फ्रेन्च ओपन सेल्फि प्रकरणले तर्सिएका फेडेरर

Photo-2-Roger-Federar-Storyसर्वाधिक १७ पटकका ग्रान्ड स्लाम टेनिस विजेता हुन्, रोजर फेडेरर । उनी अहिले विश्व वरीयतामा सर्बियाका नोभाक जोकोभिचपछि दोस्रो स्थानमा छन् । सर्वाधिक धेरै ग्रान्ड स्लाम जित्नुका बाबजुद अन्य देशको तुलनामा फ्रान्समा फेडेररको सफलताको कथा छोटो छ ।

फेडेररले सन् २००९ मा एक पटक मात्रै फ्रेन्च ओपन जितेका छन् । तर, यसको मतलब फ्रान्समा फेडेरर लोकप्रिय छैनन् भन्ने होइन । फ्रेन्च ओपन चलिरहँदा अहिले फेरि उनी चर्चामा छन्, आयोजकसँग रुष्ट बनेर ।

फेडेररका समर्थक विश्वभर छन् । फेडेरर जता पुग्छन्, समर्थकहरू उनलाई घेर्न अघि सरिहाल्छन् । तर, कहिलेकाँही आफ्ना समर्थकलाई फेडेररले बोझ मान्ने गरेका छन् । अहिले सेल्फीको जमाना छ । यस्तोमा फेडेररसँग सेल्फी खिचाउने रहर कसलाई नहोला ? आइतबार एक १४ वर्षीय फ्रान्सेली युवकले फेडेररसँग सेल्फी खिचाउने आफ्नो लगावलाई मैदानमै छताछुल्ल पारे ।

रोजर फेडेररले फ्रेन्च ओपन टेनिसको पहिलो चरणमा जीत निकालेसँगै उनका एक समर्थक प्याराफिटबाट हामफाल्दै कोर्टमा प्रवेश गरे । फेडेररको कुममा कुम जोडे र सेल्फी खिचे । यस तमासालाई मैदानबाहिरबाट फोटो खिचिरहेका ठूला पत्रिकाका फोटोग्राफरहरूले क्यामेरामा कैद गरिसकेका थिए ।

फ्रेन्च ओपनको आयोजनास्थल रोलाँ ग्यारोसमा निम्तिएको यस घटनापछि फेडेरर रुष्ट छन् । उनी भन्छन्, ‘सामान्यतया म आफ्नो बारेमा मात्रै बोल्ने गर्छु । तर, यस्तो परिस्थितिमा मैले सबै खेलाडीका तर्पबाट बोल्नुपर्ने हुन्छ । खेल्दै गर्दा हामी सुुरक्षित स्थानमा रहन चाहन्छौँ । तर, आज जे भयो म त्यसबाट खुसी छैन् । फेरि पनि केही हुन पाएन, त्यसैले दुःख लागेको छैन् । तर, परिस्थिति निकै कठिन छ ।’

फ्रेन्च ओपन प्रतियोगिता निर्देशक गिल्वर्ट यर्सनले खेलपछि लकर रुममा फेडेररसँग माफी मागेका थिए । उनी सुरक्षाकर्मीको कमजोरी देखिए पनि गल्ती भएको मान्न तयार छैनन् । भन्छन्, ‘आजको घटनापछि सोभै सुरक्षाकर्मीप्रति प्रश्न उठाउने ठाउँ छैन् । हामी राम्रो समन्वय गर्नबाट चुकेका भने हौँ ।’ उनले सुरक्षाकर्मीहरू तयारी अवस्थामा रहेको र खराब घटना घट्ने अवस्था रहे तत्कालै कारबाहीका लागि अघि सर्ने बताए ।

सेतो भेस्ट लगाएका १४ वर्षका ती बालक कुनै खराब प्रयोजनका लागि मैदान छिरेका भने थिएनन् । उनी केवल फेडेररसँग सेल्फी खिचाउन चाहन्थे । अभै फेडेररसँग केही समय गफिन चाहन्थे । तर, ती बालकको प्रवेशसँगै फ्रेन्च ओपनको सुरक्षा व्यवस्थालाई लिएर यतिबेला ठूलै बहस सुरु भएको छ । प्रतियोगिता निर्देशक यार्सनले यस विषयलाई ठूलो बनाउन नहुने बताइरहेका छन् । उनी भन्छन्, ‘यस्ता घटनालाई ठूलो बनाउनुको अर्थ रहन्न ।

