सर, गुरु र गुरुजी

Jayadev-Gautam‘मलाई ‘गुरु’ होइन, ‘सर’ भन्ने गर्नुस् । मलाई ‘सर’ भनेको नै मन पर्छ,’ उहाँ सोझै हामीसित भन्ने गर्नुहुन्थ्यो ।

उहाँ शिक्षण पेशामा हुनुहुन्थ्यो र नेपाली विषय पढाउनुहुन्थ्यो । शरीर पातलो थियो । शीरमा ढाका टोपी सधैँ शोभायमान हुन्थ्यो । पावरदार चश्मा विशिष्ट पहिचान थियो । प्रायः देब्रे हातमा भाषा वा साहित्यसम्बन्धी केही पुस्तक हुन्थे र अक्सर दाहिने हातमा धुवाँ निस्कँदै गरिरहेको चुरोट । अनौठो मान्न सकिने उहाँको त्यही विशेषता थियो– उहाँ नेपाली विषयको शिक्षक आफूलाई गुरु भनेको मन पराउनु हुन्नथ्यो ।
‘किन त्यस्तो होला ?’ हाम्रो सहज जिज्ञासा हुने नै भयो ।
उहाँ, हीरामणि शर्मा पौडेल, म क्याम्पस पढ्ने ताका नेपाली विषय पढाउने उपप्राध्यापक हुनुहुन्थ्यो । उहाँ पहिले लामो समयसम्म त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा हुनुहुन्थ्यो । त्यहीँ बस्दा उहाँले बोटे र कुमाल भाषासम्बन्धी दुईवटा अनुसन्धानमूलन पुस्तक पनि प्रकाशित गराइसक्नुभएको थियो । पछि उहाँ राजधानीमै सरुवा हुनुभएको थियो । अध्यापन उहाँको जीवन वृत्ति थियो र समालोचना एवं भाषिक अनुसन्धानमूलक लेखन उहाँका प्रिय रुचि थिए । उहाँमा त्यही एउटा लत विकसित भएको थियो– निरन्तर चुरोटको धुवाँ उडाइरहनुपर्ने । अनि एक दिन त्यही लतले उहाँलाई असमयमै कालको गाँस बनायो, उहाँ क्यान्सर रोगले थला परेर लाइलाज अवस्थामा पुग्नुभयो र त्यति शीघ्र इच्छा नहुँदा नहुँदै पनि यो संसार छाड्न बाध्य हुनुभयो । हरे ! विधिको यो लेखा, कसले के भन्न सक्छ र ?
उहाँ किन आफूलाई ‘गुरु’ नभनेर ‘सर’ भन्न रुचाउनुहुन्थ्यो ? त्यसको बलियो कारण पनि उहाँसित थियो । उहाँँले नेपाली भाषामा एमए गर्नुभएको थियो । तर, सायद उहाँसित संस्कृतको परम्परागत ‘गुरुकुलीय शिक्षा पद्धति’, वा ‘ऋषिकुल शिक्षा’ अथवा ‘देवकुल शिक्षा’ पद्धतिहरूको सैद्धान्तिक भए पनि यथेष्ट अनुभवजन्य ज्ञान भने थिएन । त्यसैले सायद, उहाँ भन्ने गर्नुहुन्थ्यो, ‘अचेल ‘गुरु’ भन्ने शब्द एकदमै सस्तो भएको छ, जसले जसलाई पनि गुरु भनेर बोलाउन सक्छ । अरू त अरू, बस र ट्रकका चालक पनि गुरु र गुरुजी भइसकेका छन् । बस वा ट्रक चलाउने पनि गुरु, हामी आजीवन खटेर विद्यादान गर्ने पनि गुरु ! अनि कसरी यो कुरा एउटै हुन सक्छ ? यसबाहेक पनि, अरू–अरू विषय पढाउने चाहिँ ‘सर र म्याम’, अनि हामी नेपाली विषय पढाउने मात्र चाहिँ ‘गुरु र गुरुमा ?’
उहाँ शरीरको अन्तरकुन्तरबाटै आजित भएर बोलेझैँ भान हुन्थ्यो । यसो भनिरहँदा उहाँ आक्रोशको मुद्रामा देखिनुहुन्थ्यो, कहिलेकाहीँ वादविवादमै ओर्लन भ्याउनुहुन्थ्यो । तर, धन्य कहिल्यै रौद्र मुद्रामा भने प्रकट हुनुभएन ।
उहाँले भने जस्तै के ‘गुरु’ शब्द यति दीनहीन र मूल्यवत्ताहीन भइसकेको हो त ? मेरो मनमस्तिष्कमा चेतनाको घन्टी निरन्तर बजिरहन्थ्यो र मलाई लागिरहन्थ्यो– के समयको प्रवाहसँगै ‘गुरु’ शब्दको अर्थ पनि पृथ्वी घुमेझैँ घुम्न थालेको हो त ?
