राष्ट्रसंघीय महासचिवको नियुक्तिबारे सार्वजनिक विधि हुनुपर्ने

Un-flag-squareजतिबेला अर्काे वर्ष संयुक्त राष्ट्रसंघका नयाँ महासचिवको चयन गरिनेछ, त्यसबेला विश्वले नै महत्वपूर्ण छनोटको सामना गर्नेछ । विश्वका सबैजसो क्षेत्रमा विभिन्न किसिमका समस्या वृद्धि भइरहेसँगै एकजना बलियो र निर्णायक महासचिवको चयन एक स्वयंसिद्ध चुनौती नै हुनेछ र त्यसमा पनि यस्तो महत्वपूर्ण एक अन्तर्राष्ट्रिय पदपूर्तिको छनोट प्रक्रिया उम्मेदवारको योग्यताभन्दा उसमाथि राजनीतिक फाइदा हुनेगरी खोजी गर्ने गरिन्छ ।
यस्तो योग्य उम्मेदवार छनोटका लागि विधिहरू उपलब्ध नै छन् र संयुक्त राष्ट्रसंघ र यो जस्ता अन्य अन्तर्राष्ट्रिय संघसंस्थाका लागि ती विधिलाई अपनाउन यो नै उचित समय हो । यी विधिमध्येको एक अभ्यास विश्व आर्थिक मञ्च तथा अक्सफोर्ड विश्वविद्यालयको ब्लाभान्तिक स्कुल अफ गभर्मेन्टद्वारा तयार पारिएको एक प्रतिवेदनमा प्रस्तुत गरिएको छ । ती विधिमा आधारित अभ्यासलाई एक अन्तर्राष्ट्रिय संगठनले प्रयोगमा पनि ल्याएको हो । यसले यो कुराको सुनिश्चितता गरेको छ, उम्मेदवारहरूको छनोट उनीहरूको योग्यताका आधारमा गरिन्छ र उनीहरूले जुन संगठनमा काम गर्छन् उनीहरूको छनोट पनि सम्भव भएसम्म उनीहरूको व्यवस्थापकीय अनुभवका आधारमा गर्ने गरिन्छ ।
सुरुमा त यो छनोट प्रक्रियालाई व्यावसायिक बनाउनु महत्वपूर्ण हुनेछ । सामयिक रूपमा अनुभवी र सिपालु उम्मेदवार खोज्नका लागि यो एक महत्वपूर्ण विधि हुनेछ र यसलाई अरू सरकारहरूले पनि अपनाउनेछन् । यसरी छनोटका क्रममा पनि सो प्रतिवेदनकै एकजना सम्पादक रहेका पास्कल लामीलाई विश्व व्यापार संगठनको प्रमुखका रूपमा छनोट गरिएको थियो जबकि उक्त संगठनको प्रमुखका रूपमा उनलाई छनोट गरिए पनि उनको योग्यताका आधारमा उनले गर्नुपर्ने मुख्य कामका बारेमा केही व्याख्या त्यसमा थिएन ।
कुनै पनि उम्मेदवार एकपटक छानियो भने उसबाट त्यस संगठनले पाउने फाइदा वा उसको कार्यसम्पादनका बारेमा पनि दायराहरू बनाउनुपर्छ । उसको कार्यसम्पादनसम्बन्धी दायरालाई हरेक वर्ष मूल्यांकन पनि गर्नुपर्ने हुन्छ । जस्तो कि, विश्व स्वास्थ्य संगठनकै पनि इबोला भाइरसको संक्रमणका बेलामा निकै तिखो आलोचना भएको थियो । अमेरिकाका गैरसरकारी निकायले आफ्ना कार्यकारी अधिकृतको वार्षिक रूपमा गरिने कार्य मू्ल्यांकन पद्धतिबाट पनि सिक्न सकिन्छ । अमेरिकाका कम्तीमा पनि ८० प्रतिशत यस्ता गैरसरकारी संस्था वा कम्पनीले यस्तो कार्य मूल्यांकन गर्ने गर्दछन् ।
