आफैँप्रति निर्मम साहित्यकार

narayan_dhakalआख्यानकार नारायण ढकाल आफैँप्रति निर्मम हुन्छन् । नेकपा एमालेको टिकटबाट उठेर सांसदसमेत भइसकेका ढकाल कुनै बेला एमालेबाट फुटेर बनेको माले पार्टीमा जानुमा आफ्नो ठूलो कमजोरी भएको पटकपटक स्वीकार गर्दछन् । कथा लेखनमा पनि उत्तिकै खप्पिस उनले उपन्यास लेखनमा जहिले पनि मदन पुरस्कारको चर्चा हुने गरे पनि कहिल्यै मदन पुरस्कार पाएका छैनन् । तर, उनको उपन्यास बजारमा आएपिच्छे मदन पुरस्कारबारे उनको चर्चा हुन्छ । ‘प्रेतकल्प’ उपन्यासपछि ढकालको पछिल्लो उपन्यास ‘वृषभ वध’ भर्खरै बजारमा आएको छ । भूकम्पपछिको महासन्नाटामा उनको उपन्यास ‘वृषभ वध’ले बजारमा नयाँ भूमिका निर्वाह गर्नेछ भन्ने चर्चा साहित्यिकहरूमाझ चलिरहेको छ । ‘प्रेतकल्प’ पछि ढकालले आफ्नो अर्को उपन्यास जलाएको चर्चा नेपाली साहित्यिकमाझ चुलिएको थियो । त्यसैले यस उपन्यासमा ढकालले के लेखेका छन् भन्ने कुराको चर्चा निकै चुलिएको छ । उनको यो उपन्यास ‘वृषभ वध’ आउनुअगावै उनीसँग निबन्धकार दीपक सापकोटाले गरेको संवाद सामयिक भएकाले यहाँ प्रस्तुत गरिएको छ ।
तपाईंलाई हिप्पीकालको अराजक जीवनशैलीबारे निकै राम्रो अनुभव छ । वर्तमान नेपाली साहित्यचाहि“ कत्तिको अराजक छ ?
– हिप्पीकालमा हंग्री जेनेरेसन, बिट जेनेरेसन, एंग्री जेनेरेसन आदि धाराहरू प्रचलित थिए । तिनको विश्वव्यापी विस्तार र प्रभाव थियो । तिनले स्थापना गरेका विचार, दर्शन र काव्यिक स्थापनाले विश्व समाज, राज्य र संस्कृतिमा समेत परिर्वतनका निम्ति दबाब सिर्जना भएको थियो । नेपालमा ती आन्दोलनको प्रभाव छिपछिपे रहे पनि त्यसबाट परेको असर महत्वपूर्ण रूपमा मुखरित भएको थियो । अराज्यवाद, समलैंगिकता, साम्राज्यवादी युद्धको विरोध ती आन्दोलनका प्रस्तावना हुन् । वर्तमान नेपाली साहित्यमा त्यस किसिमको निरन्तरता नभए पनि सिर्जनशील अराजकताजस्तो आन्दोलन नयाँ धरातलमा उभिएको पाइन्छ । सिर्जनशील अराजकताभित्र नश्लीय चेतना, परिचयको राजनीति, जातीय मुक्तिजस्ता विषय रहेका छन् । यो उदाहरणबाट स्पष्ट हुन्छ, अराजकता कुनै न कुनै रूपमा जारी रहेको छ । यतिमात्र हो, सिर्जनशील अराजकताका जराहरू देशभित्र मात्र सीमित छन् र यसमा विशुद्ध नेपाली मौलिकता छ ।
तपाईं बेलाबेला मदन पुरस्कारको विपक्षमा उभिनुहुन्छ । मदन पुरस्कारलाई परम्परागत आरोप लगाउनुहुन्छ तर यसबारे चासो किन राख्नुहुन्छ ?
– म मदन पुरस्कारको विपक्षमा भएको भए मैले त्यहाँ आफ्ना पुस्तक दर्ता गराउने कुरै आउने थिएन । मेरा धेरै पुस्तकहरू प्रकाशित भएपछि या त म आफैैँले या मेरा प्रकाशकले त्यहाँ पुस्तक दर्ता गराएका छन् । पुरस्कारबारे मेरो भन्नु यति मात्र हो– यो आफ्नै इतिहास भएको पुरस्कार हो । नेपाली साहित्यमा यसको इज्जत छ । तर, पुरस्कार दिँदा अपनाइने प्रक्रिया स्पष्ट र पारदर्शी नभएकाले यसको मूल्यवत्ताप्रति शंका उत्पन्न हुने गरेको छ । दर्ता भएका पुस्तकमध्ये प्रथम छनोटमा कतिवटा परे ? अन्तिममा पुरस्कृत हुने पुस्तकलाई के कारणले गर्दा पुरस्कार दिनुपरेको हो ? यस्ता प्रश्न स्पष्ट भएमा मदन पुरस्कारकै गरिमा बढ्ने भएकाले सुझाव दिएका कुरालाई आरोप लगाएको भनी कुतर्क गर्नु त भएन नि ! होइन र ?
