हाइटीमा भूकम्प गएको पाँच वर्ष बितिसकेको छ । सहयोगका नाममा विदेशीहरूले अर्बौं लगाएका छन् । तर, पाँच वर्षसम्म पनि अझै हजारौँ जनता घरबारविहीन छन् । सन् २०१० को जनवरी १२ मा गएको भूकम्पपछि टेन्टमा रात बिताउने परिवारको संख्या अझै धेरै छ । भूकम्पले हाइटीमा दुई लाख ५० हजारको ज्यान लिएको थियो भने तीन लाख घाइते भएका थिए । अहिले पनि हाइटीमा झन्डै चार लाख जनसंख्या भूकम्पका कारण घरबारविहीन छन् । उनीहरू एक छाक खाएर आफ्नो जीविकोपार्जन गर्न बाध्य छन् ।
भूकम्पपछि फैलिएको महामारी र त्यसपछि देखिएको छोलेरा नामक रोगको संक्रमणका कारण
धेरैले ज्यान गुमाएका थिए । उपचार गर्न सकिने सामान्य रोग छोलेरा अन्तर्राष्ट्रिय समुदाय तथा एनजीओहरूको प्राथमिकतामा पर्न नसक्दा महामारीका रूपमा फैलिएको थियो । हाइटीका स्थानीय निकायहरूले छोलेरापीडितका तर्फबाट संयुक्त राष्ट्र संघविरुद्ध मुद्दा चलाएका थिए । अझै महामारीका रूपमा रहेको छोलेरा नियन्त्रणका लागि पछिल्लो समय हाइटीले दुई बिलियन अमेरिकी डलर अन्तर्राष्ट्रिय समुदायसँग माग गरेको थियो ।
भूकम्प एउटा दैवी विपत्ति मात्रै थियो, त्यसअघि नै हाइटी गरिब थियो । झन्डै ५५ प्रतिशत जनता गरिबीको रेखामुनि बाँचिरहेका थिए । ६० प्रतिशत जनता कृषि पेशामा संलग्न थिए, तर उनीहरू आफैँ धान र तरकारी फैलाएर भोकभोकै बस्न बाध्य थिए । भूकम्प आउनुअघि नै कुपोषण हाइटीका लागि ठूलो दुःख थियो । कुल जनसंख्याको ४० प्रतिशत हिस्साले पर्याप्त खाद्यान्न पाएको थिएन ।
कुपोषणका कारण बालबालिका प्रभावित थिए । भूकम्पको त्रासमा बसेका जनताले सन् २०१२ मा अर्को ठूला विपत्तिको सामना गर्नुपर्यो । लगातारको आँधी र ठूलो वर्षाका कारण धेरै क्षति भयो । ५० भन्दा धेरैले ज्यान गुमाए । छोलेरा नियन्त्रणका लागि राखिएका स्वास्थ्य चौकीहरू बिग्रिए । जसका कारण फेरि छोलेरा महामारीका रूपमा फैलियो । अन्तर्राष्ट्रिय समुदायले पर्याप्त निकास निकाल्न नसके पनि सरकारी निकायबाट प्राप्त ६ बिलियन तथा निजी चन्दादाताले दिएको तीन बिलियन अमेरिकी डलरले राहतका लागि केही सहज वातावरण सिर्जना गरेको थियो । समस्या त्यतिबला सिर्जना भयो जतिबेला अन्तर्राष्ट्रिय समूदायले हाइटीको सरकार र सरकारी निकायलाई बाइपास गर्दै राहतका लागि काम गर्न थाल्यो । स्थानीय एनजीओहरूले पनि सरकारी निकायलाई टेरेनन् । अन्तर्राष्ट्रिय समुदायले दिने भनेको सहयोगको केवल १० प्रतिशत मात्रै सरकारको हात प¥यो । त्यसको एक प्रतिशत रकम मात्रै स्थानीय निकायहरूले प्राप्त गरे । खासमा उद्धारका नाममा छिरेका सैनिकहरूको खर्च र आईएनजीओका अधिकारीहरूले लिने तलब भत्ता पीडितले पाउने रकमभन्दा धेरै भयो ।
जसका कारण झट्ट हेर्दा अन्तर्राष्ट्रिय समुदायको सहयोग ठूलो देखिए पनि उनीहरूले पीडितलाई राहत मिल्ने गरी सहयोग गर्न सकेनन् । अहिलेसम्म पनि हजारौँ व्यक्ति पीडित छन् । तर, अन्तर्राष्ट्रिय समुदायले वाचा गरेको जस्तो सहयोग गर्न सकेका छैनन् । हाइटीमा अपराध र हत्याका घटना कमै मात्र भएको दृष्टान्तलाई बिर्संदै संयुक्त राष्ट्र संघले सेना पठाएर थप खर्च बढायो । हाइटीवासीहरूका लागि सेनाले खासै राहत पुग्ने काम गरेन ।