नैतिक मापदण्ड पनि विस्तार गरिनुपर्दछ । गएको अप्रिल महिनामा स्पेनको प्रहरीले अन्तर्राष्ट्रिय मुद्रा कोषका पूर्वप्रबन्ध निर्देशक रोड्रिगो रातोलाई भ्रष्टाचारको मुद्दामा प्रश्न गरेको थियो । त्यसैगरी उनका उत्तराधिकारीका रूपमा रहेका डोमिनिक स्ट्रास काहानले पनि यस्तै क्षुद्र हिसाबको आरोपको सामना गर्नुपरेको थियो । यस्ता खालका आचारसंहिता एवं व्यावसायिक इमानदारीसम्बन्धी मुद्दामा पछिल्लो समयमा आइएमएफ मात्र नभएर विश्व बैँक र राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकायका प्रमुखहरूले पनि सामना गरिरहनुपरेका समाचारहरू आइरहेका छन् ।
नेता त्यो हो जसले आफ्ना लागि मात्र नभई संगठनलाई उच्च प्राथमिकतामा राख्छ, उसले राम्रा कर्मचारीलाई आकर्षित गर्छ र जो व्यावसायिकतामा कमी भएका कर्मचारी छन् उनीहरूमा व्यावसायिक निष्ठा र सक्षमताका लागि वातावरण निर्माण गर्छ । कैयौँ यस्ता व्यावसायिक संस्थाहरूले आफ्ना कर्मचारीमा व्यवस्थित सर्वेक्षण पनि गर्ने गरेका छन् र त्यसमा पनि केहीले अझै पनि यसलाई सुधार गर्नु आवश्यक छ । यस्ता आन्तरिक मूल्यांकनको परिणाम र तरिका सार्वजनिक गरिनुपर्छ । साथै यसका अतिरिक्त अघिल्ला यी मूल्यांकन र पछिल्लोको तुलना गरी त्यसको परिणामको पनि वैज्ञानिक रूपमा मापन गरिनुपर्छ ।
संगठन पनि आफूले दिने सेवा र त्यसको परिणामप्रति बढी केन्द्रित हुनुपर्छ । कम्तीमा पनि दस वर्षदेखि वा दशकौँदेखि देशहरूले विश्व बैँक वा क्षेत्रीय विकास बैँकसँग ऋणका लागि याचना गरिरहेका हुन्छन् । उनीहरूले सो ऋणका लागि ताकेता गर्ने गर्छन् तर लामो समयसम्म उनीहरू पाउँदैनन्, कुर्नुपर्ने हुन्छ । कतिपय देशले दुई वर्षभन्दा लामो समयसम्म कुर्न पनि सक्दैनन् । समयमै उनीहरूको ऋण स्वीकृत हुनका लागि लाग्ने यत्रो समयलाई कम्तीमा पनि आधासम्म त सजिलै गर्न सकिन्छ र यो गर्ने व्यक्ति एक हिसाबले राम्रो नेतृत्वकर्ता पनि हो । ऋण स्वीकृत गर्न यो अग्रसरता आवश्यक जस्तोगरी संगठनहरू नै लाग्ने गरेको देखिन्छ ।
सरोकारवालाहरू र सामाजिक संघसंस्थाको समूहसँग व्यवस्थित व्यवस्थापन, संगठनमा राम्रो सांगठनिक संरचनाको स्थापना र विकास गर्नु अति आवश्यक छ जुन नयाँ अग्रसरता र उच्चस्तरीय एवं गुणस्तरीय कार्यका लागि पनि आवश्यक छ । तर, हालका कैयौँ संगठनहरूले अपनाउने गरेका कामचलाउ प्रवृत्तिका कारण पनि उनीहरूको परिणाम एकदमै कमजोर आउने गरेको देखिन्छ । यस्तो कामचलाउ प्रवृत्ति हिजोआज धेरैजसो संगठनमा देखिन्छ ।
