काठमाडौं, २४ जेठ । ११ विद्यार्थी संगठनले पढाइ नभएको एक महिनाको शुल्क नलिन निजी विद्यालयलाई दबाब दिएका छन् । शनिबार बसेको संयुक्त बैठकले मासिक शुल्क नलिन तीन दिने अल्टिमेटम दिइएको छ ।
उनीहरूले निजी विद्यालयलाई भूकम्पपछि एक महिना पढाइ नभएकाले शुल्क नलिन दबाब दिएका हुन् । तर, सञ्चालकहरूले पढाइ नभएको महिनाको शुल्क छुट दिन नसकिने बताउँदै आएका छन् । नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछानेले भूकम्पका बेला बन्द भएको समयमा एक महिनाको शुल्क नलिन तीन दिने अल्टिमेटम दिइएको जानकारी दिए । ‘हामीले पढाइ नभएको एक महिनाको शुल्क नलिन तीन दिनको अल्टिमेटम दिएका छौँ,’ उनले भने, ‘यदि विद्यालयले तीन दिनभित्र पनि लिन्न भनेर घोषणा नगरे आन्दोलन गर्छौं ।’
नयाँ शैक्षिक सुरु भएको हप्ता दिन नबित्दै १२ वैशाखमा भूकम्प गएपछि ३७ दिन विद्यालय बन्द भएका थिए । १७ जेठबाट विद्यालय सञ्चालन भएका हुन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का अध्यक्ष लक्ष्यबहादुर केसीले पढाइ नभए पनि शुल्क लिइने बताए । ‘हामीले पनि शिक्षकलाई तलब खुवाउनुपर्छ, विद्यालयको अन्य खर्च पनि हुन्छ,’ उनले भने, ‘त्यसैले एक महिनाको पनि शुल्क लिन्छौँ । नलिए विद्यालय सञ्चालन गर्न गाह्रो हुन्छ ।’
यस्तै, राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (एनप्याब्सन)का अध्यक्ष कर्णबहादुर शाहीले शुल्क मिनाहा गर्न नसकिने जानकारी दिए । उनले आन्दोलन र विरोध गर्नेले विद्यालय खर्चको व्यवस्थापन गरे एक महिनाको शुल्क नलिइने बताए । ‘शुल्क नलिई हामी विद्यालय सञ्चालन गर्न सक्ने पक्षमा छैनौँ,’ उनले भने, ‘यदि विद्यालय सञ्चालन गर्ने खर्च आन्दोलन गर्नेले व्यवस्थापन गर्छन् भने शुल्क लिँदैनौँ ।’ विद्यार्थी संगठनले भूकम्पमा अभिभावक गुमाएका बालबालिकालाई उच्चशिक्षासम्म निःशुल्क पठनपाठन माग गरेका छन् । उनीहरूले बालबालिकाले अभिभावक गुमाएकाले पढाइमा समस्या पर्ने भएकाले उच्चशिक्षासम्म निःशुल्क शिक्षा माग गरेका हुन् ।
यसैगरी, विद्यार्थीले निजी विद्यालयले भूकम्पका कारण क्षति भएका आफ्ना भवन आफूअनुकूल इन्जिनियर बोलाएर जाँच गरेकामा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरूले आफूखुसी इन्जिनियर बोलाएर भत्किएका र पढाउन नमिल्ने भवनमा पनि हरियो स्टिकर टाँसेर सुरक्षित देखाएर पठनपाठन गरेको आरोप लगाएका छन् ।
प्रतिक्रिया