पढाइ छाढेर विद्यार्थी यार्सा टिप्न पाटनतिर

Yarsa-Tipna-Jadai-Nepalडोल्पा, ३२ जेठ । पछिल्लो समयमा यार्सागुम्बा स्कुले विद्यार्थी, असहाय, अनाथ, बालबालिकाका लागि पनि सहारा बन्दै गएको छ । विद्यार्थीको पढाइखर्चको आधार नै यार्सागुम्बा भएकाले यतिखेर डोल्पा, जाजरकोट, रुकुमलगायत जिल्लाका विद्यार्थी यार्साको खोजीमा हिमाली यार्सापाटनतिर लागेका छन् ।

यार्सा गुम्बा ठूला मान्छेको तुलनामा केटाकेटीले धेरै भेट्टाउने भएकाले पनि अधिकांश स्कुले बालबालिका पाटन जाने गर्दछन् । डोल्पाली र छिमेकी जिल्लाबासीको मुख्य आर्थिक उपार्जनको मुख्य स्रोत नै यार्सागुम्बा भएकाले पनि यतिखेर विद्यालय नै शून्य पारेर विद्यार्थी, शिक्षक पाटनतिर लाग्ने गर्दछन् । डोल्पा, जाजरकोट, रुकुमलगायत जिल्लामा यार्सासिजनको सुरुआत भएलगत्तै सबै विद्यालय बन्द हुने गर्दछन् । यतिखेर जिल्ला शिक्षा कार्यालयले पनि अनौपचारिकरूपमा एक महिनाका लागि विद्यालय बन्दको अनुमति दिने गर्दछ । आफ्नो विद्यालय एक महिनाका लागि बन्द भएकाले यार्सागुम्बाको खोजीमा डोल्पाको रुपपाटन यार्सापाटनमा आएको रुकुम जिल्लास्थित आठबिसकोट दाजेका बबी विकले बताए । बाह्र वर्षीय उनी अहिले कक्षा सातमा पढ्दैछन् भने उनका बुबाआमा दुवै नभएकाले यार्साको खोजीमा काकासँग आएका छन् ।
यार्सागुम्बा टिपेर कमाएको पैसा केही कापी कलम किन्न र केही सामानहरू किन्नमा खर्च गर्ने उनको भनाइ छ । आर्थिक अवस्था निकै कमजोर भएका उनी पहिलोपटक यार्सा टिप्न आएको र यसपालि एउटा पनि यार्सा नभेटिएकाले त्यसै घरफर्कन लागेको बताउँछन् । त्यस्तै, डोल्पा त्रिपुराकोटका बिर्खबहादुर कठायत पनि यसपालि यार्साको खोजीमा यार्सापाटनतिर लागेका छन् । उनको पनि आर्थिक अवस्था निकै कमजोर भएकाले हरेक वर्ष यार्सा टिपेरै पढाइखर्च उठाउने गरेको उनको भनाइ छ ।
गत वर्ष यार्सा टिपेरै २५ हजार रुपैयाँ कमाई गरेका उनी यसपालि यार्सा टिपेर एसएलसी गरिसकेपछि जिल्ला बाहिर पढ्न जाने सोच बनाएको बताएका छन् । अर्की त्रिपुराकोट गाविस–२ की विष्णुरुपा विष्ट पनि यसपाला यार्साको खोजीमा पाटन लागेकी थिइन् । पाटन गएको पाँच दिनमै बिरामी परेपछि रित्तोहात घर फर्केको उनले बताइन् । अहिले ११ कक्षामा पढ्दै गरेकी उनले यसपालि स्वास्थ्यले साथ नदिएकाले यार्सा गुम्बाबाट एक रुपैयाँ पनि कमाई नभएको बताइन् ।
अर्का स्नातक तेस्रो वर्ष पढ्दै गरेका रत्नबहादुर विष्ट पनि यार्सागुम्बाको खोजीमा पाटनतिर लागेका छन् । गत वर्ष २० दिनमै तीन लाख रुपैयाँ कमाएका उनी यसपटक पनि १० दिनमै पचास हजार रुपैयाँको हाराहारीमा एक सय पचास बोट यार्सागुम्बा संकलन गरिसकेको बताउँछन् ।

प्रतिक्रिया