तर, यो स्तव्धकारी भने अवश्य हो । रोलाँ ग्यारोसमा यस्ता घटना घट्दा हामी दुखित छौँ ।’ उनले अहिलेको युवा पुस्ता खेलाडीसँग नजिक हुन चाहने भएका कारण घटना घटेको बताए । खेलाडीहरूको सुरक्षालाई विशेष प्राथमिकतामा राख्न आयोजक सधैँ प्रतिवद्ध रहेको उनको भनाइ छ ।

फेडेररसँग फोटो खिचाउन अग्रसर हुने १४ वर्षीय फ्यानलाई बाँकी खेलहरू हेर्नबाट प्रतिबन्ध लगाइएको उनले बताए । ‘कोर्टमा यस्तो काण्ड मच्चाउने समर्थकलाई हामी माफी दिन सक्दैनौँ । खेल हेर्न उपस्थित हुने सबैले बुझ्न जरुरी छ कि कोर्ट निकै संवेदनशील र सम्मानित स्थान हो ।’

२२ वर्षअघि मोनिका सेलेसमाथि मैदानमै चक्कु प्रहार भएको घटनालाई फेडेररसँग बालकले सेल्फी खिचाएको घटनासँग तुलना गर्नेहरूको संख्या अहिले बढ्दो छ । फेडेररसँग उनका युवा फ्यानले खराब नियत नराखे पनि टेनिस जगत्लाई यस घटनाले सन् १९९३ को संझना भने अवश्य गराएको छ । तत्कालीन विश्व नम्बर एक महिला खेलाडी सेलेस फ्रेन्च ओपनको उपाधि जितेपछि जर्मनीमा टेनिस खेल्न पुगेकी थिइन् ।

जर्मन खेलाडी स्टेफी ग्राफ उनकी प्रमुख प्रतिद्वन्द्वी थिइन् । ग्राफ विरुद्ध सेलेसले पहिलो सेट जितेकी थिइन् भने दोस्रो सेटमा ४–३ को अग्रता थियो । तर, ग्राफका एक समर्थकलाई यो सह्य भएन । बेरोजगार ३८ वर्षीय गुन्टर पार्चेले पछाडीबाट सेलेसको काँधमा नौ इन्चको चक्कूले प्रहार गरे । ‘मेरो टाउकोमा चक्कर लागेको अनुभव भयो ।

मैले त्यति नै बेला बेसबलको क्याप लगाएको एक व्यक्तीलाई देखेँ । चोट लागेको ठाउँमा दुखाई कायम थियो र म थप त्रसित भएँ । उसको हातमा लामो चक्कू देखेपछि मलाई बाच्दिनँ भन्ने लागेको थियो । उसले अभै ममाथि प्रहार गर्दै थियो । मलाई थाहा थिएन त्यसपछि के भयो ।’ सन् २००९ मा प्रकाशित अटो बायोग्राफीमा सेलेसले उक्त घटनालाई यसरी उतारेकी छिन् ।

उक्त घटनापछि मानसिक रूपमा विक्षिप्त सेलेसले आफ्नो स्वभाविक लय गुमाएको टेनिस विज्ञहरूको भनाइ छ । त्यसयता, सुखद पुनरागमन गर्ने क्रममा सन् १९९६ मा अस्टे«लियन ओपनको उपाधि जिते पनि सेलेसको खेलस्तर खस्किएको प्रस्टै थियो ।

यसपटक फेडेररले सेलेसले भै डरलाग्दो घटनाको सामना गर्नु परेन तर उनले सुरक्षा व्यवस्था यस्तै फितलो रहे भविष्यमा सेलेसमाथि भएको घटना अन्य खेलाडीमाथि दोहोरिन सक्ने संभावना औल्याएका छन् । यार्सन आपै भन्छन्, ‘सेलेसमाथिको घटनापछि टेनिस स्टेडियम र टेनिस कोर्टमा सुरक्षासम्बन्धी नयाँ अवधारणा ल्याइएको थियो ।’

