काठमाडौं, २३ वैशाख । महाभूकम्पपछिको विपत्मा उद्धार र राहतका नाममा कूटनीतिक चलखेल बढेको छ । सहयोगको बहानामा कूटनीतिक तवरमा कसले बढी सहयोग गर्ने भनेर होडबाजी मात्रै नभएर एक देशले अर्को देशको जासुसी गरेको आरोपसमेत लागेको छ ।
उत्तरी छिमेकी राष्ट्र चीनले दक्षिणी छिमेकी राष्ट्र भारतले उद्धारको बहानामा जासुसी गरेको आरोप लगाइसकेको छ । चीनले उद्धारको बहानामा भारतले चीनको सिमावर्ती क्षेत्रमा हेलिकप्टरमार्फत जासुसी गरेको जनाएको हो । उसले भारतलाई उद्धारमा मात्र सीमित गर्न नेपाल सरकारसँग भनेको छ । यसअघि भारतले चीनको सिमावर्ती क्षेत्रमा उद्धार गर्ने भन्दै पत्रकारलाई बढी मात्रामा घुमाएको थियो ।
यता, सिन्धुपाल्चोकको तातोपानी नाका थुनिएपछि चीनको सैन्य टिमले नेपाली भूमिमा आएर पहिरोले अवरुद्ध बाटो खुलाएको छ । चीनको प्रयासलगत्तै अमेरिकाले पनि चासो देखाएको छ । अमेरिकी राजदूत पिटर डब्लु बोडे मंगलबार सुटुक्क सिन्धुपाल्चोक पुगेका छन् । मध्यान्हपछि सिन्धुपाल्चोक पुगेको राजदूत बोडेले सदरमुकाम चौतारास्थित नेपाली सेनाको ब्यारेकभित्र सिडिओ कृष्णप्रसाद ज्ञवालीसँग भेटेका थिए ।
उनीहरूबीचको भेटमा के विषयमा कुरा भयो भन्ने खुलाइएको छैन । सिडिओ ज्ञवालीले भूकम्पपछिको क्षति तथा उद्धार र राहतबारे चासो राखेका बताए । ‘राष्ट्रिय विपत्तिमा सरकारसँग मिलेर काम गरिरहेका छौँ, हामी सरकारसँग मिलेर विपत्मा काम गर्न चाहन्छौँ भन्दै जिल्लाको अवस्थाबारे राजदूत बोडेले जानकारी लिए,’ ज्ञवालीले सौर्यलाई बताए ।
केही सुरक्षा विज्ञले भने चिनियाँ सैन्य टोलीले सिन्धुपाल्चोकमा सडक अवरुद्ध कार्य खुलाएपछि त्यसबारे बुझ्न गएको हुनसक्ने भन्दै यसलाई कूटनीतिक चलखेलका रूपमा लिएका छन् ।
एक विज्ञ भन्छन्, ‘बोडे त्यसरी जानुमा चीनसँग जोडिएको जिल्लामा अमेरिकी प्रभाव बढाउने उद्देश्य रहेको अनुमान गर्न सकिन्छ तर सिन्धुपाल्चोक सबैभन्दा धेरै क्षति भएको जिल्ला हो । त्यसैले बोडेको चासोलाई सकरात्मक बाटोबाट पनि हेर्न भुल्न हुन्न ।’
राजदूत बोडेले अन्य अतिप्रभावित जिल्लाबारे चासो नराख्नु र चिनियाँ सैन्य नेपाली भूमिमा पसेर उद्धार तथा सडक पन्छाउन थाल्नसाथ सोही जिल्ला पुग्नुले शंका थपिदिएको हो ।
उद्धार तथा राहतकै क्रममा यसअघि भारतीय पक्षले पाकिस्तानले सहयोगको नाममा बिफ मसला अर्थात् गाईको मासुका लागि प्रयोग हुने मसला र डेट सकिएको राहत पठाएको आरोप लगाएको थियो । जसले दुई देशबीच तिक्तता बढेको विज्ञ बताउँछन् ।
प्रतिक्रिया