काठमाडौं, २९ वैशाख । गत वैशाख १२ गते आएको विनाशकारी भूकम्पले रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगिता अझै अनिश्चित बनेको छ ।
विवाद र अन्योलताको बीच वर्षको अन्तिम समय(माघ)मा अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलोपल्ट (होम एन्ड अवे) का आधारमा रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगिता सुरु गराएको थियो । वर्षको सुरुआतदेखि नै ‘ए’ डिभिजन लिगका चार क्लब (मच्छिन्द फुटबल क्लब, हिमालयन शेर्पा क्लब, फ्रेन्ड्स क्लब र सिम्रिक सरस्वती क्लब) ले समन्वय समिति गठन गरी एन्फाले पुरस्कारका रकमका साथै अन्य तयारी खर्चहरू नदिएको भन्दै असन्तुष्ट रहँदै एन्फाका कार्यक्रमहरूलाई बहिस्कार गर्दै आएको थियो । यसैबीच चार क्लबको समन्वय समितिले एन्फाका अध्यक्ष गणेश थापाले आर्थिक अनियमितता गरेको भन्दै उजुरी हालेपछि पटक–पटक हुने भन्दै सारिएको लिग अन्ततः माघ सात गतेबाट सुरु भएको थियो ।
नेपालमै पहिलोपल्ट प्रतियोगिता होम एन्ड अवेका खेलहरू सञ्चालन भइरहँदा लिगका ३१ खेलहरू सम्पन्न भइसकेका थिए । विनाशकारी भूकम्प गएको दिन (वैशाख १२) गते मोफसलमा राष्ट्रिय लिगका एक खेल झापामा (झापा–११ र मोरङ फुटबल क्लबबीच) खेलाउने एन्फाको तालिका थियो । त्यसपछि लिगका खेलहरू काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लिग गराउने एन्फाको कार्यतालिका थियो । त्यसैदिन विनाशकारी भूकम्प आएपछि त्यस दिन तय भएको खेलका साथै लिगका बाँकी सबै ४० खेलहरू अनिश्चित कालका लागि स्थगित गरिएको एन्फाका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठले जानकारी गराएका थिए । विनाशकारी भूकम्पले त्रिपुरेश्वरस्थित नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशालामा ठूलो क्षति पुगेको छ । जसले गर्दा खेलाडीहरूले नियमित प्रशिक्षण गर्न पनि पाएका छैनन् ।
विनाशकारी भूकम्पले दशरथ रंगशालाको मुख्य प्रवेशद्वार ढलेको छ । रंगशालाकै निर्माणधीन साधारण प्याराफिटको भागहरू चर्किनुका साथै फुटेको छ भने रंगशाला वरिपरिका सम्र्पूण वालहरू भत्किएको छ । सोही कारणले गर्दा लिगका बाँकी खेलहरू तत्कालै सञ्चालन गर्न नसकिएको एन्फाका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठले बताए । ‘भूकम्पले रंगशालमा धेरै क्षति भएको छ । अहिले तत्कालै लिग सञ्चालन गर्नसकिने अवस्था छैन ।’ श्रेष्ठले भने, ‘खेलाडीहरू अहिले भूकम्पको त्रासले मानसिक रूपमा कमजोर भएका छन् । सबैभन्दा पहिले खेलाडीहरूलाई मानसिक रूपमा बलियो बनाउनुपर्छ ।’ यसपछि मात्रै लिगका खेलहरू सञ्चालन गर्न सकिन्छ । यस्तै अवस्थामा लिग सञ्चालन गर्न कठिनाइ हुने श्रेष्ठको तर्क छ ।
रंगशालााको मुख्य प्रवेद्वार नै ढलेको छ । वरिपरिका सबै वालहरू पनि ढलेको छ भने साधरण प्याराफिटहरू चर्किनुको साथै फाटिएको अवस्था छ । ‘यस्तो अवस्थामा लिग कहाँबाट सञ्चालन गर्न सक्नु,’ उनले भने । रंगशालाको पुनर्निर्माण नभएसम्म लिग सञ्चालन गर्न नसकिने श्रेष्ठले स्पष्ट पारे । अझै पनि भूकम्पको केही पराकम्प आउने क्रम जारी रहे पनि नियमित खेल सञ्चालनको लागि रंगशालाको पुनर्निर्माणको लागि राखेपलाई पहल थालिएको श्रेष्ठले जानकारी गराए । रंगशालाको पुनर्निर्माणमा सबैभन्दा धेरै लागत लाग्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव युवराज लामाले जानकारी गराएका छन् । पुरानै संरचनाले काम गरे । त्यसमा थपेर बनाउन सकिए कम लागतमा पुनर्निर्माण गर्न सकिने तथा पुरानो संरचनाले काम नगरे धेरै लागत कमतीमा पनि तीनदेखि चार करोड लाग्नसक्ने प्रारम्भिक अनुमान गरिएको छ । भूकम्पकै कारण एएफसी यु–१४ महिला क्षेत्रीय च्याम्पियनसिपको फाइनल र तेस्रो स्थानको लागि तय भएको खेल रद्द भएको थियो ।
राष्ट्रिय लिगको सात खेलको समाप्तिमा सशस्त्र प्रहरीको एपिएफ क्लब १४ अंकसहित लिगको शीर्षस्थानमा छ । १३ अंकसहित झापा–११ दोस्रो स्थानमा तथा ११ अंक जोडेको त्रिभुवन आर्मी क्लब लिगको तेस्रो स्थानमा छ लिगमा एक खेल कम खेलेको रुस्लान थ्रीस्टार क्लब ११ अंकसहित चौथो स्थामा छ । जगदम्बा लुम्बिनी चार अंकसहित लिगको पुछारमा छ ।
प्रतिक्रिया