अस्ट्रेलियामा हेमन्त–प्रेमको कन्सर्ट

Hemantaकाठमाडौं । नेपालका भूकम्पपीडितका सांगीतिक कार्यक्रममार्फत सहयोग जुटाउन गायक हेमन्त शर्मा अस्ट्रेलिया पुगेका छन् । नेपालमा रहँदा गाउँगाउँ पुगेर भूकम्पपीडितलाई राहत दिन सक्रिय गायक शर्मा अर्का बाल गायक प्रेम परियारलाई लिएर अस्ट्रेलिया पुगेका हुन् ।
नेपालका बालबालिकाको सहयोगार्थ नेप्लिज अस्ट्रेलिया एसोसिएसनले शनिबार आयोजना गर्न लागेको ‘नेप्लिज चिल्ड्रेन ट्यालेन्ट नाईट’ मा हेमन्त र प्रेमले सांगीतिक प्रस्तुति दिनेछन् । गायक शर्माका अनुसार नेपालमा भूकम्प जानुअघि नै त्यहाँका लागि कार्यक्रम तय भइसकेको थियो ।
‘नेपालमा भूकम्प गएर जनधनको क्षति पुगेपछि यो कार्यक्रमबाट आएको आम्दानी नेपालका भूकम्पपीडितका लागि दिइने आयोजकसँग कुराकानी भइसकेको छ’, गायक शर्माले भने,‘यो संकटमा देश छोडेर जाने इच्छा नभए पनि भूकम्पपीडितका लागि म अस्ट्रेलिया पुगेको हुँ ।’ हेमन्त र प्रेमले ३० मेमा हुने कार्यक्रममा पनि सहभागिता जनाउनेछन् ।
कार्यक्रममा अस्ट्रेलियामा रहेका बालबालिकाको गायन, नृत्य, अभिनयलगायत प्रतियोगिता पनि गरिनेछ । (सौस)

प्रतिक्रिया