राहतमा समेत व्यापक भ्रष्टाचार भयो, दुरुपयोग गरियो भनेर जनआवाज आइरह्यो । त्यो आवाजलाई मत्थर पार्न र थुम्थुम्याउनका लागि प्रधानमन्त्री सुशील कोइरालाले, ‘राहतमा भ्रष्टाचार गर्नेलाई छाड्दिनँ भनिरहे । उनले त्यसो भनिरहँदा पनि उनको छेवैमा बसेर मस्तसँग हाक्काहाक्की भ्रष्टाचार भइरह्यो । राहतमा धेरैतिर भ्रष्टाचार भए पनि अस्ति प्रमले सहरी विकास मन्त्रालयले त्रिपाल खरिद गर्दा भ्रष्टाचार गरेको विषयमा मात्र छानबिन गर्न आदेश दिएका छन् । त्रिपाल खरिद गर्दा भ्रष्टाचार भएको भनेर तीन सातादेखि आवाज उठेको थियो । भ्रष्टाचार भएका प्रमाणहरू नै सार्वजनिक भएका थिए । त्रिपाल भ्रष्टाचारको पूरै स्टोरी प्रकाशित भए । त्यति हुँदा पनि सरकारले कारबाही गर्ने इच्छा देखाएको थिएन । जनस्तरबाट आएको आवाज भएकाले सरकारले कारबाही गर्न आवश्यक नठानेको हो भनेर सबैले बुझेका थिए । अरू भ्रष्टाचारको प्रकरणमा आँखा चिम्लेर यही एउटा काण्डमा मात्र छानबिन गर्ने भन्नुले यो काण्डमा विदेशीले चासो राखेको हुँदा छानबिन गर्न बाध्य भएको हो भनेर बुझ्न कठिन छैन । जनस्तरबाट आएका आवाजलाई पनि सुन्ने र छानबिनको दायरामा ल्याउने हो भने भयंकर भ्रष्टाचारले दिएका घाउ, चोट, पीडा अनगिन्ती छन् । भूकम्प गएको पर्सिपल्टैबाट काठमाडौंलगायत भूकम्पप्रभावित धेरै ठाउँमा गुरुद्वारा व्यवस्थापन समितिले त्रिपाल, ब्ल्यांकेट र भाँडाकुँडा बाँड्यो र ती ठाउँमा २/३ हप्तासम्म ‘लंगर’ राखेर खाना खुवाइरह्यो । त्यसका लागि केन्द्रीय गुरुद्वारा, दिल्लीले आवश्यक सामग्री पठाइरह्यो । दिल्लीबाट पठाइएका सामग्रीहरू धादिङ जिल्लाको राजमार्गमा ठाउँठाउँमा गुण्डाका हुलहरूले लुट्न थालेपछि केन्द्रीय गुरुद्वारा, दिल्लीले सामग्री पठाउनका लागि नेपाली राजदूतावास, दिल्लीमा गएर राजदूत दीपकुमार उपाध्यायसमक्ष समस्या राख्यो । दीपकुमारले ६ ओटा ट्रकमा भएका सामानको विवरणसहितको पत्र एउटा प्रधानमन्त्री कार्यालयलाई, एउटा केन्द्रीय गुरुद्वारा समितिलाई र एउटा पत्र काठमाडौंमा चाँजोपाँजो मिलाइरहेका गुरुद्वारा प्रतिनिधिलाई दिए । ‘यो ६ ओटा ट्रकमा भएका सामान नेसनल ट्रेडिङमा आइपुग्छ’ भने । नेसनल ट्रेडिङ ‘तीन ट्रक सामानको अत्तोपत्तो नै छैन’ भनेर टक्टकियो । वीरगञ्ज भन्सारबाट सशस्त्र प्रहरीले बुझेको देखिन्छ तर नेसनल ट्रेडिङले तीन ट्रक मात्र प्राप्त भएको भन्छ । र, प्राप्त भएको भनिएको तीन ट्रकमा पनि आधा सामान गायब गरिदिएका थिए । ‘यो तीन ट्रकको आधा सामान खोई ?’ भनेर सोद्धा, ‘हामीले आफ्नै हिसाबले जिल्लातिर पठाइदियौँ’ भनेर गैरजिम्मेवार जवाफ दिए । प्रधानमन्त्रीले कारबाही गर्न चाहेकै हो भने राजदूत दीपकुमार उपाध्याय दिल्ली दूतावासमै छन् । सिखहरूको गुरुद्वारा कमिटी यहीँ कोपुण्डोलमै छ । तर, हामीलाई थाहा छ, आगोजत्तिकै झर्झराउँदो प्रमाणको थुप्रो लगाए पनि प्रधानमन्त्रीले कारबाही गराउनेवाला छैनन् । कारबाही नगराउनुको एउटा कारण यो सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । अर्को कारण यो जनस्तरबाट आएको आवाज भएकाले हो भनेर हामीले छर्लंग बुझेका छौँ ।
भ्रष्टाचार व्यापक हुनुमा अगुवा नेताहरू र शासकहरू मात्र दोषी छैनन्, नेपाली समाज पनि भ्रष्टाचारमैत्री छ । नेपाली समाजको संरचना, गति र मनोविज्ञान परम्परागत छ । समाजका मूल्य र ‘गभर्निङ रुल्स’का स्रोत धर्मशास्त्रहरू हुन् । शास्त्र र पुराणमा परम्परागत अपराधको विषयमा चर्चा पाइन्छ तर श्वेतपोस अपराध औद्योगिक क्रान्तिसँगै आएको पुँजीवादी रोग भएकाले पुरातन ग्रन्थमा भेटिँदैन । भ्रष्टाचारलाई उद्योग र अवैध समृद्धिलाई पुरुषार्थको प्रतीकका रूपमा गरिएको व्याख्यालाई समाजले सहजै स्विकार्नुको मुख्य कारण यो देखिन्छ । नेपाली समाजले हत्या, बलात्कार, डकैतीजस्ता अपराधप्रति कडा तर भ्रष्टाचारप्रति नरम दृष्टिकोण राख्नु पनि यही कारण देखिन्छ । नेपाली समाजको यो दृष्टिकोणले प्रसिद्ध समाजशास्त्री एडवर्ड एल्सवर्थ रसको निष्कर्षलाई पुष्टि गर्छ । एडवर्ड एल्सवर्थ रसले श्वेतपोस अपराध (भ्रष्टाचार) को विषयमा अध्ययन (अनुसन्धान गरी आफ्नो शोधप्रबन्ध ‘दि क्रिमिनलायड’ लाई ‘दि एटलान्टिक मन्थली’ मा प्रकाशित गरेका थिए । परम्परागत अपराधप्रति समाजको दृष्टिकोण प्रस्ट छ तर यो नयाँ अपराधप्रति समाजले दृष्टिकोण बनाइनसकेको उनले पाए । परम्परागत अपराधप्रति घृणा गरिरहँदा यो नयाँ अपराधकर्मलाई पुरुषार्थी ठान्ने प्रवृत्ति भयावह छ भन्ने रसको निष्कर्ष थियो । उनले यी पुरुषार्थी नभई पुँजीवादी व्यवस्था चल्नै सक्दैन भन्ने मानसिकता हाम्रो समाजको डरलाग्दो महारोग हो भनेर डायग्नोसिस गरेका थिए ।
हाम्रा प्रधानमन्त्री सुशील कोइराला, ‘भ्रष्टाचारीलाई छाड्दिनँ । तुरुन्त कारबाही गर्छु, अहिल्यै कारबाही गर्छु’ भनेर दिनदिनै कुर्लन्छन् । भ्रष्टाचारीलाई कारबाही गर्छु भनेर कुर्लिरहने तर कारबाहीचाहिँ फिटिक्कै नगर्नुभन्दा हल्ला गर्न छाडेर कारबाही गर्नतिर लागे हुन्थ्यो ।
प्रतिक्रिया