खेलकर्मीको चासो ‘मेन्टल रिकभरी’

anchorकाठमाडौं, ८ जेठ । १२ वैशाखमा गएको भूकम्प र २९ वैशाखमा गएको शक्तिशाली पराकम्पनपछि अन्य क्षेत्रझैँ नेपाली खेलकुद क्षेत्रका सबै पक्ष प्रभावित भए । भूकम्पका कारण भएको मानवीय र भौतिक पूर्वाधार मात्र होइन, खेलकर्मीमा आएको मानसिक विचलनका कारण खेलकुद पुरानै अवस्थामा फर्कन लामो समय लाग्ने देखिएको छ ।

‘भौतिक पूर्वाधार पुनर्निर्माणका लागि मात्र तीन वर्षभन्दा बढी समय लाग्छ, मेन्टल रिकभरी तत्काल देखिएको प्रमुख समस्या हो, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामा भन्छन्, ‘मेन्टल रिकभरी’ का लागि तत्काल भौतिक पुनर्निर्माण र प्रशिक्षण गर्नुपर्ने देखिएको छ ।’
त्यसो त नेपालले केही ठूला प्रतियोगिता आयोजनाको अवसर गुमायो भने सहभागिता पनि प्रभावित बन्योे । असार पहिलोसाता काठमाडौंमा गर्न लागिएको भारोत्तलनको एसियन च्याम्पियनसिप र जेठमा काठमाडौंमा हुने ब्याडमिन्टनको एसियन च्याम्पियनसिप पनि नेपालले गुमायो । महिला यु–१४ क्षेत्रीय च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल उपाधिको दाबेदार भए पनि फाइनल खेल सुरु हुनुभन्दा एक घन्टाअघि मात्र भूकम्प गएपछि त्यो खेल पनि स्थगन भयो ।
यस्तै, रुसको मस्कोमा भएको तेक्वान्दोको विश्व च्याम्पियनसिपमा भूकम्पकै कारण नेपालले सहभागिता जनाउन सकेन । इलाममा गर्न लागिएको रामप्रसाद स्मृति अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको तयारी भूकम्पकै कारण प्रभावित भयो । भूकम्प जाँदा विश्व च्याम्पियनसिपमा सहभागिता जनाउन चीन पुगेको नेपाली टोलीकी सदस्य रुबिना महर्जनले प्रतियोगिता हुँदाताका ध्यान नेपालमा केन्द्रित भएको बताइन् । भलिबलका मुख्य प्रशिक्षकदेखि कराते, पारा एथलेटिक्स र जुडोले खेलाडी गुमायो । अटोमोबाइल स्पोर्टस् पनि अछुतो रहेन । अटोमोबाइल्सले राष्ट्रियस्तरकै ड्राइभर गुमायो । थुप्रै खेलाडी घरबारविहीन र आफन्त गुमाउनुको पीडामा परे । थुप्रै समस्याका कारण उत्पन्न निराशा र यसको ‘मेन्टल रिकभरी’ धेरै अधिकारी र प्रशिक्षकको चासो बनेको छ । खेलविज्ञ खेलाडीमा ‘डिप्रेसन’को समस्या आउन नदिन र अनुशासनमा यथावत राख्न प्रशिक्षणले निरन्तरता पाउनुपर्ने बताउँछन् । एथलेटिक्सका सबै राष्ट्रिय खेलाडी प्रशिक्षणमा छन् । ‘यो अवस्थामा सुधारको अपेक्षा गर्नै सक्दैनौँ, स्तर यथावत राख्न र खेलाडीमा मानसिक समस्या आउन नदिन प्रशिक्षणलाई निरन्तरता दिनु अनिवार्य भएको छ’, प्रशिक्षक सुशील नरसिंह राणाले भने । नेपाली एथलेटिक्सले ३ जुनदेखि चीनमा हुने एसियन ट्र्याक एन्ड फिल्डमा सहभागिता जनाउने भएको छ । प्रतियोगिताका पाँच स्पर्धामा नेपालको सहभागिता रहनेछ ।
तेक्वान्दो राष्ट्रिय टोलीका प्रशिक्षक मीन थापा विश्व च्याम्पियनसिप गुमाउनु परे पनि राष्ट्रिय टोलीका सबै खेलाडी आसन्न प्रतियोगिताका लागि मानसिक रूपले तयार रहेको बताउँछन् । मस्कोमा सम्पन्न विश्व च्याम्पियनसिपमा थापाको प्रशिक्षणमा निशा रावल र निमा गुरुङ जाने तयारीमा थिए । ओलम्पिक स्कलरसिपमा रहेकी निशा र उनका स्पाइरिङ पार्टनर निमासहित रञ्जन श्रेष्ठ र अरुण अधिकारी प्रशिक्षणमै छन् । थापा परिषद्को सर्कुलर हुनेबित्तिकै राष्ट्रिय टोलीको प्रशिक्षण हुने बताउँछन् ।
बंगलादेशको ढाकामा हुने एभिसी सेन्टर जोन भलिबल प्रतियोगिताको प्रशिक्षण पनि भूकम्पका कारण प्रभावित बन्यो । भलिबल टोली मानसिक रूपले प्रभावित भयो । भलिबलले भूकम्पकै कारण मुख्य प्रशिक्षक केशवलाल श्रेष्ठ गुमाइसकेको छ । त्यत्ति मात्र होइन, राष्ट्रिय टोलीका प्रभावशाली खेलाडी सञ्जय अर्यालको घर पनि भूकम्पमै भत्कियो । भलिबल प्रशिक्षक सुदेश रिमाल सुरुका दिनमा भलिबल खेलाडीमा निराशा देखिए पनि प्रशिक्षणसँगै सामान्य अवस्थामा फर्किएको बताउँछन् ।
कराते राष्ट्रिय टोलीका प्रशिक्षक कुशल श्रेष्ठ १५ जेठबाट प्रशिक्षण सुरु हुने बताउँदै पहिलो चरणमै मानसिक तयारी आवश्यकता रहेको बताउँछन् । ‘यो अवस्थामा खेलाडी मानसिक रूपमा दरिलो भए सर्वसाधारणलाई यसले सकरात्मक सन्देश दिन्छ,’ श्रेष्ठ भन्छन् ।

प्रतिक्रिया