काठमाडौं । अप्रिल ४, १९६८ को दिन मेम्फिसस्थित एक होटलको कार पार्किङमा ३७ वर्षअघि मार्टिन लुथर किङ (एमएलके) माथि गोली दागिएको थियो । त्यो निसाना केवल एमएलकेमाथि मात्रै नभएर, मानवता, समानता र न्यायको वकालत गर्ने सारा विश्वमाथि लक्षित थियो । एमएलके क्षणभरमै ढलेर गए । तर, उनको नैतिकता, विचार, आदर्श कहिल्यै नढल्ने गरी विश्वसामु उभिएको छ । उनको महानतालाई हजारौं बन्दुकका नालले परास्त गर्न सकेन । २० औं शताब्दीमा पनि अन्याय स्वीकारेर बस्न बाध्य कालाहरूको पक्षमा अविराम संघर्ष गर्ने एमएलकेको जीवनगाथा रहस्यपूर्ण मात्रै होइन उत्तिकै रोचकसमेत छ ।
एमएलके हत्याको ३७ वर्षसम्म पनि विश्वकै शक्तिशाली देशले समेत मार्टिन लुथर किङको हत्यारा समात्न सकेको छैन । हत्याको आरोपमा धेरैमाथि आशंका गरिए पनि उनको हत्या रहस्यमै छ । तर एउटा, जीवित प्रतिमूर्तिका रूपमा उनको लिगेसी हरेक अमेरिकीमा खडा छ । सायद कसैले चिताएको समेत थिएन, मार्टिन लुथर किङका लागि त्यो अन्तिम साँझ हुनेछ । उनी अघिल्लो दिन मात्रै चर्को भाषण गरिरहेका थिए र भन्दै थिए, ‘मैले माथि देखेको छु र प्रतिज्ञा गरेको भू–भाग देखेको छु । म तपाईंहरूसँग त्यहाँ जानेछैन । तर, म आज तपाईंहरूलाई बुझ्न चाहन्छु, के हामी जनताका रूपमा आफूले प्रतिज्ञा गरेको भू–भागसम्म पुग्न सक्छौं ?’ संयोगवस आफैंले गरेको भाषणजस्तै भगवान् भेट्न गए, किङले ।
उनी बसेको मेम्फिसको होटलका मालिक लोयड जोबर्सले हत्यामा अमेरिकी सरकारका एजेन्सी र अन्य माफियाको संलग्नता रहेको दाबी गरेका थिए । उनले मेम्फिस पुलिसका अफिसरलाई नै किङको हत्याका लागि आफूले भाडामा लिएको दाबीसमेत गरे । पछि किङको परिवारले मुद्दा दायर गरेपछि स्थानीय अदालतले अमेरिकी सरकारका एजेन्सी र स्वयं लोय जोबर्सकोसमेत हत्यामा संलग्नता रहेको निर्णय सुनायो । जेम्स एर्ल रेईले गोली प्रहार गरेको विषयमा प्रतिवेदनले विश्वास गर्न नसकिने ठहर गरेको थियो । तर, ९९ वर्षको कैद सजाय तोकिएका रेईले ७० वर्षको उमेरमा जेलमै प्राण त्याग गरेपछि मार्टिन लुथर किङको हत्याको विषय थप रहस्यतर्फ धकेलियो । रेईलाई हत्याकाण्डमा बलीको बोको बनाइएको ठहर स्थानीय प्रशासनको थियो ।
अमेरिकाका थुप्रै राज्यमा तत्कालीन समयमा विद्यमान काला र गोराबीचको विभाजन र त्यसले जगाएको बदलाभावलाई मेटाउन एमएलकेले खेलेको भूमिकालाई विश्वले कहिल्यै भुल्ने छैन । सत्याग्रही एमएलकेबाट संसारका धेरै प्रभावित भए । एमएलकेले सन् १९५९ मा भारत भ्रमण गरेर गान्धी परिवारलाई भेटेका थिए, जसले उनलाई आफ्नो आन्दोलन उत्सर्गमा पु¥याउन थप प्रेरणा दियो । सन् १९५५ मा १५ वर्षकी एक बालिकाले मोन्टगोमेरीमा एक गोरा व्यक्तिलाई आफू बसेको सिट छाड्न अस्वीकार गरिन् । गोराको सिटमा जबर्जस्ती बसेको भन्दै उनलाई तत्काल प्रहरीले पक्राउ ग¥यो । त्यसयता कालाहरूले एमएलकेकै अगुवाइमा आन्दोलन छेडे । उनीहरूले बस नै बहिष्कार गर्न थाले । बसमा पनि काला र गोराका लागि छुट्टाछुट्टै सिटको व्यवस्था हुन्थ्यो । अस्पताल, विद्यालय र सिनेमा हलमासमेत त्यस्तै व्यवस्था थियो । जसको विरोधमा कालाहरूले एमएलकेकै अगुवाइमा तीन सय ८१ दिनसम्म अहिंसावादी आन्दोलन छेडे ।