पछिल्लो १० वर्षमा मदन पुरस्कार पाएका झुर किताबको नाम दिनुस् न ।
– कुनै किताबलाई झुर वा असल भनेर ठप्पा लगाउने योग्यता ममा छैन । यस्तो काम उदयीमान, जाज्वल्यमान, ज्ञान, सौर्य, उष्मा भएका पाठक र समालोचकको काम हो । म त यति मात्र भन्छु, पुरस्कार कुनै भिखारीलाई गर्ने दानजस्तो हुनु हँदैन । हुन त, धर्ममा दानको आफ्नै गरिमा र मूल्य हुन्छ । तर, लेखकलाई दान थाप्न लगाउनुचाहिँ ज्यादै नमिल्ने कुरा हो । मदन पुरस्कारको राम्रो गरिमा र इतिहास हुँदाहुँदै पनि त्यसले मूर्त मापदण्ड बनाएर स्पष्ट आधार बनाएर र पारदर्शी व्यवहार नगरेका कारण विवादमा तानिनुपरेको छ । पुरस्कार छनोट गर्ने जुरी को–को हुन् ? तिनको योग्यता समाजले बुझ्न पाउनुपर्ने होइन र ? यी प्रश्नको हल भएपछि स्वतः कुन किताब झुर र कुन किताब उत्कृष्ट भन्ने समस्या समाधान भइहाल्छ नि ।
०६६ मा तपाईंको उपन्यास ‘प्रेतकल्प’ले मदन पुरस्कार पाउने व्यापक चर्चा थियो । तर, प्रेतकल्पलाई पन्छाउ“दै युवराज नयाघरेको ‘एक हातको ताली’लाई पुरस्कार दिइयो । नेपाली साहित्यमा त्यस किताबको मूल्यवत्ताचाहि कति हो ?
–‘प्रेतकल्प’ले मदन पुरस्कार पाउनुपर्छ भन्ने चर्चा मदन पुरस्कार गुठीभन्दा बाहिरको कुरा थियो । धेरै पाठकहरूले त्यो पुस्तक पढेपछि त्यस्तो अनुमान गरेका थिए । कतिपय पाठकले त त्यस्तो प्रतिक्रिया मलाई पनि सुनाएका थिए । केही अखबारमा अग्रिम शुभकामनास्वरूप पुरस्कार ‘प्रेतकल्प’कै हो भनी छापिएको पनि थियो । तर, त्यसको अर्थ रहँदैन । गुठीका आफ्ना आग्रह र मान्यता हुन्छन् । पुरस्कार दिइने क्रममा पाठकको एसएमएस भोटिङजस्तो प्रक्रिया हुँदैन । त्यसैले बाहिरको चर्चाबारे सकारात्मक वा नकारात्मक टिप्पणीको कुनै अर्थ हुँदैन । जहाँसम्म ‘एक हातको ताली’ निबन्धसंग्रहको कुरा छ, त्यसको मूल्यवत्ता कत्ति छ भन्ने कुरा मैले ठहर गर्ने विषय होइन । मलाई यत्ति थाहा छ, युवराज नयाँघरे सज्जन मानिस हुन् । यस्तै यसपालि मदन पुरस्कार पाउने अमर न्यौपानेलाई पनि सज्जनताको ‘रोलमोडेल’ नै भन्दा पनि हुन्छ । दुर्जनले पुरस्कार पाउनुभन्दा सज्जनले पाएको तुलनात्मक रूपमा राम्रै हो भन्ने मलाई लाग्छ ।
कत्तिले त तपाईंलाई मदन पुरस्कार नपाएको कुण्ठा छ, त्यसैले यसविरुद्ध बोल्नुहुन्छ भन्छन् नि 
–मानौँ पुरस्कार नपाएर म कुण्ठित नै भएँ रे । तर, त्यस्तो कुण्ठाको साहित्यिक इतिहासमा के अर्थ हुन्छ ? बोर्खेसले योग्य हुँदाहुँदै नोबेल पुरस्कार पाएनन् । सलमान रुस्दी उहिल्यै परिपक्व भइसकेका हुन्, उनले पनि पाएनन् । विश्वको नाम र दाम धेरै भएको पुरस्कार नपाउने सुयोग्य लेखकहरूको लामो सूची बनाउन सकिन्छ । अब उनीहरूमा कुण्ठा छ भनेर शंका गर्ने ? मैले कमलबाबुलाई यति मात्र अनुरोध गरेको हुँ, ‘अब पञ्चायतको युग गयो, लोकतन्त्र आएको छ मुलुकमा, मदन पुरस्कारलाई पनि लोकतान्त्रिक संस्कृतिअनुरूप परिमार्जन गर्दै चलाउने हो कि ?’ यसको विरुद्धमा मैले न कतै बोलेको हुँ, न लेखेको नै छु ।
मदन पुरस्कारमा दर्खास्त हाल्नेदेखि पहुच पुर्‍याउनेसम्मका प्रक्रिया निकै विवादित छन् । उत्कृष्ट कृति पन्छाइन्छन् र निकम्मा लेखकहरू पुरस्कृत भइरहेका छन् भन्ने मेरो आरोपलाई के भन्नुहुन्छ ?
