पुनर्योगका लागि भिड

काठमाडौं, १३ असार । एसएलसी परीक्षामा अनुत्तीर्ण हुनेहरू पुनर्योगका लागि सानोठिमीमा ओइरिँदा परीक्षा नियन्त्रण कार्यालयमा भिड बढेको छ ।

कार्यालयले १५ दिनको सूचना प्रकाशित गरी पुनर्योगका लागि आवेदन माग गरेपछि भिड बढेको हो । एलएलसीको नतिजामा प्राप्तांकमा चित्त नबुझेपछि पुनर्योग गराउनेको भिड बढेको हो । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले पुनर्याेगका लागि आवेदन दिनेको भिड बढेको बताए । सबैभन्दा बढी गणित, विज्ञान र अंग्रेजीमा फेल भएका विद्यार्थी पुनर्योगका लागि आउने गरेका छन् । परीक्षामा सामेलभन्दा आधा कम प्रतिशत पास भएपछि पुनर्याेगका लागि आवेदन दिनेको संख्या अत्यधिक छ ।
परीक्षामा सम्मिलित चार लाख पाँच हजार तीन सय ३८ सहभागीमध्ये एक लाख ९२ हजार दुई सय ६७ परीक्षार्थी मात्र उत्तीर्ण भएका थिए । उनका अनुसार दैनिक पाँच सयको हाराहारीमा पुनर्याेगका लागि आवेदन दिने गरेका छन् । ‘विद्यार्थीले आफूलाई चित्त नबुझेको विषयमा पुनर्याेग गराउने हो’ द्वारेले भने, ‘तर, कतिपय पास भई हालिन्छ कि भन्ने भ्रमले पुनर्याेग गराउने गरेका छन् ।’
एक विषयको पुनर्योग गराउन पाँच सय र पूरै आठ विषयका लागि चार हजार शुल्क तोकिएको छ । पनिकाले ७५ वटैै जिल्ला शिक्षा कार्यालयबाट यही १८ गतेसम्म पुनर्याेगका लागि आवेदन माग गरेको छ ।
परीक्षा नियन्त्रक द्वारेले पुनर्याेगको रिजल्ट एक्जाम्टेड परीक्षाभन्दा एक दुई दिनअघि निकालिने जानकारी गराए । ‘पुनर्याेगको प्रक्रिया लामो र झन्झटिलो छ’, उनले भने, ‘अहिले प्राविधिकको काम गरिरहेका छौँ । पुनर्योगको नतिजा निकाल्न अझै डेढ महिना लाग्छ ।’
गत वर्ष १७ हजारले पुनर्याेगका लागि आवेदन दिएका थिए । जसमध्ये दुई प्रतिशत मात्र नतिजामा सुधार आएको थियो । गत वर्ष तीन सय उत्तीर्ण र एक हजारको प्राप्तांक बढेको परीक्षा नियन्त्रक द्वारेले जानकारी गराए ।
मार्कसिट पाउन अझै १५ दिन
४ असारमा एसएलसीको नतिजा प्रकाशन भए पनि विद्यार्थीले मार्कसिट पाउन अझै १५ दिन कुनुपर्ने भएको छ ।
भर्खरै मार्कलेजरको प्रिन्ट सकिएको र पनिकाले अझै मार्कसिटको प्रिन्ट गर्न नसकेकाले अझै १५ दिन लाग्ने भएको हो । परीक्षा नियन्त्रक द्वारेले मार्कसिटको प्रिन्ट नगरेकाले अझै १५ दिनमा विद्यालय पुग्ने जानकारी गराए । ‘भर्खरै मार्कलेजरको प्रिन्ट गरेर सक्यौँ । अब सर्टिफिकेटको प्रिन्ट गर्दै छाँ’ उनले भने, ‘मार्कसिटको प्रिन्ट गर्न भ्याएका छैनौँ ।’ द्वारेले सर्टिफिकेटको प्रिन्टगरिसकेपछि मात्र मार्कसिटको प्रिन्ट गर्ने बताए । ‘सर्टिफिकेट प्रिन्ट गरिसकेपछि मात्र मार्कसिट प्रिन्ट गर्छौं’ उनले भने,‘त्यसका लागि अझै १५ दिन लाग्छ । त्यसपछि मात्र विद्यालयमा पुर्‍याउँछौँ ।’

प्रतिक्रिया