जेठ १७ देखि विद्यालय खोल्न सरकार सक्रिय

Nepal-Earthquake-Natalie-Hawwa-slideकाठमाडौं, १२ जेठ । काठमाडौं उपत्यकासहित भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा यही जेठ १७ विद्यालय सञ्चालनका लागि शिक्षा मन्त्रालयले आवश्यक तयारी गरिरहेको छ ।

मन्त्रालयका सहप्रवक्ता सरस्वती पोखरेलले भत्किएर अत्यन्त नाजुक अवस्थामा रहेका विद्यालयमा अस्थायी कक्षाकोठा बनाएर भए पनि निर्धारित समयदेखि विद्यालय सञ्चालनमा ल्याउनुपर्ने बताए ।

उनले सोहीअनुसार सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा निर्देशन दिइएको जानकारी दिए ।

काठमाडौंका जिल्ला शिक्षा अधिकारी दिनेशकुमार श्रेष्ठले जिल्लाका ३४ विद्यालयमा ‘रेड स्टिकर’ (खतरा चिह्न) लगाइएको, १०१ विद्यालयमा ‘ग्रिन स्टिकर’(मर्मत गरी चलाउन सकिने) लगाइएको र ६८ भवन ‘एल्लो स्टिकर’(भत्काउनैपर्ने) अवस्थामा रहेको जानकारी दिए । उनले ९० प्रतिशत विद्यालयले अस्थायी कक्षाकोठा बनाएरै भए पनि विद्यालय सञ्चालनमा ल्याउने तयारी भएको बताए ।

ललितपुरका जिल्ला शिक्षा अधिकारी शिव सापकोटाले जिल्लाका ३३० विद्यालय आंशिक रूपमा र १२० विद्यालय गम्भीर रूपमा क्षतिग्रस्त र ४० विद्यालय प्रयोग गर्न नसकिने बताउँदै भूकम्पका कारण करिब ५० करोडको क्षति पुगेको उल्लेख गरे ।

निजी तथा आवारसीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का अध्यक्ष लक्ष्यबहादुर केसीले सरकारले सामुदायिक विद्यालयलाई मात्र होइन निजी विद्यालयलाई पनि सहुलियत दरमा ऋण दिने व्यवस्था हुनुपर्ने माग राखे ।

एकीकृत माओवादीका काठमाडौं जिल्ला अध्यक्ष हिमाल शर्मा, नेपाल शिक्षक सङ्गठनका अध्यक्ष रमेश रूपाखेती, ललितपुर प्याब्सनका अध्यक्ष शिव कार्कीलगायतले शिक्षक तथा विद्यार्थीलाई मनोपरार्श दिएर सहज रूपमा पठनपाठन नियमित गराउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया