रोग लागेर उपचार गराउनुभन्दा रोग लाग्न नदिनु नै बेस हुन्छ । यस्तै कुरामा आधारित छ विपत्् व्यवस्थापन पनि । उच्च सतर्कता अपनाएको खण्डमा केही दुर्घटना भयावह हुने हुँदैन भन्न सकिन्छ र यथार्थता पनि यही हो किनभने सतर्कता नअपनाउँदा उच्चपदस्थ व्यक्तिहरू घटनास्थलतर्फ निरीक्षण गर्ने भन्दै गर्ने करोडौँ खर्च पनि नेपाल सरकारकै हो । त्यहाँ गएर उनीहरूले के आपत् विपत् को बखतमा हेर्नुबाहेक अरू के गरेका हुन्छन् र ? जानलाई हेलिकप्टरमा जाने र त्यही घटनास्थलको निरीक्षण गर्नु ठूलो कुरा होइन, घटनास्थलमा गएर काम गर्नु ठूलो कुरा हो । अस्पतालमा बिरामीलाई कोसेली लिएर भेट्न जानुको औचित्य सान्त्वना दिनुबाहेक अर्को विकल्प के हो ? यो विपत्को समयमा निरीक्षण गर्नु पनि त्यही नै हो । यसको सट्टामा प्रत्यक्ष रूपमा त्यसमा खटिएकाहरूलाई सहयोग गरिदिने गरेको भए संख्यात्मक र तुलनात्मक रूपमा दुर्घटना कम हुन्थ्यो भन्ने हो ।
विपत् व्यवस्थापनमा नेपाल सरकारले कस्तो सतर्कता अपनाएको छ ? त्यो कत्तिको प्रभावकारी छ ? त्यो गत केही महिनाअगाडि सिन्धुपाल्चोकमा गएको पहिरो र हिमाली भेगमा गएको हिमपहिरोले थप स्पष्ट पारिदिएको छ भने हालै मात्र जाजरकोटमा सयौँले ज्यान गुमाउनुले दुर्गमको दुर्घटना नसुनेको भान दिलाएको छ । जाजरकोट एउटा सिटामोल नपाएर रुँदै थियो, अचानक भूकम्पले देशको अवस्था छियाछिया बनाइदिएको छ । आपत् कालीन समयलाई कसले कति कुन रूपमा लिने गरेको छ ? त्यस्तो समयमा सबैले राज्यको मुख मात्र ताकेर बस्ने गर्नाले पनि विपत् व्यवस्थापनमा समस्या नै समस्या रहेको देखिन्छ । आपत् कालीन समय पहिला कसैलाई थाहा हुँदैन । त्यस्ता समय अगावै थाहा पाउने बिरलै घटनाहरू छन् तर त्यसमा पनि प्राप्त गरेको सूचनामा सही हुने नहुने यकिन नभएर धेरै घटनाहरू घट्ने गर्दछन् । नेपाल सरकारले विपत्् परेको समयमा तत्कालै कार्यहरू सूचारु गरे घटनामा परेर मर्नेहरूको संख्यामा कमी ल्याउन सक्दछ ।
‘आपत् भन्ने कुरा बाजा बजाएर आउँदैन’ भन्ने नेपाली उखानले पनि सबैको आँखा खोलिदिएको छ । नेपाल सरकारको विपत् व्यवस्था यसरी सीमित बनेको छ भन्ने कुरा थाहा हुन्छ, कुनै कार्यक्रममा उच्चपदस्थ व्यक्तिहरू तुरुन्तै सहभागी हुँदै छन् भन्ने कुरा थाहा पाएपश्चात् प्रहरी र सुरक्षाकर्मीले बाटो भिडभाड तुरुन्तै नियन्त्रण गर्ने गर्दछ । यदि त्यस्तै नेपाली सर्वसाधारणको हक र हितमा सरकारी सेवादेखि अन्य सेवामा यसरी नै विपत् व्यवस्थापन गर्ने दिन कहिले आउन सक्ला ? यस विषयमा पनि सोच्नेले सोचविचार गर्नुपर्ने अवस्था सिर्जना भएको छ । आपत्कालीन समयमा दिने सूचनाको प्रभावकारिताका बारेमा विभिन्न कार्यक्रम गर्दै आए पनि ती सबै व्यावहारिकतामा लागू गर्ने स्थितिसम्म घटना हुँदैन । किनभने आपत्कालीन अवस्थामा उसले अपनाउने सुरक्षा र उसलाई सिकाइएको पाठको व्यवापक भिन्नता रहेको कुराले गर्दा पनि यस्तो विषयमा खासै प्रभाव पार्न सक्दैन । नीति र नियममा विपत् व्यवस्थापन मैत्री बनाउने भनिए पनि विभिन्न कार्यक्रममा दिइएको मिथ्या भाषणले कुनै प्रभाव पारेको छैन । राज्यले हरेक आवमा छुट्याएको बजेटमा विपत् व्यवस्थापनको खर्च कसरी खर्च भएको छ ? कतिको प्रभावकारी छ ? अनुगमन र मूल्यांकन नहुँदा पारदर्शिताको अभावमा विपत् व्यवस्थापन झेलिएको छ ।
