शनिबारे बिदाको दिन । सहरबासीका शनिबार नुहाइधुवाइ, सरसफाइ, अनि आफन्तको भेटघाट, यस्तैमा बित्छ । गाउँका मानिसका शनिबार खेतीपाती, पानी पँधेरा, बस्तुभाउमै बित्छ । गएको वैशाख १२ गतेको मध्यदिनमा पनि मानिसहरू सायद यस्तै यस्तैमा व्यस्त थिए । सहरको बसाइ । वरिपरि ठुल्ठूला घर । परेपछि मात्रै जानिन्छ भन्थे । भूकम्पले तहसनहस नपारेसम्म भूकम्पले गर्ने असरका बारेमा कसले सोच्यो र ? मैले पनि सोचिनँ ? काठमाडौं छिरेर संघर्ष गरेको १४ वर्षपछि विभिन्न ठाउँमा कोठा सर्ने क्रममा यो पटक भूकम्प जानुभन्दा दुई हप्ता अगाडि मात्रै अनामनगरबाट अनामनगरमै कोठा सारियो । एउटा कोठा र एउटा सानो भान्छा कोठा, जहाँ भात पकाउन मात्रै मिल्थ्यो । ती दुई कोठाको भाडा बढाएर १० हजार बनाएपछि कोठा सारिएको थियो । दुईवटा कोठा कतै नपाइने । फ्ल्याट नै लिनुपर्ने । घरबेटीलाई भाडा भए पुगिगो । अनामनगरको सारस मार्गमा तीन वटा कोठा र एउटा भान्छाको कोठाको भाडा १५ हजारमा मिलेपछि हामीले डेरा सर्ने निधो ग¥याँै । ठुल्ठूला घरैघरको बीचमा तीन तलाको सानो घर । मार्बल लगाइएको, राम्रा र मिलेका कोठा पाएपछि हामीले सर्ने निधो गर्यौँ । कोठा सरेको हप्ता दिनपछि मात्रै थाहा पाइयो, त्यो घर पिलरविनाको रहेछ । २०४५ सालमा बनेको त्यो घर ठूलो भूकम्प गयो भने भत्कन्छ भन्ने लाग्यो । तत्काल त्यहाँबाट सरिहाल्न पनि सकिएन । जे होला होला भनेर हामी केही समय त्यही बस्ने निर्णयमा पुग्यौँ ।
हामीले कोठा सरेको दोस्रो शनिबार बिहानैदेखि हावाहुरी चलिरहेको थियो । बाहिर काम गर्ने भए पनि महिलाहरूलाई घरको सम्पूर्ण जिम्मेवारी । त्यही समाजको एक नागरिक । त्यही जिम्मेवारी निभाउने क्रममा थिएँ । १० बजेतिर छोरी प्रयत्नालाई नुहाइदिएँ । चिसो भएकाले हिटर बालेर तेल लगाइदिएँ । आपूmले पनि नुहाएँ । भात पाकिसकेको थियो । ‘ममी भोक लाग्यो ।’ छोरीले भनेपछि चारवटै कोठा खुलै राखेँ । मुलढोकामा बाहिरबाट ताल्चा लगाएर तेल किन्न भनेर पसलतिर लागेँ । छोरी खेलिरहेकी थिई । प्लास्टिक निषेध भएको कुरा आगनमा पुगेपछि सम्झे । कपडाको झोला लिन कोठा फर्केको के थिएँ, भुइँ हल्लन लाग्यो । सुरुमा त भर्खरै नुहाएकाले रिंगटा लाग्यो भन्ठानेँ तर सबैजना ‘भइँचालो’ ‘भुइँचालो’ भनेर कराउँदै बाहिर निस्कन थाले । म भने छोरी खोज्दै माथिल्लो तलामा उक्लिएँ । भर्याङ् उक्लन निकै कठिन भयो । छोराछोरीप्रति आमाको दायित्व र माया । लड्दै म छोरी भएको कोठामा पुगेँ । कितावको र्याक ढलेर छोरी प्रयत्नाको हातमा लागेछ । ¥याक ढलाएको ममीले गाली गर्नुहुन्छ भनेर छोरी रुँदै भुइँमा पछारिरहेकी थिई । म छोरीलाई तानेर ढोकामा आएँ । घर भत्कन्छ भन्ने अनुमान लगाएर छोरीलाई च्यापेर मर्न तयार भएँ । तर, घर भत्किएन ।
