सदस्यसचिवमा केशवकुमार विष्ट

Keshav-kumar-Bista-Umlकाठमाडौं, ११ असार । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यमा बिहीबार केशवकुमार विष्ट नियुक्त भएका छन् । उनी ४ वर्षे कार्यकालका लागि नियुक्त भएका हुन् ।

युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलको एकल निर्णयमा राखेपमा विष्ट सदस्यसचिवमा नियुक्त भएका हुन् । तत्कालीन सदस्यसचिव युवराज लामाले चारवर्षे कार्यकाल पूरा गरेपश्चात् एमालेको भागमा परेको सदस्यसचिव चयनमा एमालेभित्र नै आन्तरिक विवाद उत्पन्न भएपछि राखेपमा निमित्त सदस्यसचिवको रूपमा शकुन्तला नगरकोटीलाई नियुक्ति गरिएको थियो ।
खेलकुद परिषद्को इतिहासमा पहिलो महिला सदस्यसचिव रूपमा नगरकोटीलाई जिम्मेवारी सुम्पेको एमालेले विवाद चलिरहँदा पनि केशव विष्टलाई सदस्य सचिवमा निुयुक्त गरेको थियो ।
नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपमा सदस्य–सचिवमा नियुक्त गुर्नअघि बिहीबारै युवा तथा खेलकुद मन्त्रालयले विष्टलाई खेलकुद विकास ऐन, २०४८ को दफा ३ को उपदफा (२ घ) बमोजिम राखेपको रिक्त रहेको सदस्य पदमा मनोनयन गरेको थियो । विष्ट राखेपको सदस्यसचिवमा नियुक्त भएसँगै उनकै पार्टी निकटका असन्तुस्ट पक्षहरूको केही कार्यकर्तालगायत केही युवाको हुल राखेपको हातामा प्रवेश गरेका थिए ।
विष्ट राष्ट्रिय खेल संघको कोटाबाट सदस्यमा मनोनीत भएका थिए । विष्ट नेपाल सेपाक ताक्रो संघका कार्यवाहक अध्यक्ष हुन् । सदस्यसचिव हुनका लागि राखेपमा पहिला सदस्य हुन आवश्यक भएकाले उनलाई आजै मात्र सदस्य बनाइएको थियो । राष्ट्रिय खेल संघहरूमध्ये परिषद्को सदस्यमा तीन जना मनोनीत हुने प्रावधान छ । सोही प्रावधानअनुसार नेपाल पौडी संघका सदस्य राजेन्द्र श्रेष्ठ (राजु) र अखिल नेपाल फुटबल संघका सदस्य महम्मद समिमउल्लाहलाई पनि बिहीबारै परिषद्को सदस्यमा मनोनीत गरिएको छ । खेलकुद विकास ऐन, २०४८ को दफा ३ को उपदफा (३) बमोजिम मिति असार १० देखि लागू हुने गरी र सदस्य पदमा वहाल रहने अवधिभरका लागि विष्ट सदस्य सचिव नियुक्त भएका थिए । राखेपका अध्यक्ष युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले पत्र जारी गरी उल्लेख गरेका थिए । सुनसरीको इटहरी उपमहानगरपालिका निवासी ४९ वर्षीय विष्ट कुनै पनि खेलका खेलाडी भने होइनन् । उनी राजनीतिबाट खेलक्षेत्रमा प्रवेश गरेका हुन् । तर, विष्ट खेलसघं र पार्टीको भ्रातृ खेल संगठनमा भने सक्रिय छन् । उनी ०३६ सालको विद्यार्थी आन्दोलनदेखि राजनीतिमा प्रवेश गरेका थिए । उनले नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघको कार्यवाहक अध्यक्षको समेत जिम्मेवारीमा छन् । यसअघि विष्ट ०५४ सालमा सुनसरी जिल्ला खेलकुद विकास समितिको उपाध्यक्ष भएका थिए । त्यसपछि ०६४ सालमा विष्ट पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको अध्यक्ष बनेका थिए ।
विष्ट ०५९ देखि ६२ सालसम्म इटहरी नगर कमिटीका प्रमुख तथा ०६२ देखि ६८ सालसम्म सुनसरी जिल्ला कमिटीका सदस्य थिए । विष्ट ०६८ सालदेखि हालसम्म राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्य छन् । गत वर्ष मात्र दक्षिण कोरियाको एन्चोनमा सम्पन्न १७ औँ एसियाडमा उनि टिम व्यवस्थापको रूपमा एसियाली खेलकुदमा गएका थिए । उनले नै नेतृत्व गरेको खेलाडी एसियन खेलको क्रममा कोरियामा नै भागेका थिए । जसका कारण उनलाई विभिन्न आरोप लागे पनि उनी हालसम्म कारबाहीमा भने परेका छैनन् ।
स्वर्णकाल बनाउनेछु
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य सचिव केशव विष्टले आगामी ४ वर्षे कार्यकाललाई स्वर्णकाल बनाउने बताएका छन् ।
सदस्यसचिव नियुक्त भए पनि सौर्यसँग उनले भने,‘यो कार्यकालमा खेलकुद विकासको नयाँ योजना पनि आउनेछ र स्वर्णिम कार्यकाल बनाउने प्रयत्न गर्नेछु ।’
खेलकुदमन्त्रालयले तयार पारेको योजनाअनुसार अघि बढ्ने बताएका उनले केही दिनभित्र खेलकुद विकासको श्वेतपत्र जारी हुने पनि खुलाए । उनले थपे, ‘खेलकुद क्षेत्रका विभिन्न निकायबीचको विवादको न्यूनीकरण, समाधान गर्दै खेलकुद विकासका लागि फरक र ऊर्जाशील योजना अघि आउनेछ ।’
खेलक्षेत्रमा नयाँ आयाम थप्ने योजना अघि सार्ने बताएका विष्टले भने, ‘यो चुनौतीपूर्ण क्षेत्रमा चुनौतीपूर्ण जिम्मेवारी पाएको छु, सफल कार्यकाल बनाउने हर किसिमका योजनासहित खेलाडीको व्यक्तित्व विकासमा लाग्नेछु ।’

प्रतिक्रिया