– यो प्रश्न तपाईंले मलाईभन्दा कमलबाबुलाई सोध्नुभए बढी बेस हुन्थ्यो । त्यहाँको प्रक्रिया रहस्यमय भएकाले के–के हुन्छ म कसरी भनँ ? हो कि होइन तपाईं नै विचार गर्नुहोस् न !
हाम्रा लेखकहरू लेखनको गुणमा ध्यान दिदैनन् । तर, मदन पुरस्कार पाउन मरिहत्ते गर्छन् र व्यापक चाकडीमा लाग्छन् । यसबारे केही अनुभव गर्नुभएको छ ?
– त्यस्तो त मलाई थाहा छैन । यो कुरा मदन पुरस्कार गुठीका प्रधान अभिभावक कमलबाबुलाई सोध्नुभए नै स्पष्ट होला कि ! जहाँसम्म नेपाली साहित्यको कुरा छ, हामी अझै कमजोर अवस्थामै छौँ ।
अब प्रसंग बदलौ । तपाईंको व्यक्तिगत र साहित्यिक कुराकानीतर्फ लागौ । कम्युनिस्टको अनुदार घेराभित्र तपाईंहरूको छुट्टै झुन्ड छ । कम्युनिस्टहरू समाजलाई संकुचित दायरामा मात्र बुझ्छन् र व्यवहारमा चाहि निकै भ्रष्ट हुन्छन् । तपाईं यसबाट अछुतो हुनुहुन्छ ?
– म कम्युनिस्ट आन्दोलनमा जडसूत्रवादको विपक्षमा छु । मैले जडसूत्रवादीहरूलाई सरकारी कम्युनिस्ट भन्दै आएको छु । तर, मेरो अलग झुन्डचाहिँ छैन । म अहिले कुनै पनि दल, सांस्कृतिक संस्था वा लेखक संगठनमा आबद्ध छैन । एक प्रकारले म एक्लै छु–एकलव्यजस्तै ! एक्लो हुनुबाट मलाई चरम सुखबोध हुन्छ । अब जहाँसम्म कम्युनिस्टहरू समाजलाई संकुचित तरिकाले बुभ्छन् भन्ने प्रश्न छ– जडसूत्रवादीको विशेषता नै त्यही हो । यस्तो संकीर्णता गैरकम्युनिस्टहरूमा पनि उत्तिकै छ । त्यस्तै भ्रष्ट आचरणमा नेपालमा कम्युनिस्ट र गैरकम्युनिस्टबीच निकै कडा होडबाजी चलेको छ । म त्यो होडबाजीमा पर्न नचाहेकाले नै संगठित र सत्ता राजनीतिबाट टाढा रहेको हँ । अब तपाईं नै मूल्यांकन गर्नुहोस्, म अछुतो छु या मुछिएको छु ?
कम्युनिस्टहरू जीवनको सिद्धान्त र व्यवहारमा अन्तरविरोधी भएर बा“चेका हुन्छन् । तपाईं नि 
– म सकभर पाखण्डबाट मुक्त भएर बाँच्ने प्रयास गर्छु । द्वैध चरित्र नहोस् मेरो भनेर सचेत पनि हुन्छु । तर, समाजको चरित्र पाखण्डपर्वले आक्रान्त छ । दिनको उज्यालोमा साधु भनी चिनिएकाहरू अँध्यरोमा सैतानको व्यवहार गर्छन् । यो आारोप तपाईंले किन कम्युनिस्टलाई मात्र लगाउनुभएको ? यस्तो चरित्र त गैरकम्युनिस्टहरूमा पनि उत्तिकै पाइन्छ नि !
