पहिलोपटक मध्यपश्चिमाञ्चललाई

team-championकाठमाडौं, ८ असार । मध्यपश्चिमाञ्चलले सातौँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि सोमबार जितेको छ । मध्यपश्चिमाञ्चल पहिलोपटक टिम च्याम्पियन बनेको हो । मध्यपश्चिमाञ्चलले जम्मा २ सय ४२ अंक जोड्यो ।

मध्यपश्चिमाञ्चलका एथलेटिक्स टिम प्रशिक्षक चन्द्र गुरुङले एथलेटिक्सको टिम बलियो भएकाले उपाधि जित्न सफल भएको बताए । राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगितामा पश्चिमाञ्चल १ सय ९७ अंकमा दोस्रो भयो भने १ सय ६९ अंकसाथ मध्यमाञ्चलले तेस्रो स्थानमा चित्त बुझायो ।
शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, २० हजार र १५ हजार नगद पुरस्कार हात पारे । १ सय १५ अंकमा पूर्वाञ्चल चौथो तथा ९२ अंकमा सुदूरपश्चिमाञ्चल पाँचौँ स्थानमा रहे ।
प्रतियोगिताको तेस्रो तथा अन्तिम दिन पोखरा रंगशालामा भएको छात्राको ८ सय मिटर दौडमा पश्चिमाञ्चलकी गुडिया गुप्ता पहिलो भइन् । गुडियाले निर्धारित दुरी २ मिनेट ३९ दशमलव १ सेकेन्डमा पूरा गरिन् । मध्यमाञ्चलकी अमिसा श्रेष्ठ दोस्रो र मध्यपश्चिमाञ्चलकी मञ्जु बिसी तेस्रो भए ।
सोही स्पर्धाको छात्रमा पूर्वाञ्चलका रविलाल पुरीले बाजी मारे । रविले निर्धारित दुरी २ मिनेट ०८ दशमलव ५ सेकेन्डमा पूरा गर्दै शीर्ष स्थानमा रहे । सुदूरपश्चिमाञ्चलका धनबहादुर साहु दोस्रो तथा पश्चिमाञ्चलका प्रभुनाथ कुँवर तेस्रो बने ।
छात्राको २ सय मिटर दौडमा मध्यपश्चिमाञ्चलकी प्रमिला चौधरी पहिलो भइन् । प्रमिलाले २८ दशमलव ७२ सेकेन्ड समय लगाइन् । पश्चिमाञ्चलकी विन्दु थापा दोस्रो र मध्यपश्चिमाञ्चलकी तारा मल्ल तेस्रो भए । त्यसै स्पर्धाको छात्रमा मध्यपश्चिमाञ्चलका सुनील चौधरीले सबै प्रतिद्वन्द्वीलाई उछिन्दै शीर्ष स्थान कब्जा गरे । उनले २३ दशमलव ९१ सेकेन्ड समय खर्चे । मध्यपश्चिमाञ्चलकै सुवास रत्गैया दोस्रो र पश्चिमाञ्चलका शक्ति सापकोटा तेस्रो भए ।
छात्राको ट्रिपलजम्पमा पूर्वाञ्चलकी लक्ष्मी श्रेष्ठ पहिलो भइन् । लक्ष्मीले ९ दशमलव २१ मिटर जम्प गरिन् । मध्यपश्चिमाञ्चलकी राधा चौधरी दोस्रो तथा पश्चिमाञ्चलकी सुन्दरी थारू तेस्रो भए । उक्त स्पर्धाको छात्रमा १२ दशमलव ५० मिटर जम्म गरेका मध्यमाञ्चलका भूवन महतो पहिलो भए । मध्यपश्चिमाञ्चलका सुवास रत्गैया दोस्रो तथा पूर्वाञ्चलका श्याम चौधरी तेस्रो भए ।
छात्रमा सुनील चौधरी र छात्रामा प्रमिला चौधरी उत्कृष्ट खेलाडी चुनिए । मध्यपश्चिमाञ्चलका दुवैले समान ४–४ स्वर्ण जिते । सुनीलले १ सय र २ सय मिटर दौड तथा ४ गुणा एक सय र ४ गुणा ४ सय मिटर रिलेमा स्वर्ण हात पारे । प्रमिलाले १ सय र २ सय मिटर दौड, लङजम्प र ४ गुणा ४ सय मिटर दौडमा स्वर्ण चुमिन् । प्रमिलाले थप १ कांस्य पनि हात पारिन् ।
पश्चिमाञ्चल र मध्यमाञ्चललाई उपाधि
भलिबलको छात्रमा पश्चिमाञ्चल र छात्रामा मध्यमाञ्चल पहिलो भए । दुवै समूहको फाइनलमा पश्चिमाञ्चल र मध्यमाञ्चल नै भिडेका थिए ।
छात्रको फाइनलमा पश्चिमाञ्चलले मध्यमाञ्चललाई २५–१८, २५–१८, २५–२७, २६–२८ र १५–९ को सेटमा पराजित ग¥यो । छात्राको फाइनलमा मध्यमाञ्चलले पश्चिमाञ्चललाई २५–१५, १९–२५, २५–१९ र २५–२३ को सेटमा हरायो ।
छात्रमा पश्चिमाञ्चलका कमल सुनार र छात्रामा मध्यमाञ्चलकी प्रतिभा माली उत्कृष्ट खेलाडी घोषित भए ।
प्रतियोगिताअन्तर्गत अघिल्लो दिन सम्पन्न तेक्वान्दो, कराते र उसुमा मध्यमाञ्चलले उपाधि जितेको थियो । टिम च्याम्पियनको उपाधिमा यी तीन खेलको अंक भने जोडिएको छैन ।
विजेतालाई प्रमुख जिल्ला अधिकारी, कास्कीका कृष्णबहादुर राउत, सशस्त्र प्रहरी बलका उपरीक्षक गणेश संग्रौला, राष्ट्रपति रनिङ सिल्ड सञ्चालन तथा व्यवस्थापन समितिका सदस्यसचिव एवं खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख प्रकाशचन्द्र घिमिरे, नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन, जिल्ला शिक्षा अधिकारी अम्बिकाबहादुर आचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
तीनदिने प्रतियोगिताको एथलेटिक्समा २६, भलिबलमा २, करातेमा ८ तथा उसु र तेक्वान्दोमा समान ६–६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । पाँच विकास क्षेत्रबाट ७४ का दरले जम्मा ३ सय ७० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । उक्त प्रतियोगिता पहिलोपटक मोफसलमा आयोजना गरिएको हो । अघिल्ला सबै संस्करण काठमाडौंमा भएको थियो ।

प्रतिक्रिया