मलेसियाका नेपालीले दिए राहत

Karanकाठमाडौं । भूकम्पबाट बढी प्रभावित जिल्लामध्येको एक नुवाकोटको देउराली गाविसमा रहेको १, २ र ३ वडाका पीडित स्थानीयलाई सोमबार राहत वितरण गरिएको छ । फिल्म वितरक, निर्माता तथा अभिनेता करण श्रेष्ठ ‘क्रेजी’ को नेतृत्वमा रहेको टोलीले उक्त वडामा राहत वितरण गरेको हो ।
करणका अनुसार नेप्लिज विजनेश एसोसिएसन केलाङ मलेसियाले उपलब्ध गराएको राहत उक्त स्थानमा वितरण गरिएको हो । राहत वितरणमा एसोसिएसनका अध्यक्ष राजन सुब्बा, कोषाध्यक्ष जयराम तिमल्सिना, सदस्य दिनेश थापा, सदस्य बमबहादर लामा, अभिनेता अर्जुन कार्कीलगायतका कलाकारको सहभागिता थियो ।
कार्यक्रममा एसोसिएसनका अध्यक्ष सुब्बाले भूकम्पपीडितको सहयोगार्थ आफू मलेसियाबाट आएको बताउँदै आगामी दिनमा पनि पीडितका लागि विभिन्न ठाउँमा पुगेर सहयोग उपलब्ध गर्ने प्रतिबद्धता जनाए । त्यहाँ रहेका चार सय घरधुरीका पीडितलाई चामल, दाल, तेल, नुनलगायतका खाद्य सामग्री वितरण गरिएको थियो ।
अभिनेता करणका अनुसार नुवाकोट सदरमुकाम विदुरबाट निकै टाढा रहेको उक्त स्थानमा राहत लिएर पुग्दा स्थानीय बासिन्दा निकै खुसी भएका थिए । ‘नुवाकोटजस्तै अन्य पीडित जिल्लामा पनि राहत लैजाने योजना बनाइरहेका छौँ,’ करणले भने । (सौस)

प्रतिक्रिया