कतारद्वारा क्यान्सरपीडितलाई सहयोग

Doha-in-Qatar-007कतार । खोटाङ सेवा समाज दोहा कतारले खोटाङ जिल्लाका एक क्यान्सरपीडितलाई उपचार खर्च उपलब्ध गराएको छ । समाजले नुनथला–९ का क्यान्सरपीडित यमबहादुर तामाङको उपचारका लागि ६५ हजार सहयोग रकम उपलब्ध गराएको हो ।

कमजोर आर्थिक अवस्था भएका तामाङको उपचारका लागि समाजका पूर्व अध्यक्ष मणिप्रसाद आचार्यको नाममा पठाइएको रकम बुधबार उनलाई हस्तान्तरण गरिएको समाजका महासचिव रुद्रप्रसाद आचार्यले जानकारी दिए ।

उनले भने, ‘क्यान्सरपीडित तामाङले सहयोगका लागि संस्थामा हस्पिटलको रिपोर्टसहित अपिल गरेका थिए, हाम्रो सानो सहयोगले उनको जीवन बाँच्छ भने सहयोग गरौँ भनेर थोरै भए पनि आर्थिक सहयोग रकम पठाएका हौँ ।’

संस्थाले पीडित तामाङको उपचारका लागि प्रथम उपाध्यक्ष तीलबहादुर खत्रीको संयोजकत्वमा सहयोग रकम सङ्कलन समिति गठन गरेको थियो ।

सहयोग सङ्कलन गर्ने क्रममा संस्थाले कतारका बुद्धिजीवी तथा विभिन्न कामका सिलसिलामा कतार पुगेका खोटाङ्गेहरुबाट सहयोग रकम प्राप्त गरेको जनाइएको छ ।

दाहिने खुट्टामा क्यान्सर भएका उनको नौ महिनादेखि भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।

क्यान्सरपीडित तामाङको उपचारका लागि रु छ लाख खर्च लाग्ने अस्पतालले बताएको उनका आफन्तजनले बताएका छन् ।

प्रतिक्रिया