भूकम्पले अग्ला घर ढल्ने र होचा अडिने सिद्धान्त छैन

Itum_baha_skyscraper_kathmaजानेर होस् वा नजानेर होस्, असल नियतले होस् वा गलत नियतले होस्, तर भूकम्पले अब अग्ला घर बनाउनु हुँदैन भन्ने पाठ सिकाएको छ भन्ने बहस कतै–कतै सुनिन्छ । एस्ता बहसले हामीलाई ठीक ठाउँमा पुर्‍याउँदैन र यो सत्य पनि होइन ।
भूकम्पले अग्ला घर ढल्ने र होचा घर अडिने भन्ने न सिद्धान्त हुन्छ न त त्यो वैज्ञानिक कुरा नै हो । नेपालमा अग्ला घर ढलेको दृश्य देखिनुको कारण घर होइन, यसको गलत डिजाइन जिम्मेवार छ ।
प्रश्न उठ्छन्– ती घर त झन् बडेमानका इन्जिनियरले डिजाइन गरेका हुन्, किन ढले ? तर, अझ अगाडि सोच्नुस्, नेपालमा प्रायः अग्ला घर व्यापारिक प्रयोजनका छन् । व्यक्तिगत भए पनि ती व्यापारिक प्रयोजनका निम्ति बनाइएको छ । त्यसकारण जसको घर कमजोर भएर ढल्यो भने न घरधनी जिम्मेवार बन्नु पर्छ, न डिजाइन गर्ने इन्जिनियर नै । स्वीकृति गर्ने सरकारी प्राविधिकको त कुरा गरिसाध्य छैन, नियुक्ति लिएको भोलिपल्टदेखि हाकिमको झिंगा धपाउने र नेताको भकुन्डो हुनेभन्दा बढी तिनको कुनै जवाफदेहिता हुँदैन । यस्तो अवस्थामा कम लगानी गरेर घर बलियो बनाउनुको साटो सयाँ मान्छेको जीवन दाउमा राखेर व्यापार हुन्छ भने पैसो कमाउन्जेल ठीकै छ, लडेको दिन मर्ला्न अरू ! घर बनाउनेले दाम झारिसकेको हुन्छ । अनि अग्ला घर नलडेर साना घर लड्छन् ?
अपवादबाहेक घर बनाउने बेलामा अड्कलेको पैसाले दुई/तीन तला बनाउँछन् । जब त्यसले कमाउने रहेछ भन्ने भएपछि त्यही तीन तलाको निम्ति बनाएको घरमा धमाधम तला थपेर १० तला पु¥याउँछन् । अब त्यो अग्लो घर नलडे होचो घर लड्छ ? मैले हेरेको केही अग्ला घरको भिडियो फुटेजमा के देखेँ भने भूकम्पको बेला लगभग भुइँ तलाका पिलरहरू (कोलम) क्रस भएर सिंगो घर ढलेको छ । पिलरहरू अन्डर डिजाइनका छन्, कसरी थेगिन्छ अग्ला घर यसरी ?
अब सुधार्ने हो भने अग्ला घर नबनाउ भन्ने होइन, कम्तिमा नगरपालिकाभित्र पक्की घर बनाउँदा संरचना डिजाइनबिना बनाउन नपाइने नियम बनाउनुपर्छ । यतिले पुग्दैन, डिजाइन गर्नेलाई जाँच लिएर लाइसेन्स दिने व्यवस्था गर्नुपर्छ । डिजाइन मापदण्डभित्रको अवस्थामा गलत डिजाइनको कारण घर लड्यो भने त्यही डिजाइन गर्ने प्राविधिकले सम्पूर्ण जिम्मा लिने कानुन बनाइनुपर्छ र कडाइका साथ लागु गरिनुपर्छ ।
अहिले सरकारी संयन्त्रमा नक्सा पास गर्ने भन्ने इन्जिनियर ती कोही पनि संरचना डिजाइनसँग सम्बन्धित इन्जिनियर छैनन्, तिनले डिजाइन ठीक भएको वा नभएको हेर्न पनि सक्दैनन् । सर्टिफाइड इन्जिनियरले सही छाप गरेको छ कि छैन वा अन्य जमिन प्रयोगसम्बन्धी मापदण्ड प्रयोग गरिएको छ कि छैन भन्नेसम्म मात्र तिनले हेर्ने र सबै प्रक्रिया पुगे सिधा स्वीकृत्ति दिने व्यवस्था गर्नुपर्छ ।
अग्ला घर लड्छन्, साना–साना बनाउ भनेर गलत ढंगले बहस गर्ने हो भने हाम्रो जमिनको महत्वपूर्ण हिस्सा घरले ओगट्नेछ । के होला ल्यान्ड युज प्राक्टिसको हाम्रो हालत ? जमिनमा खेती गर्ने कि एक÷र्दुइ तल्ला घरले भर्ने ? सही ढंगले नबनाएका घर एक तला पनि ढल्छन् भने सही ढंगले बनाएका घर २० तला पनि ढल्दैनन् । यो पक्का कुरा हो । कम से कम प्राविधिकहरूले चाहिँ अग्ला घर ढल्छन् भन्ने खालको प्राविधिक सिद्धान्तविपरीतका बहस नचलाएकै राम्रो !
– गुरु भट्टराई

प्रतिक्रिया