भूकम्पको त्रासदी झेल्दै काभ्रेको चण्डनीमण्डन गाउँवासी

kavre_01काभ्रे जिल्लाको विकट गाविस चण्डनीमण्डन–९ का जनता यतिबेला टाउको ओत्ने ठाउँ र पेट भर्ने चिन्तामा छन् । गत वैशाख १२ गतेको महाभूकम्पको त्रासदी यो स्थानले पनि अनायासै व्यहोर्नु पर्‍यो । नेवारेटार बस्ने खिलबहादुर तमाङको १४ महिनाको काखे नातिलाई भूकम्पले लग्यो । उनी आफ्नो पीडा सुनाउँछन्, ‘मेरी श्रीमती नातिलाई काखमा खेलाउँदै थिई । एक्कासी जमिन हल्लियो । सबै भागाभाग गर्न थाले । ऊ पनि अतास्सिएर नातिसँगै भाग्न खोज्दा ढोकामा लडिछ । ढोकाले नाति र बजै दुवैलाई पुर्‍यो । केही समयपछि गाउँलेको सहयोगमा बुढीलाइ घाइते अवस्थामा निकाल्यौँ । नातिलाई टाउकोमा ढुंगाले लागेको रहेछ । तर, नाति सदाका लागि हामीलाई छोडेर गयो ।’
यतिबेला खिलबहादुरसँग न काखे नाति छ न बस्ने घर, न खाने अन्न । उनको परिवार बारीको पाटामा दिन काट्न बाध्य छ, यतिबेला । ‘घर पनि लग्यो । नाति पनि लग्यो । के गर्नु ? रोएर मात्र हुँदैन रहेछ,’ भक्कानिँदै उनले भने । नातिको हजुरबुबा भएकोमा दंग परेका खिलबहादुरलाई यतिबेला घरबास गुमाएकोमा भन्दा काखे नाति गुमाएकोमा बढी दुःख लागेको छ । खिलबहादुरको शरीरका मैला लुगाले उनको अवस्था दर्शाइरहेको थियो । फेर्न कपडा पनि छैन उनीसँग । त्यसैले धुलेमुले भएर झोक्राएका छन् । नयाँ मान्छे आए केही पाइएला कि भन्ने आश छ उनीहरूलाई । सँगै बेला–बेला झस्काउने भूकम्पको त्रास पनि ।
नेवारेटारका जनताका घरमा भएको केही अन्नपात घरले पुर्‍यो, लुगाफाटा सबै भग्नावशेषभित्र छन्, फेर्ने कपडा पनि छैन उनीहरूसँग । महिला र केटाकेटीलाई अझ बढी समस्या भएको छ, यतिबेला । झर्न आँटेको आँसुलाई नियन्त्रण गर्दै खिलबहादुर भन्छन्, ‘तोते बोल्ने नाति यही हातले गाड्नुप¥यो । जे गरे पनि सँगै जानु सकिँदैन रहेछ !’
घरबाहिर भएको केही मकै पिँधेर खान गाउँमा भएको एक मात्र मिल चल्दैन यतिबेला । भूकम्प आएयता बत्ती बल्दैन उनीहरूको गाउँमा । कोही भूकम्पले मरे, बाँकी खाना नपाएर मर्ने हो कि भन्ने चिन्ता छ, गाउँलेलाई । राहत बाँड्न आउनेले दिने राहत दुई/चार दिनको छाक टार्नबाहेक केही हुँदैन । सरकार छ, राहत दिन्छ भन्छन् तर कोही नआएको गाउँलेको भनाइ छ । ‘पाखुरा बजारेर आफ्नो मानो खाने हामी आज कसले देला र खाउँला भन्ने आशमा बस्न बाध्य भएका छौँ । के गर्ने ? भोकले हिजोको घरबार सम्झेर चित्त बुझाउँदैन रहेछ,’ श्रेष्ठ भन्छन् । यस्तो पीडा गाउँका सबैको छ । कसैले गाँस, बाससँगै परिवार गुमाएका छन् त कसैले गाँस र बास मात्र ।
नाति सम्झँदै आँसु बगाउनुबाहेक केही छैन यतिबेला तामाङको परिवारसँग । उनीहरू यतिबेला कसले राहत देला भन्ने प्रतिक्षामा बस्ने गरेका छन् । ‘श्रीमतीलाई धुलिखेल अस्पतालमा उपचार गराएर भर्खर ल्याएको छ । उनको थप उपचार गर्नुपर्छ भनेको छ । फेरि अस्पताल लान्छौँ,’ आँखाभरि आँसु बगाउँदै भने उनले । उनको गाँस, बास र परिवारको सदस्य गुमेको छ । तर, पनि बाँच्ने आश भने गुमेको छैन । जे गरेर भए पनि बाँकी परिवारलाई केही नभए हुन्थ्यो भन्ने छ उनको मनमा । त्यसैले त तामाङ भन्छन्, ‘हे दैव ! यस्तो विपत्ति शत्रुलाई पनि नपरोस् ।’
काभ्रेको नेवारटारका तीनजनाले भूकम्पमा ज्यान गुमाएका छन् । भक्तपुरको मध्यपुर थिमी नगरपालिका– १५ र १७ गठ्ठाघरका डेढ सयभन्दा बढी घरधुरी मिलेर बनेको नमुना बस्ती समाजले वितरण गरेको राहत लिन आएका १३ वर्षका विशाल लामाले भूकम्पमा आफूमाथिको दिदी गुमाए ।
