महाभूकम्पले देखाएको मानवह्दय

Selana-Goamz०७२ वैशाख १२ गते ११ बजेर ५६ मिनेट जाँदा सारा नेपालवासीले कहालीलाग्दो समयको सामना गर्नुपर्‍यो । बिदाको दिन परेकाले नेपाली फुर्सदिला भएका थिए । सबै आ–आफ्नै मुडमा थिए– आफन्तसँगको भेटघाट, घुमघाम, सक्दो मीठोमसिनो खाने, व्यक्तिगत काममा समय लगाउने र किनमेल गर्ने जस्ता कुरामा व्यस्त थिए नेपाली । तर, सबैको त्यो चाहनामा एक्कासी कालो बादल मडारिएर आयो । थरररर गर्दै जमिन काप्न थाल्यो । कापेर मात्र पुगेन, बसेको ठाउँ नै भासिएला जस्तो गरी हल्लिन थाल्यो । जताततै कोलाहल मच्चियो । घरहरू ढल्न थाले । लौ भूकम्प पो आएछ । सबै त्रसित भएर बाँच्ने कोशिसमा यताउता गर्दागर्दै पनि साढे सात हजार जनाले ज्यान गुमाए । सयौँ गाउँ, बस्तीहरू उजाड भए । धेरैको बास उठ्यो ।

प्रकृतिले दिने दुःखको अगाडि कसैको केही लाग्दो रहेनछ भन्ने कुरा अझ बढी प्रमाणित गर्‍यो यो भूकम्पले । मानवीय र भौतिक क्षतिले धेरैको मन छियाछिया बनाएको छ । नेपालीले भोगेको यो कहालीलाग्दो त्रासले नेपालीको मात्र होइन, विश्वका धेरै मानव हृदय दुख्यो । धेरैको मन छिया–छिया बनायो । नेपालीको पीडामा मल्हम लगाउने प्रयास धेरैले गरे । मानवता भन्ने कुरा कति ठूलो रहेछ भन्ने सबैलाई सिद्ध गराइदियो ।
नेपालीसँग विश्वका जनताको नाता मात्र भावनाको हो । त्यही भावनाको नाताले धेरैलाई रुवायो नेपालीसँगै । नेपालीले आफन्त गुमाए, गास, बास र दुःखले सिर्जित सम्पत्ति गुमाए । काख, माया, प्रेमसँगै आफूले बनाएको बास गुमाए । यतिबेला बारीको पाटामा तातोपानी नपाएर रोएका नेपालीको आँशु सुकेको छैन, सुत्केरीका लागि ओछ्यान छैन, अनि यति बेला पनि नभएर नेपालीको मन कतिबेला पोल्छ त ? सबैले अनुमान लगाउन सक्छन् । मन हाम्रो मात्र होइन रहेछ, पर्दामा देखिने र अरूलाई मनोरञ्न दिनेको पनि रुँदो रहेछ । उनीहरूको काम दर्शकलाई मनोरञ्जन दिनु मात्र होइन रहेछ । दुःखमा परेकालाई राहत दिनु पनि रहेछ भन्ने देखियो नेपालको भूकम्पमा ।
नेपालमा गएको महाभूकम्पपछि २२ वर्षीया अमेरिकी नायिका सेलेना गोमेजले आफ्नो फेसबुकमा लेखिन, ‘भूकम्पबाट पीडित बालबालिकालाई सहयोग गरौं ।’ बेलायतकी अभिनेत्री जोआना लुम्लेले सारा बेलायतीलाई अनुरोध गरिन्, नेपालका जनतालाई तत्काल आफूहरूले सहयोग गर्नुपर्छ भन्दै आर्थिक सहयोग जुटाउन पहल गरिन् । उनको पहलमा पाँच अर्बभन्दा बढी रकम जुटेको सुखद् समाचार सुनियो । बेलायतका राजकुमार बिलियमले बेलायतस्थित नेपाली दूतावासमा गएर शोक पुस्तिकामा हस्ताक्षर गर्दै भूकम्पमा ज्यान गुमाएकाप्रति समवेदना व्यक्त गरे । भारतलगायत विश्वका धेरै नेता, सेलेब्रिटीहरूले नेपालको दुःखमा मल्हम लगाउन कोशिस गरे । त्यो क्रम अहिले पनि जारी छ ।
