भूकम्पपीडित बस्तीमा तीन शीर्ष नेता

3-dal-pmकाठमाडौं, २४ वैशाख । सत्ता साझेदार र प्रमुख प्रतिपक्षी दलका नेता एकसाथ भूकम्पपीडित जिल्लामा पुगेका छन् । नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकसाथ भूकम्पपीडितकहाँ पुगेका हुन् ।

बुधबार बिहान ९ एनआरए–७ हेलिकप्टरबाट उनीहरू रसुवा सदरमुकाम धुन्चे पुगेका थिए । त्यस अवसरमा प्रधानमन्त्री कोइरालाले भने, ‘राष्ट्रिय विपत्तिका बेला सबै नागरिक राष्ट्रिय एकताको भावनाका साथ अगाडि बढ्नुपर्छ ।’ उनले भूकम्पपीडितलाई जिल्ला र केन्द्रीयस्तरबाट राहत तथा सेवासुविधा मिल्ने आश्वासन दिँदै भूकम्पपीडित नागरिकलाई कुनै पनि भेदभाव नगरी एक ढिक्का भएर राहत एवं उद्धार गर्न सबै पक्षलाई आह्वान गरे ।
प्रधानमन्त्री कोइरालाले सिडिओ कार्यालयको सभाकक्षमा सबैलाई सम्बोधन गर्दै भने, ‘प्रकृतिको सामना गर्न सबैले दलगत स्वार्थ त्याग्नुपर्छ, गाउँ–समाजमा सबैले जनसेवामा सहकार्य गर्दै अगाडि बढ्नुपर्छ ।’ उनले वर्षायाममा जस्ताको टहरामा बसोवास मिलाउनुपर्ने र वर्षापछि मात्र भूकम्पप्रतिरोधी आवास निर्माण गरिनुपर्ने पनि बताए । उनीहरू बुधबार बिहान ९ बजे धुन्चेस्थित नेपाली सेनाको हेलिप्याडमा उत्रिएका थिए । नेताहरूले लाङटाङलगायत रसुवाका भूकम्पबाट क्षतिग्रस्त ठाउँको हवाई अवलोकन गरे ।
एमाले अध्यक्ष ओलीले भूकम्पमा परी दिवंगत नागरिकको चीरशान्तिको कामना र घाइते सबै बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सबै एक जुट भई विपत्तिको सामना गर्नुपर्ने बताए । एमाओवादी अध्यक्ष दाहालले विपत् व्यवस्थापन गर्न सबै तह र तप्काका मानिस एकजुट हुनुपर्ने बताउँदै खोज, उद्धार तथा राहत र पुनःस्थापनामा सबैलाई लाग्न आग्रह गरे ।
सिडिओ उद्धवप्रसाद भट्टराईले भइरहेको राहत वितरण, स्थानीय जनताको बसोवासको अलावा पर्यटन व्यवसाय, जलविद्युत्, अन्तर्राष्ट्रिय व्यापार, सरकारी कामलगायत भूकम्पको प्रभावबाट नाजुक रसुवाली नागरिकको अवस्थाबारे प्रधानमन्त्री र नेताहरूलाई जानकारी गराए ।
नेपाली सेना नारायणदल गणका गणपति कर्णेल लक्ष्मण थापाले सेनाले गरेको खोज, उद्धार तथा राहत वितरणलगायत तथा जिल्लामा सेनाको दीर्घकालीन योजनाबारे प्रधानमन्त्रीलाई जानकारी गराउँदै ९८१ सामान्य घाइतेलाई स्थानीयस्तरमा उपचार गरिएको र तीमध्ये ७५ विदेशीलाई प्राथमिक उपचार गरिएको बताए । १२ वैशाखको भूकम्पमा परी रसुवामा ४ सय ५६ को मृत्यु भएको छ भने ७ सय ५२ घाइते भएका छन् ।
‘पक्षपात नहोस्’
नुवाकोट । प्रधानमन्त्री सुशील कोइरालाले आपसी विश्वास र एकताले नै संकटको सामना गर्न सकिने बताएका छन् ।
भूकम्पको स्थलगत अवलोकनका लागि विदुर पुगेका प्रधानमन्त्री कोइरालाले आपसी समझदारी र विश्वासले नै संकट समाधान गर्दै अघि बढ्नुपर्ने बताए । ‘राष्ट्रिय संकटको घडीमा एक भएर सबै समस्या समाधान गर्छौं, हामी दलहरू पनि एक छौँ,’ कोइरालाले भने, ‘कठिनभन्दा कठिन परिस्थितिमा हामीले समाधान खोजिरहेका छौँ, यो कठिन घडीबाट पनि हामी सफल हुनेछौँ ।’
प्रधानमन्त्री कोइरालाले राहत सामग्री वितरण सहज र समानुपातिक रूपमा वितरण गर्न निर्देशन दिए । ‘कुनै किसिमको पक्षपात नगरी, यो कांग्रेस, यो एमाले वा यो माओवादी भनेर पक्षपात नहोस्, कसैले औँलो उठाउन नपाओस्, हामीहरूकै बीचमा विभेद भएको कुरा आएमा राम्रो हुन्न,’ उनले भने, ‘अरूसँग माग्नुपरेको अवस्था छ, कुन ठाउँमा बढी क्षति भएको छ, त्यहाँ प्राथमिकता दिनुपर्छ, आएको सबै सामग्री गाउँलेले उपभोग गर्न पाऊन् ।’ प्रधानमन्त्रीका साथमा एमाले अध्यक्ष ओली र एमाओवादी अध्यक्ष प्रचण्ड पनि सहभागी थिए ।

प्रतिक्रिया