काठमाडौं, ५ वैशाख । भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएका पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको शुक्रबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री थापाका छोरा वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापाले उनको पार्थिव–शरीरमा दागबत्ती दिए ।
थापाको पार्थिव–शरीर आर्यघाट लैजानुअघि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अन्तिम श्रद्धान्जलीका लागि राखिएको थियो । त्यसअघि मालीगाउँस्थित उनको निवास र चावहिलस्थित पार्टी कार्यालयमा पनि श्रद्धाञ्जलीका लागि राखिएको थियो ।
प्रधानमन्त्री सुशील कोइरालाले दशरथ रंगशाला पुगेर थापाको पार्थिव–शरीरमा राष्ट्रिय झन्डा ओढाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, संविधानसभा अध्यक्ष सुवास नेबवाङ, नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतले थापाको पार्थिव–शरीरमा श्रद्धाञ्जली दिएका थिए । रंगशालामा थापालाई अन्तिम श्रद्धाञ्जली दिन सर्वसाधारणको ठूलो उपस्थिति थियो । दिउँसो १ देखि ३ बजेसम्म थापाको पार्थिव शरीरलाई रंगशालामा राखिएको थियो ।
थापाको अन्त्येष्टिमा सहभागी हुन सभाध्यक्ष नेम्बाङ, उपप्रधान एवं गृहमन्त्री वामदेव गौतम, एमाले नेता माधवकुमार नेपाल, फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारलगायत विभिन्न दलका नेता तथा कार्यकर्ता आर्यघाट पुगेका थिए ।
अन्तिम श्रद्धाञ्जलीपछि सेनाको टुकडीले सलामी दिएपछि उनको शवयात्रा गरिएको थियो । रंगशालाबाट रत्नपार्क, जमल, कमलपोखरी, ज्ञानेश्वर, गौशाला हुँदै आर्यघाटसम्म थापाको शवयात्रा गरिएको थियो ।
थापाको पार्थिव–शरीरमा पार्टी कार्यालय चावहिलमा अध्यक्ष पशुपति शमशेर जबराले पार्टीको झन्डा ओढाएका थिए । बिहान १० देखि १ बजेसम्म पार्टी कार्यालयमा पार्थिव–शरीर राखिएको थियो ।
खथापालाई पूर्वप्रधानमन्त्रीको हैसियतमा सरकारले राजकीय सम्मान दिएको हो । उनको राजकीय सम्मानका साथ अन्त्येष्टिका लागि बिहीबार मन्त्रिपरिषद् बैठक बसेको थियो । सरकारले शुक्रबार सार्वजनिक बिदा दिँदै देशभरका सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइयो ।
पाँचपटक प्रधानमन्त्री बनेका थापाले संविधानसभाको ज्येष्ठ सदस्यका रूपमा सभाध्यक्ष नेम्बाङलाई शपथ गराएका थिए । थापा र छोरा सुनील पहिलोपटक एकसाथ संविधानसभा सदस्य भएका थिए ।
१९८४ सालमा धनकुटाको मुगामा जन्मिएका थापा ६० वर्षे राजनीतिक यात्रामा पञ्चायतदेखि बहुदलीय व्यवस्था हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म रूपान्तरित भएका थिए ।
उनी बहुदलीय प्रजातन्त्र काल ०५४ र ०६० मा पनि दुईपटक प्रधानमन्त्री भएका थिए । तीन राजाको शासनकालदेखि गणतन्त्रसम्म उत्तिकै सक्रिय उनी राजनीतिका चतुर खेलाडी मानिन्थे ।
थापाको निधनले दुखित छु : राष्ट्रपति
राष्ट्रपति डा. रामवरण यादवले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधनले आफू दुखित भएको बताएका छन् ।
राष्ट्रपति कार्यालयबाट शुक्रबार ज्ञारी विज्ञप्तिमा पटक–पटक नेपालका प्रधानमन्त्री पदमा रही राष्ट्रको गहन जिम्मेवारी बहन गरेका कुशल एवं अनुभवी राजनीतिज्ञ थापाको निधनबाट संक्रमकालीन अवस्थाबाट गुज्रिरहेको हाम्रो मुलुकमा ठूलो क्षति भएको उल्लेख छ ।
राष्ट्रपति डा. यादवले आफ्नो सम्पूर्ण जीवन मुलुकको राजनीतिमा समर्पण गरेका थापाको समन्वयकारी भूमिका, स्पष्ट राजनीतिक दृष्टिकोण, दृढ इच्छाशक्ति र सन्तुलित व्यवहार सदाका लागि स्मरणीय भएको बताएका छन् ।
प्रतिक्रिया