सामाजिक जीवनका पाटा नियाल्दा प्रस्ट देखिने तथ्य हो– शिक्षक, चालक र माझी एकसमान हुन्छन् । शिक्षकले सयौँ र हजारौँ शिक्षार्थीलाई विद्याको बाटो हुँदै जीवन–डुंगा तारिदिने बलियो सहाराको रूपमा काम गर्छन्, चालक र माझीले चिनारु अनचिनारु अनगिन्ती यात्रुलाई मानव जीवनभन्दा पनि लामा–लामा बाटा र अथाह जलप्रवाहले भरिएका नदी तारिदिन्छन् । जीवनको नदी तर्नेहरू वा प्राकृतिक नदी तर्नेहरू कहाँबाट कहाँ पुगिसक्छन्, तर शिक्षक, चालक र माझीहरू अक्सर उही आ–आफ्नै डुंगामा हुन्छन्– एकजना आफ्नो विद्यालयरूपी डुंगामा त अर्काचाहिँ वाहनरूपी फलामे डुंगामा वा नदीको तटीय क्षेत्रमा खडा गरिराखिएको काठको डुंगामा ।
माझीलाई, बोट चलाउने हुँदा, बोटे पनि भन्छन् । चालकलाई कोही ड्राइभर भनी बोलाउँछन त कोही
‘पाइलट’ र धेरैजसो त गुरु वा गुरुजी । शिक्षकलाई एक नामले होइन, अनेक नामले बोलाइन्छ र अनेक सम्बोधनले पुकारिन्छ ।
अंग्रेजीमा टिचर, प्रोफेसर, मिस, सर, म्याडम वा म्याम भने पुग्यो । हिन्दीमा पनि बहुधा टिचरजी वा मास्टरजी भने पुग्ने गरेको छ । चिनियाँ, फ्रेन्च, स्पेनिस, जर्मन र अरू–अरू भाषामा पनि यस्तै अनेक नाम हुँदा हुन् शिक्षकलाई सम्बोधन गर्ने । नेपालमा सर, मिस र म्याम भनेको त सुनिन्छ तर टिचर, टिचरजी या मास्टरजी भन्ने चलन उस्तो देखिँदैन । शिक्षकजी भनेको त झनै कहीँ कतै सुनिँदैन । अ“, गुरु वा गुरुमा वा गुरुजी भन्ने त चलन चल्ती नै छ ।
त्यसो त समय आफैँमा महान् शिक्षक हो, असल गुरु हो । उसलाई हामी कुनै पृथक नामले सम्बोधन गर्दैनौँ । सायद सिक्ने र सिकाउनेहरूको उस्तो नाम विशेष हुँदैन– फगत एउटा साइनो हुन्छ, गाँस्न सकेमा । गुरु शब्द आफैँमा ओजपूर्ण र गम्भीर पनि छ । त्यसैले कुनै पनि खास महत्वको वा संवेदनशील प्रसंग उठ्दा त्यसलाई ‘गुरु–गम्भीर’ भन्ने गरिन्छ । यसको अर्थ ‘गुरु जस्तो गम्भीर’ भन्ने पनि हुन्छ, जसको अर्थ हुन्छ– गुरु भन्ने पद आफँैमा गम्भीर, दायित्वले भरिपूर्ण, जिम्मेवारीले भरिएको र कत्र्तव्यभावले सराबोर छ । मात्र दुई अक्षर ‘गु’ र ‘रु’ ले बनेको भए पनि यसको सर्वव्यापकता, सर्वमान्यता र सर्वस्वीकार्यता अतुलनीय छ, संस्तुत्य छ ।
अतीतमा, शिक्षा–दिक्षाको थालनीका दिनमा र त्यसपछि पनि धेरै समयसम्म ‘गुरु’ वा ‘आचार्य’ भन्ने शब्दमा कति ओज थियो ! कति महिमामण्डित थियो यो शब्द ! कति चमक थियो ! कति मान र सम्मान थियो ! खास–खास व्यक्तित्वका लागि आरक्षित गरिएर राखेको जस्तो । तर, समयक्रममा जसरी शिक्षाको विस्तार हुँदै गयो र शिक्षाको स्वरूप सेवाभन्दा पनि व्यवसायिक र संस्थागत बन्दै गयो त्यससँगै ‘गुरु’ वा ‘आचार्य’ शब्दमा विगतको त्यो महिमा र त्यो गरिमा रहेन । ती सबैलाई अंग्रेजीको एउटै शब्द ‘सर’ वा ‘मिस’ (अथवा म्याडम’) ले सहजै विस्थापित गरिदियो । अझ विस्थापित गर्दै जाने क्रम तीव्र हुँदै छ ।