अहिले ठूला स्टार र सामान्य खेलाडीका लागि समेत सुरक्षाको व्यवस्था केही मजबुत छ । तैपनि, समर्थकहरूले खेलाडीसँग भेट्न हतारो गर्दा समस्या देखिने गरेको छ । सन् २००९ मा फेडेररले फ्रेन्च ओपनको उपाधि जित्नुअघि रोबिन सोन्डरलिङ विरुद्धको फाइनलमा एक समर्थकले यस्तै तमासा देखाएका थिए ।

फाइनल खेल जारिरहँदा उनले फेडेररलाई ह्याट पहिराउने प्रयत्न गरेका थिए । त्यतिबेला पनि फेडेरर स्तब्ध थिए तर उनले अहिले जसरी आयोजकको खुलेयाम आलोचना गरेनन् । सन् २००९ मा पनि यार्सन नै प्रतियोगिताका निर्देशक थिए । सन् २०१३ मा राफेल नाडाल र डेभिड फेररबीचको फाइनलका दौरान एक व्यक्ति विरोध स्वरूप आगोको मुस्लो लिएर आफ्नो स्थानबाट हाम फालेका थिए ।

पछिल्लो समय चार्ली हेब्डो प्रकरण तथा बोस्टन म्याराथनमा भएको आक्रमणका कारण पनि विदेशी खेलाडीहरूले फ्रान्सको सुरक्षा व्यवस्थालाई लिएर प्रश्न उठाउँदै आएका छन् । फेडेररले शनिबारसमेत रोलाँ ग्यारोस रंगशालामा प्रदर्शनी खेलका दौरान केही बालबालिकाहरू सहज रूपमा कोर्टभित्रै छिरेको बताएका थिए । ‘केही बालबालिका कोर्टभित्रै छिरे । तर, सुरक्षाकर्मीले कुनै प्रतिक्रिया देखाएनन् ।

ममाथि सन् २००९ मा पनि यस्तै घटना घटिसकेको छ । त्यसैले सुरक्षाकर्मी सतर्क हुनुपर्छ तर उनीहरू कहिल्यै भएनन् ।’ प्रतियोगिताको सुरक्षा व्यवस्थालाई लिएर फेडेररले शंका व्यक्त गरेका छन् । उनले फ्रेन्च ओपन मात्रै नभएर सम्पूर्ण प्रतियोगिताको दौरान सुरक्षा व्यवस्था कडा हुनुपर्ने बताए । ‘आयोजकले मसँग माफी मागेका छन् जुन स्वागतयोग्य छ तर त्यतिले पुग्दैन । भविष्यमा यस्तो घटना दोहोरिनु भएन,’ फेडेरर भन्छन् ।

फ्रान्सका केही स्थानीय व्यक्तिले फेडेररले घटनालाई बढावा दिएको बताएका छन् । अर्नेस्ट गुल्विस भन्छन्, ‘उनले घटनालाई अतिरञ्जित गर्न खोजे । उनले बोलेजस्तो कमजोर सुरक्षा व्यवस्थाको फ्रेन्च ओपनमा कल्पना पनि गर्न सकिन्न ।’ गुल्विसले सेल्फी खिचाउनकै लागि उक्त बालक मैदान प्रवेश गरेका कारण उनीमाथि धेरै आरोप लगाउन नमिल्ने बताए । यता यर्सनले सन् २००९ मा समर्थकको दुव्र्यवहार भोगेका कारण फेडेरर डराएको हुनसक्ने बताएका छन् ।

‘टेनिस कोर्टमा छिर्नुअघि नै सुरक्षाकर्मीले सबै चेकजाँच गरेका हुन्छन् । त्यसैले खेलाडीले त्रसित हुनुपर्ने अवस्था छैन् । तर, खेलाडीहरूले शान्तिसँग खेल्न पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो,’ यर्सन भन्छन् । पूर्वअस्टेलियन ओपन विजेता थोमस जोहानसनले भनेका छन्, ‘घटना खास ठूलो हुन पाएन । तर, अर्कोपटक यस घटनाका कारण खराब नियत राख्नेहरूका लागि सहज भएको छ ।’ (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया