भूकम्पपीडितका लागि वानाद्वारा २५ हजार डलर

मेरिल्यान्ड (बाल्टिमोर) । ‘गोरखा भूकम्प’बाट पीडितको सहयोगार्थ बाल्टिमोर एसोसिएसन अफ नेपाली इन अमेरिका (वाना)ले आफूले सङ्कलन गरेको २५ हजार अमेरिकी डलर अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुन कार्कीलाई बुधबार एक समारोहबीच हस्तान्तरण गरेको छ ।

राजदूत डा कार्कीको स्वागत कार्यक्रममा बुधबार सो रकम हस्तान्तरण गरिएको हो । समारोहमा राजदूत डा कार्कीले देश प्राकृतिक प्रकोपमा परिरहेका बेला सबै नेपालीले आआफ्ना ठाउँबाट मुलुकलाई सघाउने विषयमा चिन्तन गर्न आग्रह गरे ।

डा कार्कीका अनुसार सरकारमार्फत सहयोग गर्न चाहनेका लागि दूतावासको नाम र प्रधानमन्त्री दैवीप्रकोप राहत कोषका नाममा सिटी बैंकमा खातासमेत खोलिएको छ ।

‘पैसाको हिसाबले रकम सानो भए तापनि विदेशमा रहेका नेपालीले दिएको सहयोग हाम्रा लागि ठूलो महत्व राख्छ’, भनी राष्ट्पति डा रामवरण यादव एवम् प्रधानमन्त्री सुशील कोइरालाले समेत टेलिफोनमार्फत आफूलाई सम्झाउनुभएको उनले जनाए ।

राजदूत कार्कीले आग्रह गरे, ‘नेपालीलाई आइपरेको विपद्को सबै नेपाली एकत्रित भएर ऐतिहासिक जिम्मेवारी बहन गर्नुपर्ने बेला आएको छ ।’

अमेरिकाका लागि अवैतनिक महावाणिज्यदूत प्रेमराजा महतले नेपाल सरकारलाई सहयोग गर्ने आफूहरुको भावना हुनु नै सबैभन्दा बढी मुलुकप्रतिको सद्भाव रहेको बताए ।

प्रतिक्रिया