भूकम्प रोकियो । म छोरी बोकेर तल झरेँ र ‘दाहालको दैलो’ नेर गएँ । त्यहाँ एक महिलालाई छोरी समाउन लगाएर कोठामा गएर चप्पल टिपेर ताल्चा लगाउन थालेको थिएँ । फेरि भूकम्प आयो । छोरी जसलाई समाउन दिएको थिएँ ती महिला छोरीलाई छोडेर भागिछन् । फर्केर छोरीलाई तान्दै बाहिर सडकमा आएँ । छिनछिनमा गएको भूकम्पले बिजुलीका तारबाट आगाका झिल्काहरू आउन थालेपछि सडकमा बस्न नसकिने भयो । सुरक्षाकर्मीलाई आग्रह गरेर सिंहदरबारको पूर्वी गेट खोल्न लगाइयो । सडकमा भएका सबैजना सिंहदरबार छि¥यौं । छोरीको बाबा जरसिङपौवामा पिकनिकमा थिए । फोन लागेन । त्यस्तो बेलामा पनि नेपाल टेलिकमको पोस्टपेड मोबाइलमा फोन सम्पर्क गर्न सहज भयो । बाबासँग कुरा गराएपछि छोरी पनि शान्त भइन् । त्यतिखेर पुनर्जन्म पाएको महसुस भयो । आफन्तमा केही नराम्रो सुन्न परेन । यो घटना मेरो लागि मात्रै दुःखदायी थिएन, सिंगो मुलुकको त्रासदी थियो ।
नुवाकोट, सिन्धुपाल्चोक, रसुवा, काभ्रे, धादिङ, गोरखा तथा रामेछापमा विकट वस्तीसम्म कुनै पनि राहत पुग्न सकेको छैन । दलका नेताहरू निर्वाचन क्षेत्रभन्दा बाहिर जान सकेका छैनन् । विकट गाउँका मानिस भनिरहेका छन्– कुनै राहत चाहिँदैन बरु एउटा पाल भए पुग्छ । तर, पाल उनीहरूसम्म पुग्न सकेको छैन । यसरी भूकम्पबाट पीडित हुनेहरूमा पनि सुत्केरी महिला, बालबालिका तथा वृद्धवृद्धा नै बढी छन् । पुरुषहरू आफ्नो ज्यान जहाँ गएर पनि जोगाउन सक्छन् भने महिलामाथि बालवच्चाको पनि दायित्व छ । विभिन्न ठाउँमा अस्थायी रूपमा बस्दै आएका मध्ये पनि सुत्केरी महिलालाई अलग्गै समस्या छ । एकतिर सुत्केरी, अर्कातिर नवजात शिशुको स्याहार निकै गारो महसुस गरिरहेका छन् । हतारमा घरबाट निस्केर भागेर ज्यान बचाएका महिलाहरू महिनावारी हुँदा स्यानिटरी प्याडको अभावमा समस्या आएको छ भने बच्चालाई पनि चिसोेले गर्दा निमोनियाजस्ता समस्या देखा पर्न थालेको छ । विनासकारी भूकम्पले ल्याएको तहसनहस पछि पुनःस्थापना गर्दा ती महिलालाई बालबालिकालाई तथा वृद्धवृद्धालाई कसरी गर्ने भन्ने बारेमा कुनै योजना छैन । भूकम्प गएपछि जन्मिएका नवजात शिशु तथा सुत्केरीको रात खुला ठाउँमा बितिरहेको छ । महिलाहरू महिनावारी हुँदा कसरी बसे होलाान् ?
मध्यदिनमा आएको विनासकारी महाभूकम्पले ठूलो जनधनको क्षति ग¥यो भने हजारौं मानिस घरबारविहीन भए । भूगर्भविदले नेपालमा ठूलो भूकम्प आउँछ भन्न थालेको झन्डै दुई वर्ष बितेपछि आएको भूकम्प विनासकारी भूकम्प थियो । भूकम्पपछि सरकारले देशमा संकटकालको घोषणा गर्यो भने राष्ट्रिय अन्तर्राष्ट्रिय सहयोग पनि वृद्धि भयो । छिमेकी मुलुकबाट आएका सहयोग तत्कालका लागि पर्याप्त देखिए पनि दीर्घकालीन रूपमा राष्ट्रिय रूपमा नै पुनर्निर्माण तथा पुनःस्थापनाका लागि पहलकदमी आवश्यकता छ । सहरमा ठूला महल बनाएर चर्को भाडा असुल्नेहरू घर चर्कियो भनेर राहत लिने लाइनमा बसिरहेका छन् भने चर्को भाडा तिरेर बस्नेहरू यतिखेर खुला आकाशमुनि रात काट्न बाध्य छन् । गाउँका मानिसहरू खेतबारीमा बसेर दिन कटाइरहेका छन् । सरकारले दाताहरूको सहयोगमा भत्किएका घरहरू निर्माण गर्ने प्रतिवद्धता जनाएको छ भने दलहरू पनि त्यसबारेमा एकमत भएका छन् । सरकार, निजी संघसंस्था, राजनीतिक दलका भातृसंगठनहरू तथा व्यक्तिगत पहलमा पीडितका लागि राहत बाँढेको बाँढ्यै छन् तर वास्तविक पीडितले अहिलेसम्म कति राहत पाए, यसको हिसाब सिंहदरबारसँग छ ?
प्रतिक्रिया