एनआरएनए थाइल्यान्डद्वारा ४२ लाख सहयोग

NRNA-NCC-Thailand-LOGOथाइल्यान्ड । गैरआवासीय नेपाली सङ्घ थाइल्यान्डले नेपालका भूकम्पपीडितलाई सहयोगस्वरुप पहिलो चरणमा ४२ लाखबराबरको सहयोग पठाएको छ ।

सङ्घले थाइल्यान्डमा भूकम्पपीडित राहत सङ्कलन समिति गठन गरी त्यहाँ रहेका नेपाली तथा थाई नागरिकबाट ४२ लाखबराबरको सहयोग जुटाएको हो ।

सङ्घका अध्यक्ष खगेन्द्रराज ढकालले दिएको जानकारीअनुसार यसअघि नै गैरआवासीय नेपाली सङ्घले भूकम्पपीडितको सहयोगार्थ अघि सारेको एक हजार घर निर्माण अभियानका लागि सङ्घको भूकम्पपीडित राहत कोषको खातामा ३० लाख जम्मा गरिदिएको छ ।

अध्यक्ष ढकालले खातामा ३० लाख जम्मा गर्नुका साथै नेपालका पीडितका लागि छ टन खाद्यान्नलगायतका राहत सामग्री थाई एयरवेजमार्फत नेपाल पठाएको जानकारी दिए ।

हप्तादिनअघि नै उक्त रकम जम्मा गरिएको र ती सामग्री नेपालमा पठाइएको हो । दोस्रो चरणका लागि पनि उक्त समितिले राहत सङ्कलन गरिरहेको र छिट्टै नै दोस्रो चरणको राहतबारे जानकारी दिइने अध्यक्ष ढकालले बताए ।

नेपाल पठाइएका ती राहत सामग्रीमा अत्यावश्यक औषधि, त्रिपाल, खाद्यान्न, बच्चाका लागि आवश्यक खानेकुरा, स्लिपिङ ब्यागलगायत रहेको सङ्घले जानकारी दिएको छ ।

एनआरएनए थाइल्यान्डका कार्यकारी सदस्य महेन्द्र श्रेष्ठको अध्यक्षतामा समिति गठन गरी राहत सङ्कलनको कामलाई निरन्तरता दिइएको अध्यक्ष ढकालले जानकारी दिए ।

थाइल्यान्डमा रहेका नेपालीहरुका स्थानीय विभिन्न सङ्घसंस्थाका साथै थाई नागरिकले पनि सो राहत कोषमा रकम तथा विभिन्न राहत सामग्री जम्मा गरिरहेका सो सङ्घले जानकारी दिएको छ ।

प्रतिक्रिया