महाभूकम्प भोगेकाहरूको कथा हेर्दाहेर्दै भक्तपुर दरबार स्क्वायर क्षेत्र भग्नावशेष

fasi-degaसमय मध्याह्न हुन लागिरहेको थियो । समयको त्यो बहावसँगै भक्तपुरको दरबार स्क्वायर क्षेत्रमा घुम्नेहरूको चहलपहल बढ्दै गएको थियो । अन्य दिनभन्दा शनिबार आन्तरिक तथा बाह्य पर्यटकहरू यस क्षेत्रमा आउने क्रम बढ्दै गइरहेको थियो । विश्व सम्पदामा सूचीकृत तथा माध्यमिककालीन विशिष्ट नेपाली कला शैलीका धरोहरहरूले भरिएको यो ऐतिहासिक क्षेत्र घुम्न आउनेहरूको चहलपहल क्रमशः बाक्लिँदै थियो । विदेशी मात्र होइन, स्वयं नेपाली पनि कोही साथीहरूसँग, कोही परिवारसँग आएका थिए भने कोही प्रेमिल जोडी थिए त कोही भर्खर बिहे गरेर घुम्न आएका थिए । पर्यटकहरू आप्mना साथी र नेपाली गाइडका साथमा आफूलाई मन परेका तस्बिर क्यामेरामा कैद गरिरहेका थिए । मध्याह्नसँगैको घाम छल्न पाठशाला र पाटीमा बसेर रमिता हेर्नेहरूको संख्या पनि कम थिएन ।

त्यसैगरी पाटीमा बसेर रमिता हेर्नेहरूमध्ये एकजना थिइन्– भक्तपुर नगरपालिका–६ की ९१ वर्षीया न्हुक्षेमाया ख्याजु । अन्य दिन झँ खाना खाएर उनले भक्तपुरको दरबार स्क्वायरमा रहेको पाटीमा बसेर रमिता हेरिरहेकी थिइन् । समयको सुईले १२ बजाउन लागेको मात्रै के थियो, अचानक शनिबारको त्यो मध्याह्न अरू दिनहरूको भन्दा फरक देखिन थाल्यो ।
सुन्दर, शान्त र आफ्नै परम्परागत रंगढंगमा रमाइरहेको वातावरणमा अचानक कोलाहल मच्चिन थाल्यो । ‘भूकम्प आयो’ भन्दै त्रसित र भयातुर मानिसको हुल यताउता गर्न थाल्यो । भूकम्पका कम्पनहरूको अनुभवसँगै मानिस सुरक्षित स्थलको खोजीमा भागदौड गर्न थाले ।
भूकम्पसँगै न्हुच्छेमाया आफू पनि भाग्न लागेकी मात्र के थिइन्, उनका अगाडि रहेको फर्सिदेव (शिलुमहादेव) को मन्दिर भत्क्यो । आफूसँगै भागेका केही र आफू पनि भाग्ने क्रममा फर्सिदेवको मन्दिरसम्म पुगेका मात्र थिए, जतिखेर त्यो मन्दिर ढल्यो । धेरै मानिस त्यहीँ लडे ।
मन्दिर लडेर त्यहाँका इँटा र टायलले लागेर केही मानिस घाइते भएका थिए । उनलाई लाग्छ– आफूलाई चाहिँ भाग्यले बचाएको थियो । धुवाँसरि आकाशमा उडिरहेको धुलोको मुस्लोबाहेक केही देखिएको थिएन । केही समय नबित्दै भक्तपुर क्षेत्रमा भूकम्पले ठूलो क्षति पु¥याएको खबर सुनियो । ‘आफू लडेको ठाउँबाट उठेर चारैतिर हेर्दा केदारनाथ, तलेजु, भैरव कुमारीका मन्दिर ढलेको दृश्य हेर्दा त सपना जस्तो लागिरहेको थियो । मलाई त अहिलेसम्म पनि सपना जस्तो लागिरहेको छ,’ उनले भनिन् ।
‘आत्तिएको अवस्थामा घरतर्फ जान पनि भुलेछु । केही समयपछि घर पुग्दा त सिंगो टोल नै सखाप भइसकेको रहेछ । आप्mनो बासदेखि लिएर श्रीसम्पत्ति सबै सकियो । आफूसँग भएको दुई लाख पैसा र पाँच तोला सुन कता पुग्यो कता ! अब त न बस्ने बास छ,’ उनी दरबार स्क्वायरमा रहेको पदम उमाविको प्रांगणमा शिविरमा बसिरहेकी छन् ।
‘विनाशकारी महाभूकम्पमा विश्व सम्पदा सूचिमा भएको भक्तपुरको एैतिहासिक दरबार स्क्वायर क्षेत्रमा रहेका एक दर्जन मठमन्दिर छिनभरमा आप्mनै आँखाअगाडि भग्नावशेष बनाइदियो,’ उनले भनिन्, ‘अब के गरौँ ? अब त भक्तपुरको ऐतिहासिक दरबार स्क्वायर क्षेत्र तस्बिरमा सीमित भएको छ,’ उनी भावुक हुन्छिन् । गत ६ वैशाखमा बिहे गरेको करिब एक सातापछि भक्तपुर दरबार स्क्वायर क्षेत्रमा घुम्न आएको केही समय नबित्दै एक नवजोडी पनि महाभूकम्पका घाइतेको पंक्तिमा दरिन पुग्यो । भक्तपुर सुडालका रामकृण्ण फुयाँल श्रीमती साथमा लिएर त्यस दिन भक्तपुर दरबार स्क्वायर क्षेत्र घुम्न गएका थिए । सोही क्रममा रामकृष्णकी श्रीमतीको भूकम्पबाट जोगिन भाग्ने क्रममा लडेर देब्रे खुट्टा भाँचिएको थियो । ‘झन्डै घर भत्केर किचेको थियो । भाग्यले बाँँँचियो,’ रामकृष्णले भने ।

प्रतिक्रिया