अन्ततः यो एकदमै महत्वपूर्ण कुरा के हो भने संगठनहरूले आफ्ना गल्तीबाटै पाठ सिक्नुपर्ने हुन्छ । प्रायः विश्वका कैयौँ विश्व संस्थाहरूले आफैँ स्वतन्त्र मूल्यांकनको विधि स्थापना गरेका छन् र त्यसैअनुरूप आफ्नो संगठनको कार्य मूल्यांकन गर्ने गरेका छन् । तीमध्ये धेरै कमले मात्र विगतका गल्तीबाट पाठ सिक्ने काम गरेका छन् । मूल्यांकनको पद्धति आवश्यक र महत्वपूर्ण पनि हो र यस्तो प्रक्रियाले खासगरी त्यस संगठनको बलियो सुशासनलाई पछ्याउनुपर्दछ । सांगठनिक सुशासनबिनाको मूल्यांकनको पद्धतिले पनि कुनै परिणाम दिन सक्दैन ।
परिवर्तनका लागि दबाब चुलिएको छ । सन् २०१४ को नोभेम्बरमा संयुक्त राष्ट्रसंघीय एसोसिएसनका आभाजसहितका अरू गैरसरकारी संघसंस्थाले पनि राष्ट्रसंघको महासचिवको नियुक्ति प्रक्रियामा सुधारका लागि अभियान सञ्चालन गरेका थिए । यो नियुक्तिका लागि खासमा सुरक्षा परिषद्का स्थायी सदस्यहरूको दबदबाको अवस्थामा पनि परिवर्तन ल्याउनुपर्छ र पारदर्शिता अपनाउनुपर्छ । यस्तो प्रक्रियामा राष्ट्रसंघका सबैजना सदस्यले पनि बोल्न पाउनुपर्छ । एकभन्दा बढी उम्मेदवार छान्ने र त्यसमा परेका आवेदनहरूबाट अनुभव र योग्यताका आधारमा छनोट गर्ने सार्वजनिक विधिबाटै उम्मेदवार छान्ने प्रक्रियाको थालनी गरिनुपर्छ । यस्तो विधि अपनाउनका लागि कतिपय यस्ता संस्थाहरूमा प्रगति पनि भएको छ ।
जस्तो कि राष्ट्रसंघीय शरणार्थी निकायले पनि यसको विश्वव्यापी उद्देश्यको रणनीतिलाई पनि प्राथमिकतामा राखेको छ र पछिल्लो समयमा राष्ट्रसंघका सबैजसो वरिष्ठ अधिकारीहरूले पनि वार्षिक रूपमा आर्थिक अवस्थाका बारेमा सार्वजनिक गर्नुपर्छ । यस विषयको एक सफल संस्था अफ्रिकन विकास बैंक हो जसले संस्थामा स्वस्फूर्त रूपमा खुलासाको नीति अपनाएको छ । यसले संस्थागत आर्थिक व्यवस्थाको खुलासा गर्नेछ भने भ्रष्टाचारसम्बन्धी क्रियाकलापको पनि अनुसन्धान र खोजी थाल्न सघाउँछ । यस बैँकले पनि आगामी मे महिनामा यसको अध्यक्ष चयन गर्दैछ । यसका लागि यस संस्थाले आफ्ना अध्यक्षले गर्नुपर्ने कामका बारेमा व्यवस्था गर्नुका अतिरिक्त अध्यक्षका लागि कम्तीमा आठजनाको आवेदनबाटै छनोट गरिनेछ र उनीहरूले आफ्नो कार्यकालमा गर्ने कामको रणनीति पनि सार्वजनिक गर्न भन्ने गरिन्छ । संयुक्त राष्ट्रसंघजस्तो विश्वव्यापी संस्था आफ्नो मातहतका अन्य संस्थाहरूका साथै विश्वका आफ्ना सदस्य राष्ट्रहरूलाई पनि सहयोग र समन्वयका साथै सेवा पनि दिनुपर्ने हुन्छ । त्यसैले असल नेतृत्वबिना राष्ट्रसंघ वा अरू कुनै पनि संस्था
असफल नै हुनेछन् । (एजेन्सी)

प्रतिक्रिया