हामी यो वाद, यो विचार, त्यो विचार, यो जात, ऊ जात भनेर राजनीति गर्ने कोशिस गर्छौं । तर, नेपालमा गएको महाभूकम्पपछि कमला मानवीय हृदय भएका मान्छे हेर्दा लाग्छ ‘मावनतावाद’ सबैभन्दा उच्च रहेछ । जाति, वर्ग, लिंग र विचारमा नभई मानवताको कारण सबैले आफ्नो ठाउँबाट सहयोग गरे नेपालीलाई । जसले जाहाँबाट सक्छ गरे र गर्दैछन् । हँसाउन जान्नेले हँसाएर गरे, कलाकारले कला बेचेर गरे । निर्माताले फिलिम देखाएर गर्ने वाचा गरे । यो स्वस्फूर्त आएको मानवतावाद हो । जसलाई न कसैले हल्लाउन सक्छ न पराजित गर्न सक्छ । कसैले नलेखेको र प्रतिवाद नगरेकोे सुनौलो सिद्धान्त हो यो । यसलाई आउने दिनमा सबैले लागु गर्न आवश्यक छ । पृथ्वीको एउटा कुनाको मान्छेलाई आपत पर्दा अर्को कुनामा बस्नेको मन दुख्ने कति राम्रो र उच्च विचार । पृथ्वीको जनु कुनामा जन्मे पनि हामी मान्छे भएर जन्मेका हौँ । हाम्रो चेतना र विवेक सधैँ उच्च हुनुपर्छ भन्ने दरिलो प्रमाण पनि हो यो । यसलाई कहिल्यै मर्न दिनु हँुदैन र हामी नेपालीले पनि पालना गर्नुपर्छ ।
बेलायती अभिनेत्री लुम्लेको नेपालमा रगतको नाता कसैसँग छैन । न त अमेरिकी नायिका सेलेनाकै कोही नेपालमा होला । यस्तै विश्वका धेरै ख्यातिप्राप्त कलाकारको नेपालमा रगतका आफन्त छैनन् । तर, भावनाका आफन्त हामी सारा नेपाली रहेछौँ । भनिन्छ, दुःखमा साथ दिने पो आफन्त, सुखमा त सबै आफन्त हुन्छन् । अहिले हामी सारा नेपालीले केही नगुमाए पनि केही न केही गुमाएका छौँ । सिन्धुपाल्चोक, गोर्खा, नुवाकोट, धादिङ, दोलखा, काठमाडौं, ललितपुर, भक्तपुरलगायत जहाँ जहाँका जनताले आफन्त र आफ्नो भन्ने गुमाए ती सबै हामी नेपालीको आफन्त र आफ्नो हो । सात समुद्र पारी बस्नेको मन रुन्छ हाम्रो किन रुदैन ? पक्कै रोएको छ । यतिबेला नेपाली नारायण गोपालले भनेझैँ भएका छौँ, ‘आँखा छोपी नरोउ भनी भन्नु प¥या छ, मुटुमाथि ढुंगा राखी हाँस्नु प¥या छ’ उनी मरेर गए यो विपत्ति देख्नुपरेन । तर, हामी उनको गीत सम्झदै रोएको मनले ङिच्च हाँस्दै छौँ ।