शिक्षा मानिसको जन्मसिद्ध मौलिक अधिकार हो । यथोचित् शिक्षाले नै उसमा बुद्धिको समुचित विकास हुन्छ, स्वतन्त्र चिन्तन–मनन गर्ने शक्ति विकसित हुन्छ । त्यस्तो शिक्षाको ज्योति फैलाउनेहरू शिक्षक हुन् । शिक्षाकै अर्को नाम विद्या हो । शिक्षाको ज्योति फैलाएर गाउ“, समाज र राष्ट्रलाई आलोकित गर्ने उनै शिक्षक शिक्षिका हुन् । शिक्षकहरू अक्सर सौम्य, सरल र विद्यानिष्ठ हुन्छन् (यस्तो आमधारणा हो, सबै सहमत हुन पनि सक्छन् र नहुन पनि) । उनीहरूमा शिष्य–शिष्या वात्सल्य हुन्छ र हजारौँ शिष्य–शिष्यालाई विद्यामृत पिलाएर पनि उनीहरू विद्या–परम्परालाई अगाडि बढाइरहनुपर्ने कुरामा कहिल्यै थाक्दैनन्, (विद्यादानमा सधैँ लागिरहन्छन् । बरू जीवन अनित्य छ तर, शिक्षा (र, शिक्षादान पनि) नित्य, शाश्वत र सार्वभौम छ ।
ती मानिस जो विद्यादान गर्छन्, उनीहरूको जहिले जति प्रशंसा गरे पनि कमै हुन्छ । यद्यपि, असल विद्यार्थी नै पछि गएर असल शिक्षक–शिक्षिका बन्छ भन्ने केही छैन । धेरै दृष्टान्त छन् जसले असल विद्यार्थी नै कालान्तरमा असल शिक्षक बनेको भन्ने सकारात्मक सन्देश दिँदैनन्– तर, सम्भवतः धेरैजसो शिक्षकचाहिँ निश्चय पनि असल विद्यार्थी रहेकै हुन्छन्, हुनुपर्छ । आखिर त्यसै त भनिएको छैन नि– सिक्ने र सिकाउने (यस मानेमा पढ्ने र पढाउने) प्रक्रिया जीवनमा कहिल्यै टुंगिँदैन ।
त्यसकारण विद्यादान गर्नेहरू असल र महान् हुन् । उनीहरू विद्या सिक्न आउनेहरूलाई रुचाउँछन्, सकेको सिकाउँछन् र असल नागरिक बन्न एवं सफल जीवनयापन गर्न केही भए पनि सिकायौँ भनेर सन्तुष्टि लिन्छन् । यिनै शिक्षक शिक्षिका नै त हुन् जसले एक पुस्ताले प्राप्त गरेको ज्ञान अर्को पुस्तालाई हस्तान्तरण गरिदिन्छन्, एक पुस्ताबाट अर्को पुस्तामा ‘पास’ गर्छन् । के हुँदो हो यदि यस्ता शिक्षक–शिक्षिका वा गुरु–गुरुमा नभएको भए ? मानिसले जसले जे जसरी सक्छ, आ–आफैँ सिक्नुपर्ने हुन्थ्यो । यदाकदा दुर्लभ प्रतिभाले त धेरै सिक्न सक्थे होलान्, तर संसार अर्कै हुन्थ्यो होला । परिवर्तित हुन्थ्यो होला । किनभने अघिल्लो पुस्ताले हासिल गरेका ज्ञान, सीप, दक्षता, आदर्श, विचार आदि सबै कुराबाट मानवता वञ्चित हुन पुग्थ्यो होला । सम्भवतः त्यसैले दुनियाँमा अहिले जति शिक्षण पेसामा मानिस संलग्न छन् अन्य कुनै एउटै पेसामा यति व्यक्ति छैनन् ।
शिक्षा र अशिक्षा अनि ज्ञान र अज्ञान एक–अर्काका वैरी हुन्, जसरी घाम र छाया अनि अँध्यारो र उज्यालो । अँध्यारो भनेकै अज्ञानता हो जुन डरलाग्दो र खतरनाक हुन्छ तर ज्ञानको वृद्धिसँगै यो हराउँदै जान्छ– उज्यालो देखेपछि अँध्यारो भागे जस्तै । त्यसैले त भनिएको होला– अँध्यारोबाट उज्यालोतिर लैजाऊ … तमसोर्मा ज्योतिर्गमय ।
