नोबेलका विद्यार्थीको समस्या जस्ताको तस्तै

पथरी (मोरङ), १२ असार । नोबेल मेडिकल कलेज विराटनगरमा इन्टर्नसिप गरिरहेका प्रशिक्षार्थीको आन्दोलन र कलेज प्रशासनले समस्या समाधानका लागि पहल नगरेपछि सेवाग्राही समस्यामा परेका छन् ।
प्रशिक्षार्थीले केही दिनदेखि बन्द गरिएको ओपिडी सेवा सञ्चालन नहुँदा समस्या भएको हो । प्रशिक्षार्थीले आफूहरूको माग पूरा नगरेको भन्दै केही दिनदेखि अनिश्चितकालका लागि ओपिडी सेवा बन्द गरेपछि सेवाग्राही समस्यामा परेका हुन् । पूर्वाञ्चलका विभिन्न ठाउँबाट उपचारका लागि आएका सेवाग्राही सेवा नलिई फर्किएका छन् । नोबेल अस्पतालमा दैनिक एक हजार सेवाग्राही आउने गरेको अस्पताल प्रशासनले जनाएको छ । श्रमशोषण गरेको र धरौटीबापतको रकम फिर्ताको माग गर्दै विगत नौ दिनदेखि आन्दोलनमा रहेका नोबेल मेडिकल कलेजका प्रशिक्षार्थी डाक्टरले आफ्नो माग पूरा नभएको भन्दै ओपिडी सेवा बन्द गरेको नोबेलमा इन्टर्नसिप गरिरहेका प्रशिक्षार्थी शंकर झाले बताए ।
शिक्षा मन्त्रालयले वार्तामा बोलाएको र शुक्रबार हुने भनिएको वार्तामा पनि विद्यार्थीको माग पूरा हुने वातावरण नदेखिएको भन्दै वार्तामा जान अस्वीकार गरेपछि कलेज र विद्यार्थीबीचको समस्या झन जटिल बनेको हो ।
कलेज प्रशासनले काठमाडौं विश्वविद्यालयलाई समेत आफूहरूले गुहार मागेको र विश्वविद्यालयले पारिश्रमिकका विषयमा गर्ने निर्णय आफूलाई मान्य हुने जनाएको छ ।
नोबेल अस्पतालमा समस्याको समाधान गर्नेभन्दा नाउँमा झुलाउने उद्देश्यले मन्त्रालयमा बोलाइएको उनीहरूको भनाइ छ । यता नोबेल मेडिकल कलेज प्रशासनले विद्यार्थीकै आग्रहमा आफूहरूले मन्त्रालयमा वार्ताका लागि पहल गरेकाले हाल आएर विद्यार्थीले वार्तामा जान्न भन्नु उपयुक्त नहुने बताएको छ ।
अस्पतालको बहिरंग सेवा बन्द गरेको आरोपमा बिहीबार मोरङ प्रहरीले २० विद्यार्थीलाई पक्राउ गरेको थियो । तर अस्पतालभित्रको विवादलाई अस्पतालका पदाधिकारीसँग छलफल गरेर सुल्झाउने मौखिक सहमति भएपछि पक्राउ गरिएका सबै विद्यार्थीलाई बिहीबार साँझ छोडिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।
प्रशिक्षार्थी शंकर झाले शुक्रबार पनि नोबेल अस्पतालका ओपिडी सेवा आफूहरूले सुचारु हुन नदिएको बताए । उनले समस्या समाधान नभएसम्म आफूहरूको आन्दोलन कायम रहने बताएका छन् ।

प्रतिक्रिया