राजनीतिमा आएका दुर्लभ अवसर सदुपयोग गर्न एमएलके माहिर थिए । उनले विभेदलाई अवसरका रूपमा बुझे र निरन्तर संघर्ष जारी राखे । उनीमाथि पटक–पटक आक्रमण र धम्कीको प्रयास भएको थियो, त्यसलाई सहज नजरअन्दाज गर्दै उनले काला जातिको पक्षमा लडाइँ जारी राखे ।
सन् १९६० मा एट्लान्टातर्फ पुगेको थियो, लुथर किङको परिवार । उनीले त्यहाँ एक चर्चमा आफ्ना बाबुसँगै सहायक पास्टरको काम गर्न थाले । तर, नयाँ पदले उनलाई संघर्षमा लाग्नबाट रोकेन । उनीहरूले नयाँ आन्दोलन चाले । मार्चपाससहित शान्तिपूर्ण बस बहिष्कारको आन्दोलन जारी रह्यो । सर्वाधिक रंगभेद हुने सहरमा उनीहरूले आन्दोलन जारी राखे । उनले सन् १९६३ मा वासिङटनमा कालाहरूलाई समान रोजगारी र स्वतन्त्रका लागि पनि आवाज उठाए । आन्दोलनको विश्वव्यापी चर्चा भयो । त्यही वर्ष अगस्टमा तीन लाखसम्मले प्रदर्शनमा सहभागिता जनाए । उनको अविराम संघर्षले अन्ततः अमेरिकी सरकारलाई झुकायो । सन् १९६४ मा समान अधिकारसहितको नयाँ ऐन पारित भयो । सन् १९६४ मै एमएलके नोबल शान्ति पुरस्कारबाट सम्मानित भए, जतिबेला उनी ३५ वर्षका थिए । त्यसको एक वर्षपछि अमेरिकाले मतदानसम्बन्धी ऐन ल्यायो ।
एमएलके लोकप्रियताको शिखरमा थिए । त्यसैले उनको हत्यामा धेरै संलग्न रहेको अनुमान गरियो । भियतनाम युद्धको विरोधमा उत्रिएर कालाको मात्रै नभई गोराहरूको समेत मन जित्ने मार्टिन लुथर किङसँग तत्कालीन सरकार समेत असन्तुष्ट थियो ।
मार्टिन लुथर किङको योगदानको कदर गर्दै सरकारले सन् १९८६ देखि अमेरिकामा सार्वजनिक बिदा दिँदै आएको छ । मार्टिन लुथर किङ सिनियर (एमएलकेका बाबु) चर्चका पास्टर थिए । उनकी श्रीमती अल्बार्ट विलियम्स किङ शिक्षिका थिइन् । उनीहरू दुवैले छोराले गरेको संघर्ष देखे । छोराको उचाइ देखे र आफ्नै अगाडि उसको कारुणिक हत्या देखे । जसको रहस्य उनीहरूको निधनपछि पनि खुल्न सकेको छैन ।
– एजेन्सीको सहयोगम
मेरो एउटा सपना छ
‘मृत्युअघि हामी हाम्रो दुश्मनका शब्द होइन, मित्रका मौनता मात्रै सम्झनेछौं ।’ वासिङटन डिसीस्थित लिंकन स्मृतिअगाडि सन् १९६३ मा मार्टिन लुथर किङ (एमएलके) ले एक यस्तो भाषण दिए, जुन भाषण सुन्न मैदानमा झन्डै तीन लाख मानिस थिए भने, लाखौंले टेलिभिजनमा हेरेका थिए । भनिन्छ, ‘प्रत्यक्ष किङको भाषण सुन्ने काला र गोराले एकअर्का अंकमाल गरेका थिए । अघिको रंगभेदलाई सम्झेर रोएका थिए ।’ किङको त्यतिबेलाको भाषण ‘मेरो एउटा सपना छ’ शीर्षकमा विश्वप्रसिद्ध छ । एमएलकेको उक्त भाषणको भावानुवाद ः
यो प्रदर्शन स्वतन्त्रताका लागि एक महान् प्रदर्शनका रूपमा हाम्रो इतिहासमा दर्ज हुनेछ । त्यस्तो प्रदर्शनमा आज तपाईंहरू माझ उपस्थित हुन पाउँदा खुसी लागेको छ । सय वर्षअघिका एक महान् अमेरिकी अब्राह्म लिंकन, उनको प्रतिमूर्तिको छायामा आज हामी उभिएका छौं । उनले स्वतन्त्रताको बिगुल फुकेका थिए । अन्याय र उत्पीडनमा परेका लाखौं कालाजाति दासलाई उनले गरेको मुक्तिको घोषणा आशाका किरण बोकेर आएको थियो । लामो रातको अन्त्यपछि सुखद् दिनको शुभारम्भका रूपमा त्यो घोषणालाई लिइयो ।
तर आज एक सय वर्षपछि अझै कालाजाति स्वतन्त्र छैनन् । सय वर्षपछि कालाजातिको जीवन अझै विभाजन र विभेदको जन्जिरले बाँधिएको छ । सय वर्षपछि निग्रो अर्थात् कालाजाति भौतिक समृद्धिको महासागरबीच गरिबीको एक्लो टापुमा निराश जीवन बाँचिरहेका छन् । उनीहरू अझै अमेरिकी समाजको कुनामा थन्क्याइएका छन् । र, आफ्नै भू–भागमा लज्जाजनक अवस्थामा शरणार्थी जीवन बिताउन बाध्य छन् ।
यस अर्थमा आज हामी राजधानीमा आफ्नो पुरानो चेकबाट नगद साट्न आएका छौं । हाम्रो गणतन्त्रका अभियन्ताहरूले संविधानमा सही शब्द रोज्दै स्वतन्त्रताको घोषणा गरेका थिए । उनीहरूको भीष्मप्रतिज्ञा सबैका लागि थियो । हो, काला, गोरा सबैका लागि जीवनको अधिकार सुरक्षित गर्ने उनीहरूको प्रतिज्ञा थियो । स्वतन्त्रता र खुसीको वहार थियो । तर, आज अमेरिकाले त्यो प्रतिज्ञा पूरा गर्न सकेन । आज अमेरिकाले कालाहरूलाई क्षतिपूर्तिका नाममा नक्कली चेक दिएको छ । त्यस्तो खाताको चेक जहाँ पर्याप्त पैसा छैन । तर, हामी अझै न्यायको बैंक लुटिएको मान्न तयार छैनौं । सम्भावनाको खानी रहेको यस देशको बैंकमा जनताका लागि न्यायको पर्याप्त रकम छैन भन्ने हामीलाई पटक्कै विश्वास छैन । हामी त्यही चेकलाई नगदमा बदल्न आएका छौं । त्यस्तो चेक, जसले हामीलाई बदलामा हदैसम्मको स्वतन्त्रता र न्यायिक सुरक्षा दिनेछ ।
हामी यस पवित्र क्षेत्रमा उच्छृंखल बन्दै गएको वर्तमान तनाव सुनाउन पनि आएका हौं । हामीसँग कुलिङ अफको आनन्द लिने वा निरन्तर विकासका प्रक्रिया आत्मसात गर्दै धैर्यताको ड्रग्स लिने समय छैन । यो विभाजनको अँध्यारो मरुभूमिबाट उठ्दै रंगभेद हटाएर न्यायको सुनौलो गोरेटोमा बढ्ने समय हो । हाम्रो देशलाई रंगभेदको बालुवाबाट उठाएर भ्रातृत्वको कडा चट्टानसम्म लैजाने समय हो । यो समय भगवान्का सबै बालबच्चाका लागि न्यायको सपना वास्तविकतामा परिणत गर्ने समय हो ।
वर्तमान आन्दोलनको महत्वलाई कम आँक्नु राष्ट्रका लागि खतरनाक हुनेछ । यो अधिकारप्रतिको निग्रोको असन्तुष्टिको तातो गर्मीयाम हो । त्यसैले स्वतन्त्रता र समानताको हिउँदले ताजा नगरेसम्म यो तातो पोल्ने गर्मी हट्नेछैन । सन् १९६३ अन्त्य होइन, तर सुरुआत हो । त्यसैले अमेरिकाले फेरि पुरानै अवस्थामा फर्कन खोजे निग्रोहरू असभ्य रूपमा जाग्नेछन् । निग्रोले आफ्नो अधिकार नपाएसम्म अमेरिकामा न शान्ति हुनेछ न त अमनचैन नै । आन्दोलनको आँधी हाम्रो देशको जगसम्म पुग्नेछ, जतिबेलासम्म न्यायको सुनौलो घाम उदाउने छैन ।