‘शनिबारको दिन सबै परिवार मिलेर खाना खाँदै थियौँ । एक्कासी जमिन हल्लियो । खाँदा खाँदैको भात छोडेर सबैजना बाहिर भाग्न थाल्यौँ । सबैलाई ज्यान जोगाउने चिन्ता थियो । दिदीलाई ढोकाले किच्यो, पछि फर्केर हेर्दा दिदी त्यहीँ बितिछन् । यतिबेला हाम्रो घर भत्केको छ । हामी बारीमा बस्छौँ । खाना केही छैन । पटक–पटक आएको भूकम्पबाट आफूहरू कसरी बाँच्ने भन्ने चिन्ता मात्र छ,’ विशाल बताउँछन् । उनलाई बेला–बेला दिदी र आफू जन्मे हुर्केको घरको यादले छटपट्टी बनाउँछ । त्रसित मुद्रामा उनले भने, ‘त्यो कहाली लाग्दो दिन त म कहिल्यै पनि भुल्दिनँ ।’ वरपर ठूला स्वरमा मान्छे बोले वा केही हल्लिए पनि काँप्ने गरेको छ विशालको कलिलो मन । उनीसँगै उनका दौतरी पनि त्रसित भएर खुला आकाशमा बिताउँदै छन् पछिल्ला थुप्रै दिनदेखि आफ्ना दैनिकी ।
आफ्नी ७० वर्षकी हजुरआमा गुमाएकी मिरा श्रेष्ठलाई यतिबेला हजुरआमाको सम्झनाले बेलाबेला छटपटी बनाउँछ । भूकम्पले उनको बास मात्र लगेन, आफूले खेलेको र हुर्केको काख पनि लग्यो । भूकम्पले उनको घरका चारजना सदस्यलाई पुरेको थियो । ‘तीनजनालाई घाइते अवस्थामा गाउँलेले उद्धार गरे । हजुरआमा बितिन् । हामी बारीमा पाल हालेर बसेका छौँ । घरको केही जस्ता निकालेर बेरबार पारेर ओत लाग्दै छौँ । चार/पाँच घरको परिवार एउटै पालमा रात काट्ने गरेका छौँ,’ उनले भनिन् । मिरासँग मिल्दो दैनिकी यस गाविसका पाँच हजार जनसंख्याले भोगेका छन् । यतिबेला उनीहरूसँग राहत बोकेर को आउला भनेर कुर्नुबाहेक केही उपाय छैन । यही क्रम गाउँका सबैको दैनिकी बनेको छ ।
खाने र बस्ने मात्र समस्या भोगेका छैनन् यहाँका जनताले, वातावरणीय प्रदूषणको पनि उत्तिकै समस्या खेपेका छन् । गाउँको तलबाट भएर बग्ने इन्द्रावती नदीमा हिजोआज पानी मात्र बग्दैन, पानीसँगै बग्ने मान्छेका शव र जनावरको सिनोको दुर्गन्धले हैरान छन् यहाँका जनता । स्थानीय समाजसेवी गोकर्ण नेपाल भन्छन्, ‘जनाताको धेरै गाई, भँैसीसँगै कुखुरा मरे । आफ्नो ज्यान कसरी जोगाउँ भन्ने चिन्ता भएका बेला त्यसको व्यवस्थापनमा समस्या भयो । राम्रोसँग पुर्न पनि सकिएन ।’
नेपाल अगाडि भन्छन्, ‘हामीले स्थानीय रूपमा जनतालाई सचेत गराउने काम गर्‍यौँ । आ–आफ्नो खल्तीको पैसाले केही मास्क दियौँ । कैयाँ स्थानमा फिनेल हालेर दुर्गन्ध फैलनबाट रोक्ने प्रयास गर्‍याँ । स्वास्थ्यका बारेमा सचेत रहन सबैलाई सम्झाएका छौँ । इन्द्रावतीमा सिन्धुपाल्चोक र काभ्रेका पशुपक्षी एवं मान्छेका शव बगेर आउने गरेका छन् ।’
केही दिनअगाडि मात्र एउटा शव एक्ट्रावेटरले निकालेको उनले बताए । नेवारेटारका जनता ‘भूकम्पबाट त बाँचियो, अब खाना नपाएर मरिएला कि’ भन्ने चिन्तामा छन् । ‘घर छैन, खाना छैन, जो–जोसँग जे बाँचेको थियो बाँडेर खायौँ । अब घर पनि छैन सरकार पनि आएको छैन,’ ७४ वर्षका कृष्ण श्रेष्ठ भन्छन् ।
नेवारेटारका जनतालाई सामान्य अवस्थामा आफ्नो खेतीबालीले ६ महिना मात्र खाना पुग्थ्यो । बाँकी ६ महिना अन्यत्र गएर ज्याला मजदुरीको कमाइले पाल्थे आफ्ना परिवार । यतिबेला बलिया पाखुरा भएका आफन्त गुमाएका छन् धेरैले । बस्ने बास र खाने गाँसको जोहो कसरी मिलाउने भन्ने चिन्ता उनीहरूलाई छ । अहिले काम पाउने अवस्था पनि छैन । बारीको खुला पाटामा परिवार छोडेर हिँड्ने अवस्था पनि नरहेको गाउँलेको भनाइ छ । धाँजा परेका जमिन र भत्केको आफ्नो घर हेरेर बसेका छन् नेवारेटारका जनता । आफ्नो पुरानो दैनिकीमा फर्कन र त्रासलाई मेटाउन सरकारले समयमै पहल गर्नुपर्छ । समस्या नेवारेटारको मात्र होइन, धेरै नेपालीले भोगेका छन् । भोगिरहेका छन् । सबैको व्यवस्थापन गर्ने र विश्वासको वातावरण बनाउने जिम्मा सरकारको हो ।
काभ्रेबाट फर्केर चमिना भट्टराई

प्रतिक्रिया