नोबेल पुरस्कार विजेता भारतीय बंगाली साहित्यकार रविन्द्रनाथ टैगोरले लेखेका छन्– ताराहरूले भने, हामी प्रकाश दिन्छौँ । अन्धकार हट्छ वा हट्दैन, त्यो भने हामीलाई थाहा छैन । हाम्रा गुरु–गुरुमाहरू अथवा मिस–म्याम–सरहरू पनि यस्तै हुन् । उनीहरूले हामीलाई शिक्षा दिँदा कसैलाई काखा र कसैलाई पाखा नगरी समान तवरले शिक्षा दिन्छन् । आफूभन्दा धेरै असल, आफूूभन्दा धेरै ज्ञानी र आफूभन्दा धेरै प्रभावशाली बनाउन प्रयास गर्छन् । कुन शिष्य र शिष्याले के–कसरी त्यो शिक्षा ग्रहण गर्छन् भन्ने त स्वयं उनीहरूमाथि र उनीहरूकै उत्सुकता, क्षमता र परिश्रममा भर पर्छ । गुरु÷गुरुमाहरूले प्रकाश छर्छन्, त्यस आधारमा जीवन अ“ध्यारो हटाउन दीप प्रज्वलित गर्ने त स्वयं शिष्य–शिष्या नै हुन् ।
सायद त्यसैले भनिएको होला– ईश्वर र भक्तपछिको दोस्रो सर्वाधिक पवित्र सम्बन्ध गुरु÷गुरुमा र शिष्य÷शिष्याको हुन्छ । यथा–
गुरुब्र्रह्मा, गुरुर्विष्णुः, गुरुदेव महेश्वरः ।
गुरु साक्षात् परंब्रह्म, तस्मै श्री गुरुवे नमः ।।
‘गुरु’ भन्ने शब्द कति ओजपूर्ण छ भन्ने त ‘गुरु–गम्भीर’, ‘गुरुत्तर दायित्व’ वा ‘गुरुत्वाकर्षण’ पनि भन्ने गरिएबाटै थाहा पाउन सकिन्छ । आखिर चालकहरू पनि यस्तै गम्भीर प्रकृतिको उत्तरदायित्व वहन गरिरहेका हुन्छन्– कतै बहुमूल्य मालसामानको ढुवानी गरिरहेका हुन्छन् त कतै सयाँै मानिसलाई यता र उता गराइरहेका हुन्छन् । तपाईं यात्रामा हुनुहन्छ भने अरू दर्जनौँ यात्रुसँगै तपाईंको आयुरेखा चालकले कुनै पनि क्षण केरमेट गरिदिन सक्छ । चालकको दायित्व त्यति गम्भीर हुन्छ । हतार भइरहेका बेला अथवा कुनै अत्यावश्यक काम परेको बेला चालकले ठीक समयमा सकुशल ठीक ठाउँमा ल्याइपु¥याइदियो भने तपाईं स्वतः भन्नुहुन्छ, ‘गुरुजी, धेरैधेरै धन्यवाद !’ (यसरी भन्दा त्यो अनादर वा हेय भएर होइन, पूर्ण कृतज्ञ भावले भरिएको उद्गार हुन्छ) ।
तसर्थ पनि मलाई लाग्छ ‘गुरु’ भन्ने शब्द हेय होइन, हुन पनि सक्दैन । ‘गुरु’ को मानमर्दन पनि हुन सक्दैन । गुरु भनेको सबैलाई स्नेह गर्ने, समानताको महान् पाठ पढाउने र सद्भावको सन्देश प्रवाहित गर्ने व्यक्ति हुन् ।
‘गुरु’ अर्थात् जो बढी जान्ने छ र जसले अरूलाई केही सिकाउन वा डो¥याउन वा सहयोग पु¥याउन सक्छ । सिक्न र जान्न सक्ने हो भने जीवनमा जो पनि यस्तो गुरु हुन सक्छ– समाजमा, शिक्षामा, खेलकुदमा, मनोरञ्जनमा अर्थात् हरेक क्षेत्रमा । मन मिल्ने साथी पनि गुरु हुन सक्छन् । प्रकृति, वनस्पति वा जनावर, आफैँ पनि गुरु बनेर उपस्थित हुन सक्छन् । सकारात्मक वा नकारात्मक कसरी के–कति ग्रहण गर्ने हो भन्ने चाहिँ हामी आफँैमा निर्भर रहन्छ ।