न्यायको दरबारसम्म पु¥याउने दैलोमा उभिनुभएका जनतासामु मैले अझै केही भन्नैपर्ने हुन्छ । हामीले आफ्नो अधिकार प्राप्तिका क्रममा गलत काम गरेर पश्चात्ताप गर्नुपर्ने दिन नआओस् । घृणा र अशान्तिको कपबाट पानी खाएर अधिकारको तीर्खा मेट्ने प्रयास कृपया हामी नगरौं । हामीले हाम्रो संघर्षलाई अनुशासन र वजनको अग्लो विमानमा सजाउनुपर्छ । सिर्जनात्मक प्रदर्शनलाई भौतिक दंगा वा उच्छृंखलतामा लगेर ठोक्काउनु राम्रो हुँदैन । जारी राख्नुपर्छ । फेरि पनि हामीले राजकीय शैलीमा उदाउँदै भौतिक फौजसँग आत्मिक बलले लड्ने ताकत राख्नुपर्छ । निग्रो समुदायका हरेक सैन्यले हामीलाई प्रत्येक गोराहरूसँग अविश्वास गर्नका लागि बाध्य पार्न मिल्दैन । हाम्रा धेरै गोरा दाजुभाइ आज साक्षीका रूपमा यहाँ उपस्थित हुनुहुन्छ । उहाँहरूलाई थाहा छ कि हाम्रो गन्तव्य र उहाँहरूको गन्तव्य जोडिएको छ । उहाँहरूले यो मनन् गरिसक्नुभएको छ कि हामी स्वतन्त्र नभएसम्म उहाँहरूको स्वतन्त्रता कुन्ठित नै रहनेछ ।
हामी एक्लै हिँड्न सक्दैनौं । हामीले हिडँ्दा सधैं प्रतिज्ञा गर्न सक्नुपर्छ, हामी अगाडि जानेछौं । हामी पछाडि फर्कन सक्दैनौं ।
त्यहाँ जनअधिकारका अनुयायीसँग प्रश्न राख्नेहरू भन्छन्, ‘तिमीहरू कहिले सन्तुष्ट हुन्छौ ।’ हामी त्यति बेलासम्म सन्तुष्ट हुन सक्दैनौं, जति बेलासम्म निग्रोहरू प्रहरीको क्रूरताका कारण त्रासविरुद्ध बोल्न सक्दैनन् । हामी त्यति बेलासम्म सन्तुष्ट हुन सक्दैनौं, जति बेलासम्म हाम्रो शरीरले लामो यात्रापछि थकित भएर सहरको होटलमा आराम गर्न कोठा पाउँदैनौं । हामी निग्रोका आधातभूत तत्व पूरा नभएसम्म सन्तुष्ट हुँदैनौं । हामी कहिल्यै सन्तुष्ट हुँदैनौँ जबसम्म हाम्रा बालबालिका आफ्नोपनबाट नांगो रहन्छन् र ‘गोराहरूका लागि मात्रै’ भनेर लेखिएका संकेतहरूबाट उनीहरूको विचारको तौल लुटिन्छ । हामी त्यति बेलासम्म सन्तुष्ट हुँदैनौं, जति बेलासम्म मिसिसिपीको निग्रोले भोट गर्ने अधिकार पाउँदैन । त्यति बेलासम्म जतिबेलासम्म न्युर्योकको निग्रोले भोट हाल्नुपर्ने कारण पाउँदैन । हामी त्यति बेलासम्म सन्तुष्ट हुनेछैनौं, जति बेलासम्म ‘न्याय पानी जसरी बग्नेछैन र अधिकार कडा मूलझैं फुट्नेछैन ।’
तपाईंहरूमध्ये यहाँ उपस्थित
धेरैले महान् समस्या भोगेको कुरासँग म बेखबर छैन । कोही भर्खरै जेलबाट छुटेर आउनुभएको छ । कसैले आफ्नो क्षेत्रमा स्वतन्त्रताका लागि लड्दा मानसिक पीडाको आँधी र प्रहरीको क्रूरता सामना गर्नुपरेको छ । तपाईंहरू सिर्जनात्मक पीडाका दिग्गज हुनुहुन्छ । यो विश्वासका साथ काम अघि बढाउनुहोस् कि नसुनिएको पीडा अझै शक्तिशाली हुन्छ । मिसिसिपी फर्कनुस्, अलाबामा फर्कनुस्, दक्षिणी कारोलिना फर्कनुस्, जर्जिया फर्कुनस्, लुइसियाना फर्कनुस् । उत्तरी सहरका झुपडीहरूतिर फर्कनुस्, यो बुझेर कि अहिलेको अवस्थामा परिवर्तन हुनेछ ।
