सोल, २८ जेठ । दक्षिण कोरियामा केही हप्तामात्र यतादेखि देखापरिरहेको मिडल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम (मर्स) को सङ्क्रमणमा कमी आउन सकेको छैन । अधिकारीहरुले यसको सङ्क्रमण बढ्दो मात्रामा रहेको बताएका छन् ।
यसका १४ जना नयाँ सङ्क्रमित बिहीबारमात्र थपिएका छन् । तर बिहीबार यसका कारण कसैको पनि मृत्यु भने भएको छैन ।
यस सङ्क्रमणका कारण दक्षिण कोरियाली राष्ट्रपतिले अमेरिकको भ्रमण स्थगित गर्नुभएको समाचार बुधबार मात्र आएको थियो ।
यसको सङ््क्रमित भई दक्षिण कोरियामा आजसम्ममा कम्तीमा पनि नौ जनाको ज्यान गइसकेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । बिहीबार थप एकजना गर्भवती महिलामा यसको सङ्क्रमण भेटिएको अधिकारीहरुले जनाएका छन् ।
केही हप्तामात्र पहिलादेखि सुरु भएको यस सङ्क्रमणबाट कोरियामा मृत्यु हुने व्यक्तिको सङ्ख्या नौ पुगेको र यसको सङ्क्रमण प्रतिदिन जारी नै रहँदा हालसम्म यसका सङ्क्रमित बिरामीको सङ्ख्या १२२ जना पुगेको छ ।
दक्षिण कोरियामा मिडल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम नामको एक भाइरसको सङ्क्रमणबाट कैयौँको ज्यान गएको छ । दुई हप्ता यतामात्र देखिएको सो सङ्क्रमणका कारण त्यहाँको जनजीवनलाई निकै नै प्रभावित तुल्याइसकेको बताइएको छ ।
यस सङ्क्रमणको त्रास फैलिएपछि दक्षिण कोरियाले कैयौँ विद्यालय बन्द गरेको छ भने सयौँ स्वास्थ्यकर्मीलाई देश भित्रिने नाकाहरूमा स्वास्थ्य जाँचका लागि राखिएको छ ।
त्यसैगरी बिहीबार प्राप्त अर्काे एक समाचारमा त्यहाँका आर्थिक तथा वित्तीय क्रियाकलापहरुमा पनि कमी आएको छ । पछिल्लो समयमा आएर यस सङ्क्रमणबाट कोरियाको आर्थिक क्षेत्रमा पनि असर पर्न थालेका समाचारहरू पनि आइरहेका छन् ।
जसका कारण दक्षिण कोरियाको केन्द्रीय बैंकले ब्याजदरमा पनि कटौती गरेको जनाइएको छ । त्रासका कारण आर्थिक क्रियाकलापमा पनि कमी आएकाले ब्याजदरमा कटौती गर्नुपरेको बताइएको छ ।
हङ्कङमा सङ्क्रमण छैन
यसैबीच प्राप्त अर्काे एक समाचारअनुसार हङ्कङमा भने यस सङ्क्रमणको प्रभाव नरहेको पाइएको छ । हङ्कङका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार त्यहाँ यसको सङ्क्रमण भेटिएको छैन ।
दक्षिण कोरियाको निकट देश हङ्कङमा पनि यसको सङ्क्रमण फैलिएको समाचार आएपछि त्यसको परीक्षण भएको थियो ।
त्यहाँका ३३ जना आशङ्का गरिएका व्यक्तिमा यसको परीक्षण भएको र उनीहरुमा यसको कुनै सङ्क्रमण नभेटिएको पाइएको समाचारमा जनाइएको छ ।
स्वास्थ्य अधिकारीहरुले देशमा यसको सङ्क्रमण भित्रिन नदिन यस्तो सतर्कता अपनाएको र हालसम्ममा यसको कुनै पनि सङ्क्रमण नदेखिएको अधिकारीहरुले जनाएका छन् ।
प्रतिक्रिया