न्युरोडका व्यवसायलाई अन्यत्र सार्न लविङ

Newroadकाठमाडौं, २५ जेठ । व्यापारिक हव मानिने न्यूरोड, इन्द्रचोक र महाबौद्ध क्षेत्रका व्यवसाय अन्यत्र सार्न व्यवसायीले लविङ थालेका छन् । १२ र २९ वैशाखमा गएको शक्तिशाली भूकम्पले यस क्षेत्रमा असुरक्षित भएको र होलसेल बजार साँघुरो भएकाले ठाउँ स्थानान्तरण गर्नुपर्ने आवश्यकता रहेको भन्दै व्यवसायीहरूले नेपाल सरकार संग लविङ थालेको हुन् ।

व्यवसायीहरूले बजार स्थानान्तरण गर्दा लत्ता कपडा, इलेक्ट्रोनिक सामग्री, जुत्ता चप्पललगायतका सामग्रीलाई छुट्टाछुट्टै ठाउँ सार्न लविङ गरेका छन् । जसका लागि राष्ट्रिय व्यापार संघका अध्यक्ष नयनबहादुर पण्डित क्षेत्रीको संयोजकत्वमा एक दर्जन बढी संघसंस्थाले सामूहिक रूपमा प्रक्रिया अघि बढाएको छ ।
भूकम्पबाट जोखिममा रहेको न्यूरोड क्षेत्रको अध्ययनका लागि उच्चस्तरीय समितिको माग गर्दै व्यवसायीले प्रधानमन्त्री सुशील कोइरालालाई समेत ज्ञापनपत्र बुझाएका छन् । व्यवसायीले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरण गर्न, सुरक्षित क्षेत्र बनाउन, पार्किङ, भन्डारणलगायतका समस्या सहजीकरण गर्न, व्यापार व्यवसायलाई आधुनिकीकरण गर्नका लागि स्थानान्तरण जरुरी रहेको भन्दै यस्तो लविङ थालेको हो ।
‘प्रधानमन्त्री कोइरालाले उचित स्थानको खोजी गरी आफूलाई जानकारी दिएमा समस्या छिट्टै समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ,’ राष्ट्रिय व्यापार सघंका अध्यक्ष नयनबहादुर पण्डित क्षेत्रीले भने । क्षेत्रीले सरकारले आफूहरूलाई तत्काल सुरक्षित स्थान उपलब्ध गराए आफूहरू लगानी गरेर भवन निर्माण गरी त्यहाँ व्यापार गर्न तयार रहेको बताए ।
पुरानो संरचना, पुरानो वस्ती र पुरानै घरहरू भएका कारण यो क्षेत्र भूकम्पबाट असुरक्षित रहेको व्यवसायीको ठहर छ । थोरै जमिनमा अग्ला घर रहेका कारण नयाँ निर्माण गरिएका घर पनि सुरक्षित भएको भन्दै स्थानान्तरणको माग गरेका हुन् । होलसेल व्यवसाय सञ्चालन गर्न रिङरोडबाहिर सम्भव रहेको क्षेत्रीले बताए । काठमाडौंको साँखु, कीर्तिपुर, ललितपुरको गोदावरीलगायतका स्थानमा होलसेल बजार राख्न सके उचित हुने उनको धारणा छ ।
व्यापारीक संघ सस्थाका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधि सम्मिलित उच्चस्तरीय समिति गठन गर्नु पर्ने समेत माग गरेको छ । न्यूरोड क्षेत्रका रिटेल व्यवसायलाईस्थान्तरण गर्नु नपर्ने तर होलसेल व्यवसाय स्थान्तरण गर्नेपर्ने तत्काल आवश्यकता रहेको नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए । ‘बजार स्थानान्तरण गर्दा रिङरोडबाट ४/५ किलोमिटर टाढा सानुपर्छ,’ मल्लने भने, ‘बजार स्थानान्तरण गर्दा प्रडकअनुसार छुट्टाछुट्टै बजार बनाउनुपर्छ ।’ अहिलेको स्थानमा भूकम्पीय जोखिमका साथै साँघुरो भएकाले स्थानान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताए । व्यवसायीहरूको सकारात्मक माग भएकाले यसलाई सरकारले सम्बोधन गर्नुपर्ने उनको माग छ ।
यस कार्यमा राष्ट्रिय व्यापार संघ, नेपाल व्याग उद्योग संघ, नेपाल गणतान्त्रिक व्यापार संघ, नेपाल एकता व्यापार संघ, नेपाल जुत्ताचप्पल उद्योग व्यवसायी संघ, चाहना व्यापार संघ, रञ्जना व्यापार संघ, फुट बेयर एसोसिएसन अफ नेपाल, नेपाल व्यापार संघलगायतका संघले ऐकबद्धता जनाएका छन् । व्यवसायीहरूले कुन क्षेत्रमा कस्तो व्यवसाय राख्दा उचित हुन्छ भन्नेबारे पहिचान गर्ने काम भइरहेको छ । न्यूरोड, महाबौद्ध, इन्द्रचोकलगायतका क्षेत्रमा झन्डै १० हजार व्यवसायीले व्यवसाय गर्दै आएका छन् ।

प्रतिक्रिया