जर्मनीमा संकलित राहत सिन्धुपाल्चोकमा

सिन्धुपाल्चोक । विनाशकारी भूकम्पका कारण सबैभन्दा क्षति पुगेको जिल्ला सिन्धुपाल्चोकमा विभिन्न संघसंस्थाले राहत सामग्री वितरण गर्ने क्रम जारी छ । यसैबीच, जर्मनीमा अध्ययनरत सिन्धुपाल्चोक कदमवासका विद्यार्थीको अगुवाइमा संकलित रकमबाट सिन्धुपाल्चोकका दुई गाविसमा राहत वितरण गरिएको छ ।

जर्मनीमा चिकित्सा विज्ञान अध्ययनरत सिन्धुपाल्चोककै बद्री गिरी र उनकी साथी सञ्जु श्रेष्ठले भूकम्पपीडितहरूलाई सहयोग गर्न अभियान चलाएका थिए । सो अभियानबाट उठेको ६ लाख १६ हजार रुपैयाँबाट तीन सय ५० बढी घरधुरीलाई राहत बाडिएको हो । राहत वितरणको संयोजन स्थानीय इन्द्रकुमार गिरी र कृष्ण गिरीले गरेका थिए । कदमवासका स्थानीय एवं समाजसेवी इन्द्रकुमार गिरीका अनुसार जर्मनीमा संकलित रकमबाट प्रत्येक घर धुरीलाई ३० केजी चामल तथा दाल, नुन, तेल, चाउचाउ, सेनिटरी प्याडलगायत सामग्री उपलब्ध गराइएको हो ।
सो क्रममा राहत लिन जम्मा भएका स्थानीय भूकम्पपीडितले राहतका लागि धन्यवाद दिँदै आवासको व्यवस्थाका लागि पनि सहयोग गरिदिन आग्रह गरेका थिए । भूकम्पका कारण कदमवास र साँगाचोक गाविसमा ९५ प्रतिशत घरहरू ध्वस्त भएका छन् भने सयौँको ज्यान गएको छ ।

प्रतिक्रिया