काठमाडौं, १४ जेठ । १२, १३ र २९ को भूकम्प र त्यसपछिको पराकम्पनमा परी १८ स्वास्थ्यकर्मीको मृत्यु भएको छ भने पाँच स्वास्थ्यकर्मी अझै बेपत्ता छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहेव कल्पना थापा (भक्तपुर), अनमी रामकुमारी अधिकारी (धादिङ), सजल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका सातौँ तहका चन्द्र श्रेष्ठ र वीर अस्पतालकी अनमी विजया शर्मा श्रेष्ठको मृत्यु भएको हो । यस्तै, धापासी हेल्थपोस्ट काठमाडौंका लक्ष्मी रिमाल, अनमी शारदा धिताल (नुवाकोट), रसुवाकी स्टाफ नर्स सोनम वङ्गमो, सिन्धुपाल्चोककी अहेव निर्मला क्षेत्रीको मृत्यु भएको छ । महिला स्वास्थ्य स्वयंसेविका नाङ्लेभारेकी विमला बस्ताकोटी, काभ्रेस्थलीकी भागरथी अधिकारी, काभ्रेकी सिर्जना श्रेष्ठ, नुवाकोटकी फुलमाया तामाङ, रसुवाकी पूर्णिमाया गुरुङ, सिन्धुपाल्चोककी सीता कटुवाल, बुद्धि रानी तामाङ, फेसु तामाङ, फुर्बु लामा, शैलु बानियाँको पनि मृत्यु भएको छ ।
बेपत्ता हुने पाँच स्वास्थ्यकर्मीमा रसुवाको लाङटाङ क्षेत्रका छन् । त्यस क्षेत्रमा गएको हिमपहिरोले उनीहरूलाई बेपत्ता बनाएको हो । हराइरहेका स्वास्थ्यकर्मीमा चन्द्रिका बुढा (अनमी) र कर्माछिरिङ तामाङ (कार्यालय सहायक) छन् भने अन्य तीना महिला स्वास्थ्य स्वयंसेविकाको नाम खुल्न सकेको छैन ।
स्वास्थ्य मन्त्रालयले भूकम्पबाट घाइतेमध्ये दुई हजार ६ सय ५९ को जटिल शल्यक्रिया गरिएको र चार सय ३९ बिरामीलाई लामो समय उपचारको आवश्यकता भएको र दुई सय ५३ घाइतेलाई दीर्घकालीन पुनःस्थापनाको आवश्यकता रहेको जनाएको छ । भूकम्पबाट घाइते हुनेको संख्या २१ हजार नौ सय ५२ पुगेको गृह मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया