चिनियाँ चिकित्सकद्वारा तालिम

काठमाडौं, २ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रलयकारी भूकम्पका कारण हुनसक्ने महामारी रोक्न प्रभावित जिल्लाका स्वास्थ्यकर्मीलाई तालिम दिएको छ ।

मन्त्रालयले सम्भावित महामारी रोक्न चेतनामूलक कार्यक्रम गरिरहेको भए पनि नागरिक सचेतनामात्र अपर्याप्त हुने भएकाले प्रभावित जिल्लाका स्वास्थ्यकर्मीलाई विशेष तालिम दिन लागेको जनाएको छ । महामारी रोक्न विभिन्न सञ्चारमाध्यमबाट स्वास्थ्य सन्देश र शैक्षिक सामग्री प्रभावित जिल्लामा निरन्तर वितरण गरिएको छ ।
विदेशी विशेषज्ञ चिकित्सकद्वारा महामारी रोक्न आवश्यक सीप र दक्षता अभिवृद्धिका लागि स्वास्थ्यकर्मीलाई तालिम दिइरहेको जनाउँदै मन्त्रालयले ठूलो विपत्पछि फैलनसक्ने महामारी कसरी सामना गर्ने भन्ने तालिमको विषयवस्तु भएको उल्लेख गरेको छ । विपत्पछि फैलन सक्ने महामारी सामना गर्न आवश्यक तयारी नगरेको भन्दै सरकारको आलोचना भइरहेका समय स्वास्थ्य मन्त्रालयले यो कार्यक्रम सुरु गरेको हो ।
नेपाल र चीनको संयुक्त आयोजनामा सञ्चालन भइरहेको तालिममा नेपाली विशेषज्ञ उद्धार डाक्टर बाबुराम मरासिनी, गीता शाक्य र खेमबहादुर कार्कीका साथै चिनियाँ विशेषज्ञ चिकित्सक लिन लु तथा लि जोङ माओले प्रशिक्षण दिइरहेको मन्त्रालयले जनाएको छ । विभिन्न चरणमा हुने यो तालिममा प्रभावित जिल्लाका सबै स्वास्थ्यकर्मीलाई अनिवार्य सहभागी गराइने मन्त्रालयले जनाएको छ ।
हाइटी, इन्डोनेसियालगायत मुलुकमा विगतमा आएको भूकम्पले भन्दा त्यसपछि फैलिएको महामारीले धेरैको मृत्यु भएको विज्ञले बताउँदै आएका छन् । नेपालमा पनि गृहमन्त्रालयले दिएको पछिल्लो जानकारीअनुसार शुक्रबार दिउँसोसम्म भूकम्पमा परी ज्यान गुमाउनेको संख्या आठ हजार चार सय ६१ छ भने घाइतेको संख्या १६ हजार आठ सय आठ पुगेको छ । मन्त्रालयले दिने तथ्यांकमा हरेक दिन मृतकको संख्या सयभन्दा बढीले वृद्धि हुने गरेको छ । त्यसैगरी, घाइतेको संख्या पनि बढेको–बढ्यै छ । गोरखा, सिन्धुपाल्चोक, काभ्रे, दोलखा, धादिङलगायत अति प्रभावित जिल्लाका दुर्गम गाउँमा अझै भग्नावशेषमा किचिएकाको उद्धार हुन नसकेको समाचार आइरहेका छन् । मानिसकै उद्धार हुन नसकेको अवस्थामा मरेका चौपायाको उचित व्यवस्थापन हुनसक्ने कुरै भएन । भूकम्प प्रभावित बस्तीमा दुर्गन्ध बढ्न थालेका छन् । यस्तो अवस्थामा केही हप्तामै वर्षा सुरु हुन लागेकाले वर्षासँगै महामारी फैलनसक्ने जोखिम रहेको विज्ञले बताइरहेका छन् ।

प्रतिक्रिया