नान्सद्वारा जस्तापाता वितरण

काठमाडौं, २ जेठ । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा रहेका नेपालीको छाता सङ्गठन नान्सले नेपालका भूकम्पपीडित तीन जिल्लामा राहत सामग्री वितरण गरेको छ ।

नान्सले गत बिहीबार काभ्रेपलाञ्चोकको देउपुर नयाँगाउँ गाविस–५ मा ६७ घरलाई पुग्ने गरी प्रतिघर १० पाताका दरले जस्तापाता दिएको तथा सिन्धुपाल्चोकको फुल्पिङ गाविस–४ र ५ का २०० घरपरिवारलाई दाल, चामल, नुन, पाललगायत सामग्री वितरण गरेको नान्सका अध्यक्ष उत्तम कार्कीले जानकारी दिए ।

सन्नी सगरमाथा समाज र एनजिसीको सहयोगमा नान्सले औषधिलगायत सामग्री पनि वितरण गरेको छ । अहिलेसम्म झन्डै ५०० घरपरिवारलाई राहत सामग्री वितरण गरिएकोे छ ।

अमेरिकामा बसोबास गर्दै आएका ती नेपालीले नुवाकोट, गोरखा, सोलुखुम्बु, भोजपुरलगायत जिल्लामा पनि राहत सामग्री लैजाने तयारी गरेका छन् ।

टोलीले कीर्तिपुरमा रहेको बेबिलाइफ होममा रहेका एचआइभी सङ्क्रमित २३ बालबालिकाका लागि पनि खाद्य सामग्री दिएको सुन्नी सगरमाथा सामाजका संस्थापक गङ्गालाल श्रेष्ठले बताए ।

प्रतिक्रिया