रातो स्टिकरमै पठनपाठन

houseओखलढुंगा, ४ असार । भूकम्पबाट क्षतिग्रस्त अधिकांश विद्यालयले असुरक्षित कक्षा कोठामै विद्यार्थी राखेर पठनपाठन गराइरहेको पाइएको छ । सरकारले क्षतिग्रस्त विद्यालयलाई अस्थायी सिकाइ केन्द्र निर्माणका लागि बजेट उपलब्ध गराएको भए पनि केन्द्र निर्माण नगरी विद्यालयहरूले असुरक्षित कक्षा कोठामै विद्यार्थी राखेर पठनपाठन गराइरहेको पाइएको हो ।

बलखु गाविसस्थित बलखु उमावि बलखु, महाकाली प्रावि आम्बोटे र योगिस्थान निमावि साँधीलगायत जिल्लाका अधिकांश विद्यालयले अहिलेसम्म टिएलसी निर्माण गरेका छैनन् । टिएलसी निर्माण नभएका विद्यालयमा प्राविधिकले असुरक्षित भनी रातो स्टिकर टाँसेका भवन तथा कक्षा कोठामा पठनपाठन भइरहेको छ ।
शिक्षकहरूले अब ठूलो भूकम्प आउँदैन त्यही भवनमा बसेर पढे पनि हुन्छ भनेर कर गरेपछि भत्किन लागेको भवनभित्रै बसेर पढ्नु परेको विद्यार्थीको गुनासो छ ।
समयमै टिएलसी निर्माण गर्न नसकिएको र तत्काल विद्यालय सञ्चालन गर्न जिल्ला शिक्षा कार्यालयले निर्देशन दिएकाले असुरक्षित भवनमै बालबालिका राखेर पठनपाठन गराइरहेको योगिस्थान निमावि बलखुका प्रधानाध्यापक रेवती सापकोटाले बताए ।
जिल्लाका अधिकांश विद्यालयलले पनि विभिन्न बहाना बनाउँदै जीर्ण भवनमै विद्यार्थी राखेर पठनपाठन गराइरहेका छन् । जिल्ला शिक्षा कार्यालयले अनुगमन नगरेकाले समस्या देखिएको सरोकारवालाहरूले बताएका छन् ।
स्रोतका अनुसार सरकारले उपलब्ध गराएको रकम विद्यालयहरूले खाताबाट निकालेका छैनन् र व्यवस्थापन पनि नमिलाई जीर्ण भवनबाटै पठनपाठन सञ्चालन गरिरहेका छन् ।

प्रतिक्रिया