‘सर’ अंग्रेजी भयो, त्यसमा सम्मानसूचकता बढी झल्किन्छ । ‘गुरु’ वा ‘गुरुमा’ स्नेहिल छ र अपनत्वपूर्ण छ । ‘गुरुजी’ आदरार्थी छ, सम्मानार्थी छ । त्यसो त अब ‘गुरु’ शब्द अंग्रेजी भाषाले पनि अपनाइसकेको छ, जहाँ धेरै जान्ने र बुझ्ने मानिसलाई ‘गुरु’ (र पण्डित पनि) भन्न थालिसकिएको छ । त्यसकारण समान काम गर्ने मानिसलाई जे भनेर बोलाए पनि केही फरक पर्दैन अर्थात् उही पुरानै उक्तिमा, शेक्सपियरको उद्गार– गुलाफलाई अन्य कुनै नामले बोलाउँदा के उसको सुन्दरतामा कुनै कमी आउँछ र ? त्यसैले, ‘सर’ लाई गुरु भनेर बोलाए पनि अथवा ‘गुरु’लाई ‘सर’ भनेर बोलाए पनि उनीहरूको व्यक्तित्व वा सम्मानमा कुनै कमी आउँछ होला र ? तर्कनाहरूको जालो बुन्ने हो भने भन्न सकिन्छ– विगत अज्ञात समयदेखि ‘गुरु पूर्णिमा’ मनाइँदै आएको अनुभव छ, तर ‘सर पूर्णिमा’ मनाएको त, कुन्नि ।
हुँदैन बिर्सन पनि– गुलाफमा काँढा पनि हुन्छन् । सबै ‘सर’ ‘म्याम’ वा ‘गुरु’ वा ‘गुरुजी’ हरू एकसमान हुँदैनन् । लोकभाकामा गुञ्जिने स्वरलहरी… ‘लान्छ क्यारे घुमाउन झिल्के ड्राइभरले…’ भनिए जस्तै उनीहरूमध्ये कतिले गैर–पेसागत, अमर्यादित र भत्र्सनायोग्य काम गरेका उदाहरण पनि बग्रेल्ती पाइन्छन् । सायद उहाँ हीरामणि ‘सर’ लाई यी सब कुराको राम्रो हेक्का थियो, उहाँ त्यस्ता विशिष्ट ‘झिल्के गुरुहरू’ को कोटिमा पर्नु हुन्नथ्यो । त्यसैले उहाँ हामीसित आफूलाई ‘गुरु’ नभन्न जोडदार आग्रह गर्नुहुन्थ्यो । यस्तोमा ‘सर’ नभएर ‘गुरु’ वा ‘गुरुजी’ नै निरन्तर सुनिरहनु पर्दा र त्यसरी नै सम्बोधित भइरहनु पर्दा के हुन्थ्यो होला ? उहाँ हीरामणि ‘सर’ मा पर्याप्त सहनशीलता र धैर्यता पनि थियो, किनभने उहाँ अक्सर हामीसितको बहसमा दार्शनिक कार्लमाक्र्सको यो उक्ति दोहो¥याउने गर्नुहुन्थ्यो– तिमी आफ्नो बाटो लाग्दै गर, जसले जे भन्छ भन्न देऊ ।
जति–जति बेला ती नेपाली विषय पढाउने ‘सर’ को सम्झना आउँछ, मलाई लाग्छ, उहाँको जीवनानुभवले हामीलाई भनिरहेछ, सबैभन्दा महत्वपूर्ण हो– एकाग्रता, लक्ष्यमा पुग्ने दत्तचित्तता र लक्ष्यको प्राप्तिप्रतिको तन्मयता । अन्यथा, हावा हुन्डरीहरू त जीवनमा सधैँ आइरहन्छन् र गइरहन्छन् पनि । कतिपय आग्रह पूरा नहुन सक्छन् कति आग्रह कालान्तरमा पूर्वाग्रहमा फेरिन सक्छन् तर एक्लै भए पनि हिँड्नु त छँदैछ नि !
त्यसैले मलाई भन्न मन लागिरहन्छ– जाम्–जाम् गुरुजी जीवनको त्यो चौतारीमा, जहाँ आग्रह र पूर्वाग्रहहरू शेष रहँदैनन् अनि जहाँ मानव र मानवताले सहज मुस्कान छर्न पाउने स्वतन्त्र एवं निर्बन्ध परिवेश हुन्छ । मलाई गुरुहरूको शाश्वत उपस्थिति मन पर्छ ।

प्रतिक्रिया