काठमाडौं, १८ वैशाख । नेपालमा गएको महाभूकम्पको समाचार संकलन गर्न आएका भारतीय सञ्चारमाध्यमका प्रतिनिधिले कूटनीतिक मर्यादा विपरित, पत्रकार आचारसंहिताको समेत धज्जी उडाउने काम गरिरहेको आरोप लाग्न थालेको छ ।
भारतीय सञ्चारमाध्यमले नेपालका छिमेकी मुलुक पाकिस्तान र चीनविरुद्ध मात्र होइन, नेपालीको पनि आत्मसम्मानमा आँच आउने खालका समाचार सम्प्रेषण गरेको पाइएको छ । नेपालीले खान पाएका छैनन् भन्ने देखाउन प्रायोजित दृश्यहरू खिच्ने गरेको व्यापक चर्चा चल्न थालेको छ ।
त्रिभुवन विमानस्थलअगाडि जम्मा भएका सर्वसाधारणलाई आफैँले चिया खुवाएर क्यामेरा तेस्र्याउँदै ‘नेपाली एक कप चाय के लिए तरस रहे है’ भन्दै बोलिरहेको एक प्रत्यक्षदर्शीले बताए ।
राहत लिएर ग्रमीण क्षेत्रमा गएका हेलिकप्टरमा भारतीय सञ्चारकर्मी पनि सँगै लैजाने र आफैँले राहत बाँडेर टेलिभिजनमा ‘भूकम्पपीडित नेपाली खाने के लिए दाने दानेको तडबप रहे है’ भनेर समाचार प्रसारण गर्ने गरेको काभ्रे पुगेर फर्किएका एक पत्रकारले सौर्यलाई बताए ।
भारतीय सञ्चारमाध्यमले छिमेकी मुलुक पाकिस्तानविरुद्ध नेपाल र नेपालीलाई उक्साउने खालका समाचार सम्प्रेषण गरिरहेका मात्र होइनन्, नेपालीमा अझ त्रास फैलाउने किसिमका सामग्री निर्लज्जतापूर्वक प्रसारण गरिरहेका छन् ।
पाकिस्तानले पठाएको खाद्य सामग्रीमा ‘बिफ मसाला’ प्रयोग गरेको भन्ने भारतीय टेलिभिजन ‘आजतक’ को प्रोपोगन्डाको नेपाली सञ्चारमाध्यमले तीव्र आलोचना गरिरहेका छन् । कतिपय भारतीय टेलिभिजनले ‘अब यति बजे भूकम्प जान्छ’ भन्ने खालका त्रास बढाउने समाचार प्रसारण गरेकाले सर्वत्र आलोचना बेहोरेको छ ।
प्रचारको लोभविना चिनियाँ उद्धार टोलीले गरेको कार्य जनस्तरबाटै प्रशंसा हुन थालेपछि भारतीय पक्षलाई ‘डाहा’ भएको बताइन्छ । चिनियाँ टोलीले उद्धार कार्यमा अत्याधुनिक क्यामेराजडित रोबोटको प्रयोग गरेकाले उसलाई भत्केका घरहरूमा किचिएकालाई निकाल्न जोखिमरहित सफलता प्राप्त भएको छ ।
अत्याधुनिक क्यामेराजडित सानो आकारको रोबोटले भत्केका भवनहरूको स–साना प्वालहरूबाट समेत छिरेर फोटो खिच्ने भएकाले भग्नावशेषभित्र मानव शरीर भए नभएको पत्ता लगाउने बताइएको छ ।
चीनको तिब्बतसँग जोडिएको कोदारी पारी धेरै नेपाली थुनिएका छन्, सो सडक खुलाउन चीनले थप साना खालका हेलिकप्टर पठाउने भनेर गरेको अनुरोधलाई भारतीय पक्षकै दबाबका कारण सरकारले स्वीकृति नदिएको स्रोतले बताएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत बिहीबार एक कार्यक्रममा चिनियाँहरूले पठाउने भनेको थप उद्धार टोलीलाई स्वीकृति दिन सरकारलाई अनुरोध गरिसकेकोे खुलासा गरेका थिए ।
नेता ओलीले घुमाउरो पारामा केही विदेशी सञ्चारमाध्यमले अतिरञ्जित प्रचार गरेकोसमेत बताए ।
यसैबीच बिहीबार नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालले संयुक्त विज्ञप्ति जारी गर्दै पत्रकार आचारसंहिता कडाइका साथ पालना गर्न सबै सञ्चारमाध्यम र सञ्चारकर्मीलाई अनुरोध गरेको छ ।
महासंघका अध्यक्ष महेन्द्र विष्ट तथा काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीद्वारा संयुक्त रूपमा हस्ताक्षरित विज्ञप्तिमा ‘केही स्वदेशी तथा विदेशी सञ्चारमाध्यमले वस्तुस्थितिको स्वछन्द तथा गलत प्रस्तुति भइरहेको गुनासो प्राप्त भएको’ जनाएको छ ।
विज्ञप्तिमा सञ्चारजगत्समक्ष पत्रकार आचारसंहिताको दृढतापूर्वक पालना र राष्ट्रनिमार्णको महाअभियानमा समर्पित हुन आग्रह गरिएको छ ।
एक छुट्टै प्रसंगमा पत्रकार महासंघ अध्यक्ष विष्टले विदेशी सञ्चारमाध्यमले गरिरहेको गलत प्रचारबारे सञ्चारमन्त्री मीनेन्द्र रिजाललाई भेटेर जानकारी गराइसकेको बताएका थिए ।
प्रतिक्रिया