काभ्रे, १९ वैशाख । अन्य जिल्लाजस्तै काभ्रे पनि महाभूकम्पका कारण तहसनहस भयो । भूकम्पको कारण २ सय ९० जनाको मृत्यु भयो । एक हजार ५ सयभन्दा बढी घाइते भए । ३० हजारभन्दा बढी घर भत्किए । एक लाखभन्दा बढी विस्थापित भए । पटक–पटक आएको भूकम्पले हप्ता दिनसम्म पनि जनजीवन त्रसित बनाइरहेकै छ ।
शनिबार बिहान ११ बजेर ५६ मिनेटमा सुरु भएको भूकम्पको पहिलो धक्काले नै धेरै घर भत्काइसकेको थियो । भागदौडमा सयौं घाइते भए । केही पुरिएको खबर क्षणभरमै फैलिसकेको थियो । एकसाथ सबैलाई परेको विपत्तिमा सहयोग गर्ने कोही थिएनन् । विद्युत् तथा टेलिफोन सम्पर्क विच्छेद भयो । उद्धारका लागि कोही कसैको सहयोग प्राप्त हुने अवस्था रहेन । यस्तो बेला नेपाली सेनाले १५ मिनेटभित्र ब्यारेकबाट बाहिर निस्कँदै उद्धारमा संलग्न भएर मानवीयताको प्रस्तुत ग¥यो ।
जिल्लामा रहेका प्रहरी पनि परिचालित भए । नेपाली सेना र प्रहरीले शानिबार दिनभरमै ५ सयभन्दा बढीको उद्धार गरेर बनेपा र धुलिखेल अस्पताल पुर्यायो । विपत्को बेला नायकको भूमिका निभाइरहेका थिए खड्गदल गण धुलिखेलका कर्णेल प्रकाशबहादुर चन्दले । ऐया, आत्था, मरेजस्ता घाइतेहरूको चित्कार जताततै गुन्जिरहेका बेला सेनाले चौबिसै घन्टा खटेर तीन दिनभित्र प्रायः सबै घाइतेलाई अस्पतालसम्म ल्याउन अग्रणी भूमिका खेल्यो ।
अस्पतालमा बिरामीको चाप बढेपछि धुलिखेल अस्पतालले अझै व्यवस्थित तरिकाले आप्mना सबै कर्मचारीलाई चौबिसै घन्टा खटायो । काठमाडौं विश्ववद्यालयको शिक्षण अस्पतालसमेत रहेको धुलिखेल अस्पतालमा विद्यार्थी र शिक्षक पनि घाइतेको उपचारमा खटिए । एक हजारभन्दा बढी घाइतेलाई छिटोभन्दा छिटो व्यवस्थित तरिकाले उपचार गर्नु साँच्चिकै चुनौती थियो । सेनाको पूर्ण सहयोग पाएको अस्पतालले धैर्यताका साथ विपत्तिको सामना गर्दै उपचार ग¥यो ।
विपत्तिको हप्ता दिन पुगेको छ । काभ्रेली जनताले महाविपत्तिमा सेना र धुलिखेल अस्पतालले पु¥याएको सेवाको उच्च मूल्यांकन गरिरहेका छन् । विस्तारै–विस्तारै उद्धार र उपचारमा अन्य सहयोगी जुट्दै गए पनि सुरुका तीन दिनसम्म सेना र अस्पताल मात्र उद्धार र उपचारमा जुटेका थिए । संकटको घडीमा राजनीतिक दल र तीनिहरूको भातृसंगठन गुमनाम भएको बेला काभ्रेमा नायक बनेर उदाएका नेपाली सेना र धुलिखेल अस्पतालले काभ्रेमा मात्र होइन सिन्धुपाल्चोक, रामेछाप, दोलखा सिन्धुली र भक्तपुरका पीडितको सेवा गर्यो ।
प्रतिक्रिया