भूकम्पले नेपाली मरिरहेका थिए । राष्ट्रिय सम्पदा विलिन हुँदै थियो । ओत लाग्ने घर भत्किएर पालको पर्खाइमा सुत्केरी, केटाकेटी र वृद्धवृद्धा बसिरहँदा कैयौँको मनमा कुबुद्धि पलाएको देखियो । सधैँ नेपाल र नेपालीको भावनामा खेलवाड गर्न खोज्ने छिमेकी मुलुकका मित्रहरूले आफूले सक्दो फाइदा लिन खोजेको देखियो । मलामी जान पाएकोमा गर्व गर्ने तल्लोस्तरको सोच भएका र मानव हृदयको नाममा विषाक्त विचार भएकाहरूले आफ्नो स्वार्थ पूरा गर्न भूकम्पले थर्किएको नेपालीको मनलाई झनै थर्काउने प्रयास गरे । भारतीय सञ्चारमाध्यमले नेपाली स्वाधिनतामाथि आँच आउने गरी समाचार प्रसारण गरे ।
नेपालबाहिर बस्ने नेपालीलाई त्रसित बनाउने खालका समाचार प्रसारण गरेर आतंकित बनाउने प्रयास गरे । यतिले मात्र नपुगेर नेपाली भूमिबाट अर्को छिमेकी मुलुक चीनमाथि जासुसी गर्ने प्रयत्न ग¥यो । यो हाम्रो विपत्ति र दुःखमा टेकेर गरेको कुकर्मभन्दा अरू केही हुन सक्दैन । दुःखमा परेकालाई सक्नेले सहयोग गर्नुपर्छ, नसके दुःखेको घाउँमा नुनचुक लगाउन खोज्नु मानवताभित्र पर्दैन । त्यसैले हामीले भोगेको विपत्तिमा भारतको सहयोग रह्यो । सँगै कुविचार पनि देखियो । यस्तो कार्य गर्न कदापि दिनु हँदैन हामी नेपालीले ।
हरेक समाजमा राम्रा र नराम्रा विचार भएका मान्छे हुन्छन् । जनता रुँदै आश्रय छोडेर खुला चौरमा आकाशे वर्षाको सामना गरेर बाँच्ने कोशिस गरिरहेको बेला फेरि भूकम्प आउँदैछ घर छोड्नुस भन्दै चोरी गर्ने उद्देश्ले घुम्नेदेखि आफ्नो गाँस काटेर पीडितलाई दिने नेपाली देखियो । जसले जहाँबाट जे सक्यो त्यही गर्‍यो । यो नैतिकताको कुरा पनि हो । आपत् परेको बेला विपत थप्न खोज्नेलाई मान्छेको नाममा के भन्ने ? दुःखमा परेकालाई आफ्नो गाँस काटेर अरूको भोक मेटाउनेहरू पनि देखिए । आफ्नो ज्यानको बाजी लगाएर अरूको ज्यान बचाउनेहरूको पनि कमी देखिएन । संक्रमणको फाइदा लिन आतुर भएर बसेकाले तिनै पीडितको बचेकुचेका समानमा कुदृष्टि लगाएर चोरी गरे । मान्छेको भावना कस्ता–कस्ता हुँदा रहेछन् भन्ने यो भूकम्पमा देखियो ।
आफ्नै नजिक भएकाले एउटै टोल, छिमेक र राष्ट्रमा बस्नेलाई आपत पर्दा अर्को विपतमा पार्ने कोशिस गर्ने । यही समाज हो अरूको दुःखलाई आफ्नो दुःख ठानेर सहयोग गर्ने पनि छन् । समाजको बनोट भन्छन्, कतिले यसलाई । यदि यो समाजको बनोट हो भने परिवर्तन हुनुपर्छ यो बनोटमा । जुनसुकै देश, भाषा, वर्ग र समुदायको भए पनि मान्छेसँगको मान्छेको नाता पहिलो प्राथमिकतामा पर्नुपर्छ । मानवताभन्दा माथि कोही कहिल्यै पनि हुँदैन भन्ने दरिलो पाठ सिकेको छौँ । हामीले यसलाई बचाएर राखौँ ।

प्रतिक्रिया