सन् २०१२–०१३ का लागि संयुक्त राष्ट्र संघले शान्ति मिसनका नाममा ६ सय ४४ मिलियन अमेरिकी डलर विनियोजन गरे पनि सहयोग रकम वास्तविक पीडितसमक्ष पुग्न सकेन । अन्तर्राष्ट्रिय समुदायमा चर्चित व्यक्तित्वहरूले हाइटीमा ठूलै सहयोग गरेका थिए, विश्वका लाखौँले चन्दा दिएका थिए । तर, उनीहरूको सहयोग हाइटीका जनताका लागि काम आउन सकेन । जोरान्जीमा नमुना घर बनाइएको थियो । तर, केवल ६० घर बनाउने क्रममा दुई मिलियन अमेरिकी डलर खर्चंदै अन्तर्राष्ट्रिय समुदायले बेइज्जतीको ठूलो नमुना पेस ग¥यो ।
भूकम्प गएको दुई वर्ष बितिसक्दासमेत झन्डै दुई लाख जनसंख्या टेन्टमुनि रात बिताउन बाध्य हुनुले अन्तर्राष्ट्रिय समुदायमाथि तिखो व्यंग्य प्रहार गरेको थियो । उनीहरूजस्ता हजारौँले घर बनाउने कुनै विकल्प फेला पार्न सकेनन् । भाडामा बस्नेहरूले घर पाउने सम्भावना समाप्त भएर गयो, किनकि भाडामा लाग्ने घरहरूको संकट थियो ।
राहत र पुनर्निर्माणको सम्भावना नभएपछि धेरैले चर्किएका घरमै फर्कने निर्णय लिए । घरहरू असुरक्षित छन् भनेर स्थानीयलाई सचेत गराउने अन्तर्राष्ट्रिय समुदाय स्थानीयहरू त्यही घरमा फर्कंदा टुलु–टुलु हेरेर बसे । युएसएडले गरेको सर्वेक्षणपछि ५० हजार रातो चिह्न लगाइएका असुरक्षित घरहरूमा कुनै विकल्प नभेटेका जनता फर्किएका थिए ।
राहतका नाममा आएको टेन्टमा बस्नेहरूको तुलनामा आफैँ टेन्ट किनेर बस्नेहरूको संख्या बढी थियो । एक सय ५० टेन्ट क्याम्पमा झन्डै ६० हजार बसेको समाचार समेत आएको थियो । धेरैल क्याम्प छाडेर हिँड्दा टेन्ट चोरी हुन सक्ने भयका कारण आफ्नो कामसमेत छाडेका थिए । खाना र कामको खोजीमा हिँड्नेहरू टेन्टमुनि नै खुम्चन बाध्य रहे । त्यसपछि हाइटीका मानवअधिकारवादी संस्थाहरूले अन्तर्राष्ट्रिय समुदायसँग मिलेर अन्डर टेन्ट हाइटी कार्यक्रम नै चलाउनुपरेको थियो ।
अन्तर्राष्ट्रिय समुदायको असफलताको चरम नमुना बन्यो, हाइटी प्रकरण । राहतका नाममा ठूला देशले गरिब देशको मर्म बुझ्नुको सट्टा आफ्नै स्वार्थ र प्रचारवाजीमा ध्यान राख्छन् भन्ने दृष्टान्त बन्यो, हाइटीको घटना । अर्बौं सहयोग उपयुक्त काममा लाग्न सकेन । हाइटीको सरकारसँग अन्तर्राष्ट्रिय समुदायले सहकार्य गर्न नचाहेका कारण पनि राहतमा समस्या देखिएको थियो । अहिले हाइटील विस्तारै विगतबाट पाठ सिकेको छ । तर, सबै बिग्रिसकेपछि पाठ सिकेर सरकारले गर्नसक्ने केही छैन ।
हाइटीका मानवअधिकारवादी, चर्च र स्थानीय समुदायले समेत गतिलो पाठ सिके, तर राहतका नाममा खन्याइएको रकम स्वाहा भएपछि मात्रै । हाइटीसँग अन्तर्राष्ट्रिय समुदायले सम्मानपूर्वक व्यवहार गरेको भए सायद घटनाले यति भयंकर रूप लिने थिएन, पीडामा चाँडै मह्लम लाग्ने थियो ।
घटनाको पाँच वर्षपछि अझै पनि अन्तर्राष्ट्रिय समुदाय सहयोगका लागि सम्बोधन मात्रै गरिरहेको छ । स्थानीय अधिकारीहरूले अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताइरहेका छन् । सहयोग दिने दातृ राष्ट्रका ठेकदार तथा उद्धारका लागि आउने व्यक्ति तथा संस्थाहरूमै सहयोगको अधिकांश रकम खर्च भएका कारण समस्याको ठोस निकास निस्किएको छैन । दूषित पानी र खाद्यान्नका कारण पनि धेरैको ज्यान जाने क्रम अझै रोकिएको छैन ।
छोलेराको महामारी हाइटीका लागि पछिल्लो ठूलो चुनौती हो । अहिलेसम्म सात लाखभन्दा बढी जनसंख्या महामारीको शिकार भइसकेको छ । संयुक्त राष्ट्रसंघले अझै घटनाको नैतिक जिम्मेवारी लिन आनाकानी गरिरहेको छ । अहिलेसम्म राहतका नाममा आएको सहयोग पारदर्शी हुन सकेको छैन ।
(एजेन्सीको सहयोगमा)
प्रतिक्रिया