विपत् व्यवस्थापनमा राज्यले गर्ने अर्बौं खर्चले विपत् व्यवस्थापनसम्बन्धी शिक्षा दिएको थियो भने व्यक्तिव्यक्तिमा आपत् र विपत्सम्बन्धी ज्ञान र व्यवहारिकतामा उतार्न मद्दत गर्ने थियो भन्नेहरूको पनि कमी छैन । हालसालै मात्र नेपाल सरकारले ७२ नगरपालिका थपे पनि पुरानै नगरपालिकामा विपत्को साधन दमकल उचित छैन भने यो नयाँ नगरपालिकाको काम र कर्तव्यमा कत्तिको प्रभावकारिता आउला । काभ्रेका पुराना नगरपालिकामा दमकल कहाँ छ ? अनुगमन मूल्यांकन नहुँदा यसको अवस्था कस्तो छ ? यससम्बन्धी विश्लेषण गर्नुपर्ने अवस्था आइरहेको छ । जोखिम व्यवस्थापन र न्यूनीकरण गर्न जे जति कार्य गरेको छ, त्यो सर्वहितको पक्षमा छ या छैन बुझ्नु जरुरी छ ।
समय कसैले देख्दैन कहाँ के हुन्छ, कतिखेर हुन्छ र हुँदै छ ? त्यो थाहा पाउन अड्कलवाजीको शिक्षा कहाँ छ ? कुन पाठ्यक्रममा कहाँ समावेश गरिएको छ ? भौगोलिक संरचना हेरेर, अनुभव र प्राकृतिक कुराको विश्लेषण गरेर त्यसको अग्रिम जानकारी प्राप्त गर्ने गरिरहेका थुप्रै देशहरू छन् जसमा छिमेकी राष्ट्र भारतकै कुरा गर्ने हो भने पनि गत केही महिनाअगाडि भारतको एउटा प्रान्तमा पहिरो जाने निश्चित भएपश्चात् त्यहाँको सरकारले तत्कालै त्यस ठाउँका मानिसलाई अन्तै बस्न सूचना दिएकाले गर्दा ठूलो दुर्घटना हुनबाट बचाएको थियो । विपत् व्यवस्थापन नीतिको कार्यान्व्यन कागजी रूपमा मात्र अगाडि बढेको भन्न सकिन्छ किनभने दुर्घटना भएपश्चात् तत्कालै गरिने कार्यमा चुस्त र दुरुस्त बनाउन राजनीतिक विवादले झेलिएको देशमा अफ्टेरो स्थिति देखापरेको छ । यस्तो संवेदनशील र गहकिलो विषयलाई नेपाल सरकारले ध्यान नदिँदा संकटमाथिको थप संकट
निम्तिइरहेको छ ।
दुई वर्षअगाडि जाजरकोटमा स्वास्थ्य समस्याले सयौँको ज्यान जानु, तराईमा जाडोको समयमा र वर्षाको समयमा हजारौँ संख्यामा मानिसहरू मर्नु, सडकदेखि हवाई दुर्घटनामा बर्सेनि हजारौँले ज्यान गुमाउनु नेपालको हालकै परिवेशमा पनि हालै मात्र गएको भूकम्पको राहतको कार्यक्रममा दलीय रूपमा अगाडि बढाइनु कत्तिको औचित्य मानिन्छ ।
सानो तर गहकिलो विषयलाई सामान्य रूपले लिँदा लाखौँको संख्यामा दुर्घटनाहरू र आर्थिक क्षति परिरहेको कुरालाई कसरी लिएका छन् ? बढ्दो प्रविधिको प्रयोगले संसारलाई साँघुरो बनाएको आभास दिलाएको छ तर त्यस्तो प्रविधिको प्रयोग विपत् व्यवस्थापनको कार्यमा गर्नसके कार्य सहजको स्थिति देखापर्दछ । आपत्कालीन समयमा आफ्नो सुरक्षा आफैँ गरौँ । सके अरूलाई बचाऔँ, नसके आपू बाँचौँ भन्ने नारालाई बुझ्ने हो भने त्यस्तो समयमा सबैले आफू सुरक्षित हुने बाटो अवलम्बन गर्नुपर्ने देखिन्छ ।
दुर्घटना भएपछिको राहत खर्च र दुर्घटना हुनु अगावै हुने सूचनाको खर्च तुलनात्मक रूपमा फरकफरक विषय हो । यस कुरालाई विपत् व्यवस्थापन विभागदेखि तपाईं व्यक्ति र हामीहरू स्वयंले नबुझ्दा भयावह दुर्घटना देखापर्ने गर्दछ । विपत् व्यवस्थापनको नामबाट हुने कार्यहरूले सबै कार्य गर्न नसक्ने र समय नहुने भएकाले गर्दा सम्पूर्ण तपाईं हामीले सरकारको मुख ताक्ने प्रवृत्ति त्यागी भ्रमहरूको अन्त्य गर्नाले पनि आफू विपत्बाट बच्न सक्छौँ ।
संसारमा एकै समयमा अनेकौँ घटना घट्छन् जसमा हजारौँले आफ्नो ज्यान अनाहकमा गुमाएका हुन्छन् । प्राकृतिक विपत्तिले हुने क्षतिबारे पहिले नै सूचना पाउन मुस्किल भएको समयमा मानवीय धर्म यस्तो विपत्तिको प्रमुख उपाय र ओखती बनिरहेको छ । संसारका धर्मवलम्बीहरूले बुझ्नै पर्ने मुख्य कुरा भनेको मानवीय कर्तव्य भन्ने बुझ्नुपर्दछ । त्यसैले धर्म गर्न मन्दिर नै धाइराख्नु जरुरत छैन । दुःखमा परेकाहरूलाई सहारा दिनु र सेवा गर्नु नै धर्म हो । यसलाई तपाईं हामीले कसरी लिएका छौँ ?
प्रतिक्रिया