रमितको बारेमा दिएको आधारभूत जानकारीका अनुसार उनीहरू बाबु, आमा र छोरी हुन् ।

‘छोरी नै एघार वर्ष उमेर पुगेकी छिन् । तर, सुरुमा हामीले बुबामा संक्रमण देखेपछि आमा र छोरीमा परीक्षण गरेका थियौ ।’ अस्पतालका मेडिकल रेकर्ड अधिकृत फडिन्द्र दानीले भने, ‘यसले के अनुमान गर्न सकिन्छ भने सो परिवारमा कम्तीमा ११ वर्षदेखि एचआइभि पोजिटिभ छ । उनीहरूले अरूलाई सारे कि भन्ने डर अर्को विषय बनेको छ ।’
स्रोतका अनुसार बुबा लामोसमय रोजगारीका लागि भारत बसेका थिए । बुबाले औषधि खाइरहे पनि आमा र छोरीले अहिलेसम्म औषधि खाएका छैनन् ।
मिसन अस्पतालमा एक वैशाखदेखि मात्रै एचटिसी सेवा स्थापना भएको हो । यसअघि पनि विभिन्न रोगका बिरामीलाई उपचार गर्ने क्रममा १७ जना एचआइभीबाट संक्रमित पुष्टि भइसकेका छन् । त्यसमध्ये १० को मृत्यु भइसकेको छ । अन्य सात औषधि सेवन गरिरहेका छन् ।
एचटिसी स्थापना भए पनि सरकारी स्रोत साधन पर्याप्त नभएको अस्पतालले जनाएको छ । स्वास्थ्य मन्त्रालयले परामर्श तालिम, ल्याब तालिम र आवश्यक सामग्री उपलब्ध गराउने भने पनि हालसम्म उपलब्ध हुन सकेको छैन ।
जिल्लामा एन्टी रेट्रो भाइरल थेरापी (एआरटी) नहु“दा नियमित औषधि सेवन गर्दै आएका बिरामी औषधि लिनकै लागि राजधानी वा धरानसम्म पुग्नुपर्ने समस्या रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेतले भने एआरटी स्थापना गर्नका लागि जिल्ला एड्स संयोजन समितिले निर्णय गरेर पठाएको र यसैवर्ष स्थापना हुने बताए ।
जिल्लाभित्र जिल्ला अस्पताल रुम्जाटार र मिसन अस्पतालमा एचटिसी स्थापना भएका छन् । त्यसमध्ये रुम्जाटारमा एचआइभी परीक्षणका लागि खासै चाप छैन । मिसनमा भने मासिक एक सय ५० जना सम्मको एचआइभी परीक्षण हुन थालेको छ ।

प्रतिक्रिया