तपाईं पूर्वसोभियत मोडेलको वकालत गर्नुहुन्छ । तर, परम्पराको पर्दाबाट जीवनमा कहिल्यै उम्किनुहुन्न 
– त्यो मोडेल हाम्रो इतिहास हो । त्यसको ऐतिहासिक महत्व छ । तर, त्यसले वर्तमानमा दिशानिर्देश गर्नचाहिँ सक्दैन । क्रान्तिको नयाँ मोडेल नखोज्ने हो भने सबैको एक मात्र नियति–पतनमात्र हो । एमाले र एकीकृत माओवादीको पतन मेरो भनाइको निकट दृष्टान्त हो । अब ड्यास माओवादी पनि त्यही कालातीत भइसकेको मोडेल बेचेर राजनीति गर्न उद्धत छ । यसबाट सिसिफसको वियोगान्तबाहेक हात पर्ने अरू कुरा हुँदैनन् ।
नेकपा एमालेमा पार्टी फुटाउने अगुवा हुनुहुन्थ्यो । पछि ‘मैले गल्ती गरेँ’ भनेर आत्मसर्मपण गर्नुभयो, तपाईंलाई अस्थिर प्रकृतिको मानिस भन्छन् नि !
– हो, त्यस्तो अस्थिरता मबाट प्रकट भएको थियो । म मालेबाट एमालेमा फर्किनुमा मेरो जति दोष छ, सबभन्दा ठूलो भाग मेरै कमजोरीमा पर्छ । तर, अरू केही वस्तुगत कारण पनि थिए । मेरा केही अनन्य मित्रहरूले धोका दिएपछि म त्यो नरकयात्राको अनुगामी भएको थिएँ तर पछि मैले आफैँलाई ठीक ठाउँमा ल्याउन संघर्ष पनि गरेँ । अहिले म आफैँ आफ्नो कमजोरीप्रति निर्मम भएको छु ।
राजनीतिक मान्यतासग गासिएका झगडालाई तपाईं साहित्यिक लेखनमा जोड्नुहुन्छ । त्यसले समाजलाई के फाइदा ?
– लेखनमा मेले कुनै व्यक्तिको इज्जत र प्रतिष्ठालाई खण्डित वा भत्र्सना गर्ने काम गरेको छैन । तर, पात्रहरू टिप्दा कतिपय जीवित मानिसका बिम्बचाहिँ परेका छन् । साहित्य आखिर समाज र यसमा रहेका मानिसको वृत्तान्त नै हो । यो समस्या गाब्रियल गार्सिया मार्खेजले पनि सामना गरेका थिए । उनी आफ्ना आमाका साथीहरूबारे लेख्न चाहन्थे । तर, यसका निम्ति उनलाई १७ वर्ष कुर्नु परेको थियो । ‘क्रोनिकल अफ डेथ फर्टोल्ड’ उपन्यास लेख्दा उनलाई यस्तो समस्या परेको थियो । उनले त्यो कृति तब लेखे जब उनको आमाका साथीहरू दिवंगत भइसकेका थिए ।
एकपटक तपाईंले ‘प्रज्ञा प्रतिष्ठानमा साहित्यकार जानु भनेको एउटा लगाममा बाधिनु हो, प्रज्ञा नै चाहिदैन’ भन्नुभएको थियो । प्रज्ञामा साहित्यकार नगए को गइरहेका छन् त ? तपाईंलाईं कुलपतिको अफर आयो भने के गर्नुहुन्छ ?
– मैले भनेको कुरा अलि अर्कै हो । मैले केही वर्षअगाडि एउटा दैनिक पत्रिकामा अन्तर्वार्ता दिँदै भनेको थिएँ, ‘प्रज्ञा प्रतिष्ठान मेरा निम्ति असान्दर्भिक छ । त्यसले नेपाली साहित्यको श्रीवृद्धिमा खासै योगदान दिने काम गरेको छैन तर मैले त्यो संस्था चाहिँदैन भन्दैमा हुन्छ र ? अरूलाई चाहिन सक्छ नि !
कुलपतिको अफर मलाई आयो भने नेपाल अर्कै युगमा प्रवेश ग¥यो भन्ने बुझ्नुपर्छ । राजनीतिक भागबन्डाको नांगो अभ्यास भइरहेको देशमा मजस्तो पार्टीबाहिरको मान्छेलाई कुलपति बनाउने कुरा सोम शर्माको पिताको कथाजस्तै हो ।
तपाईंलाई एक वर्षसम्म कुनै मानवविहीन ठाउमा कैद गरियो र त्यस अवधिमा अनुभूतिजन्य कृति लेख्न लगाइयो भने तपाईंको कृति कस्तो होला ?
– जहाँ रहे पनि स्रष्टाको आत्मबोध नष्ट हुँदैन । समयसँग संवाद निरन्तर रहिरहन्छ । स्मृतिको सर्वोत्तम उपयोगद्वारा नै कलाको सिर्जना हुने हो । त्यसैले मलाई जहाँ लगे पनि फरक पर्दैन । म बिहानीपख चराहरूले नयाँ दिनलाई सुन्दर पार्न चिरबिर चिरबिर गरेझैँ आफ्नो कर्ममा लागिरहनेछु ।

प्रतिक्रिया