शनिबार धेरै खेलकुद प्रतियोगिताका फाइनल खेल हुने दिन । कान्छो छोरा मन्जितको एक दिन अघिदेखि दाँत दुःखेकाले लगनखेलमा चेकअप गराई आमासँग घर पठाएको थिएँ । त्यसपछि संयोगवश खेलकुद परिषद्का पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जनले भेट्न चाहेकाले नेपाली खेलकुदको अवस्था र सौर्य दैनिकको भूमिकाका बारेमा वार्तालाप भएको थियो । वार्तालापपछि हामी छुट्टिएर म नेकोस कप तेक्वान्दोको फाइनल हेर्न दशरथ रंगशालाको कभर्डहल तिर लागँे ।
बीस मिनेट जतिमा सातदोबाटोबाट थापाथली चेसपार्क पुगेर मित्र दिनेश कार्की, क्षितिज भण्डारी र अनिष सुवेदीलगायतका साथीको माझमा केही बोर्ड पोजिसन हेरेर खेल एनलाइसिस गरिरहेका मात्र के थियौ, क्षितिज एक्कासी कराउनुभयो, ‘भुइँचालो आयो ।’ हामी चौरको माझमा पुग्यौँ । त्यहीँबाट हाम्रा त्रासद् दिनहरूको सुरुआत भयो । हामी चौरमा सुरक्षित थियाँ । तर, हाम्रैअघि त्रिपुरेश्वरको नारायण मन्दिर ढल्यो । त्रिपुरेश्वरको त्यो चौरबाट जमिन भासिएको दृश्य नदेखिए पनि ठूला घर, घरका छाना गल्र्यामगुर्लुम ढलेका भने प्रस्ट दृश्य देखिरहेको थियौ ।
पहिलो धक्कापछि हामी पुरानै स्थानमा फर्किए पनि कम्पन भने रोकिएन, लगातार भइरह्यो । पहिलोपटकको कम्पनमा आत्तिएर चौरको बीचमा बसे पनि त्यसपछि टहरोमुनि भएकाले केही नहुने ठहर गर्दै हामी त्यहीँ बस्यौँ । सबैजना आफ्नो घरमा फोन गर्न व्यस्त थिए । म पनि त्यसैमा व्यस्त रहेँ । घरमा फोन नलागेपछि आत्तिएर हिँडेँ । कुन बाटो हिँडेँ भन्ने पनि मलाई पत्तै भएन । च्यासलपुगेपछि पो थाहा पाएँ त्यसपछि म आफ्नो गोदावरी तिर लम्किएँ । यसैबीचमा हरिसिद्धी र लेलेमा धेरै घर भत्किएको समाचार रेडियोमा सुनेपछि झनै घरको सम्झनाले बढी सतायो ।
कृष्ण मन्दिरको छेउछाउ पुगेपछि त्यहाँ थुप्रै मन्दिर भत्केको देखेँपछि घरको संझनाले हंसले ठाउँ छाड्न थाल्यो । झनै आत्तिएर म घरतर्फ नै लम्किएँ । भूकम्पको कम्पन रोकिएको थिएन । मानिसहरू कम्पनका कारण आफ्नो ज्यान जोगाउन खुलाठाउँको खोजिमा भागाभाग गर्दै थिए । मचाहिँ सुन्धारा हँदै सातदोबाटोतर्फ हिँड्दै थिएँ । बीच बाटोमा ठैबसम्म पुग्ने लिफ्ट पाएँ । त्यहाँबाट हरिसिद्धी र बाडेगाउँका थुप्रै घर भत्केको देखेँ । हिँड्दै गोदावरी पुगेँ । घरनजिकै पुग्दा घर नढलेको देख्दा केही सास आयो । परिवार सबै बारीमा देखेर मन शान्त भयो । भित्र त कसैको छिर्ने हिम्मत नै थिएन ।
अफिसमा मित्र रामकुमार एलन र अन्वेषण अधिकारी बिदामा हुनुहुन्थ्यो । त्यसैकारण म हिँड्दै नक्साल ढल्कोचोकसम्म आएँ । गोदावरीबाट ढल्कोचोकसम्म आइपुग्दा चार घन्टा लागेछ । म अफिस आउँदा नेट नचलेका कारण पत्रिका ननिस्कने निर्णय भएर सबैजना हिँडिसक्नुभएछ । फर्किने कुनै साधन नभएकाले त्यस दिन अफिसबाहिरको चौरलाई नै आश्रयस्थल बनाएँ । रातीे १२ बजे पानी परेकाले उठेर विशालनगर पुस्तकालयअगाडिको चौरमा रहेको पालमा आश्रय लिन पुगेँँ ।
निरन्तर घरको सम्पर्कमा थिएँ । आइतबार बिहान गहना पोखरीबाट नारायणचौर पुगेको थिएँ । पहिलो कम्पनको २४ घन्टामा दोस्रो ठूलो कम्पनको हल्ला चलेको थियो । एक बज्न आट्दा पनि अर्को कम्पन नभएपछि त्यहाँबाट सुरक्षित भएको महसुस गर्दै खुला सडकमा के पुगेको थिएँ एक्कासी जमिन हल्लिन थाल्यो । पछि पो थाहा पाएँ त्यो कम्पन पनि ६ दशमलव ९ रेक्टरस्केलको रहेछ ।
त्यसपछि अर्को हल्ला चल्यो चार बजे अभै ठूलोकम्पनको । त्यो ट¥यो, पाँच बजेको हल्ला चल्यो । म नारायण चौरमै थिएँ । राति त्यहीँ बसेँ । डुलिरहने तर पानी परेपछि त्यही पालमा बस्ने काम गरेँ । रात बित्यो । सोमबार बिहानै घरको सम्पर्कमा रहेँ । दिउँसो कार्यालय आएँ, त्यो दिन पनि इन्टरनेट समस्याका कारण कुनै काम भएन । त्यसपछि घरतर्पmको बाटो तताएँ । घर आंशिक क्षति भएका कारण घरमा बस्ने कुरै भएन । दाजु बालमुकुन्दको घर बस्नलायक भएकोले उहाँकै घरमा आश्रय लियो । हाल यो बसाईं निरन्तर छ ।
दुई साता बितेछ । मनमा डर छ, सामाचार कक्षमा छु । लगातार भूकम्पको समाचारले ‘मोनोटोनस’ भइएछ । मानसिक रूपमा डर लागेको महसुस छ । यसबीचमा नर्भिक, सिभिललगायतका हस्पिटलमा घुम्न गएँ । अस्पतालबाहिरसम्मको दृश्यले मन झनै डराएको महसुस छ । एक परिपक्व व्यक्तिलाई मानसिक रूपमा सामान्य अवस्थामा आउन त धेरै दिन लाग्छ भने विचरा थुपै्र बालबालिकाको हविगत के होला ? अहिले पनि मनमा यही प्रश्न छ ।
प्रतिक्रिया