आशाबिनाको उपत्यका भ्रमण नगर्नुहोस्, मेरा साथीहरू, आज म भन्दै छु । हामी आज र भोलिका समस्या भोग्दै छौँ, मसँग अझै सपना छ । यो सपना अमेरिकी सपनासित गहिरोसँग जोडिएको छ ।
मेरो सपना छ कि एक दिन यो राष्ट्र जाग्नेछ र यसको सच्चा अर्थसँग मलाई विश्वास छ– यो सत्य साँचो हुनेछ कि सबै मानिसको सृष्टि समान हो ।
मेरो सपना छ, एक दिन जर्जियाको रेडहिलमा पूर्वनोकरको छोरा र पूर्वनोकरको मालिकको छोरा एउटै टेबुलमा भ्रातृत्वको भावनासहित बस्ने छन् ।
मेरो सपना छ, एक दिन मिसिसिपी राज्य, अन्यायको गर्मी चढेको राज्य, दमनको गर्मी चढेको राज्य, एक दिन स्वतन्त्रता र न्यायको राज्य बन्नेछ ।
मेरा सपना छ, एक दिन मेरा चार छोराछोरी त्यस्तो देशमा हुनेछन्, जहाँ उनीहरूको मूल्यांकन छालाको रङबाट होइन, बरु उनीहरूको चरित्रबाट हुनेछ ।
मसँग आज सपना छ ।
मसँग सपना छ– अलाबामा, जहाँ क्रूर रंगभेदी छन्, त्यहाँ एक दिन सानो कालो बच्चा र सानी काली बच्चीले सानो गोरो बच्चा र सानी गोरी बच्चीसँग दाजु र बहिनीका रूपमा हात मिलाउनेछन् ।
मसँग आज सपना छ ।
मसँग सपना छ– कुनै दिन सबै उपत्यका उच्च हुनेछन् र सबै पहाड तथा हिमालहरू झुकेका हुनेछन् । बाँझो जमिनहरू खेतीयोग्य हुनेछन् र घुमाउरा ठाउँहरू सिधा हुनेछन् । भगवान्को महिमा प्रदर्शन हुनेछ र सबै जीवितहरूले त्यसलाई एकसाथ हेर्नेछन् । यो हाम्रो आशा हो र यही आशा बोकेर म दक्षिण जाँदै छु ।
यही विश्वासका साथ हामी आशाको ढुंगाले हामी निराशाका शिखर चिर्नेछौं । आशाको ढुंगा खोज्नेछु । जंगली अवस्थामा रहेको हाम्रो देशलाई भ्रातृत्वको सुन्दर कलाका रूपमा रूपान्तरण गर्नेछु । यही आशाका साथ हामी एकसाथ काम गर्न सक्छौं । एकसाथ प्रार्थना गर्न सक्छौं । एकसाथ संघर्ष गर्न सक्छौं । एकसाथ जेल जान सक्छौं । एकसाथ स्वतन्त्रताका लागि उभिन सक्छौं । यही थाहा पाएर कि एक दिन हामी स्वतन्त्र हुनेछांै । र, त्यो दिन हुनेछ, जब सबै भगवान्का बालबच्चाले नयाँ अर्थसहित हाम्रो राष्ट्रिय गीत गाउनेछन् । र, यदि अमेरिका महान् देश हुने यो भने यो साँचो हुन आवश्यक छ ।
स्वतन्त्रतालाई न्यू ह्याम्प्सायरको हिलटपबाट बज्न दिऔं, स्वतन्त्रतालाई न्यूयोर्कको हिमालहरूबाट बज्न दिऔं…, स्वतन्त्रतालाई हरेक पहाड र मिसिसिपीबाट बज्न दिऔं…
यस्तो हुनेछ र हामीले स्वतन्त्रतालाई बज्न दिनेछौं । जब हामीले यसलाई हरेक गाउँ, राज्य र सहरबाट बज्न दिनेछौं, तब एक दिन सबै भगवान्का सन्तान, काला र गोरा, जिउज र जेन्टाल्स, प्रोटेस्टटेन्ट र क्याथोलिकहरू एकसाथ हातेमालो गर्न सक्नेछौं र पुराना निग्रोका आध्यात्मिक शब्द एकसाथ गाउन सक्नेछौं ।
अन्त्यमा स्वतन्त्र ! अन्त्यमा स्वतन्त्र ! धन्य भगवान्, अन्त्यमा हामी स्वतन्त्र छौं..
प्रतिक्रिया