देशभर आजदेखि भर्ना अभियान सुरु

women-education1भक्तपुर, ३ वैशाख । शिक्षा विभागले आजदेखि देशभर भर्ना अभियान सञ्चालन गरेको छ । ‘हिंसा, यौन दुव्र्यवहार र विभेदमुक्त विद्यालय बनाऔँं, सबै बालबालिकालाई विद्यालय पठाऔँ’ भन्ने नारासहित विभागले आजदेखि देशभर भर्ना अभियान सञ्चालन गरेको विभागका महानिर्देशक डिल्लीराम रिमालले जानकारी दिए ।

महानिर्देशक रिमालका अनुसार अहिलेसम्म ९६ दशमलव २ प्रतिशत विद्यार्थी भर्ना रहेकामा आजदेखि सञ्चालन हुने भर्ना अभियानबाट विद्यालय जानबाट वञ्चित रहेका ३ दशमलव ८ प्रतिशत अर्थात् करिब एक लाख ३३ हजार बालबालिकालाई विद्यालयमा भर्ना गराउने लक्ष्य राखिएको छ ।

यसैगरी जिल्ला शिक्षा कार्यालय भक्तपुरले विद्यालय बाहिर रहेका बालबालिकालाई भर्ना गरी कोही पनि विद्यालय बाहिर छैनन् भन्ने सन्देश दिन जिल्लाका सम्पूर्ण विद्यालयमा भर्ना अभियान सुरु गरेको छ ।

भर्ना अभियानअन्तर्गत नै कार्यालयले आज भक्तपुरमा सचेतनामूलक -यालीको आयोेजना गरेको छ ।

कार्यालयले वैशाख १५ गतेसम्म भर्ना हुन विद्यालय आउने विद्यार्थीलाई विद्यालयमा नियमित भर्ना गराउने र त्यसपछि वैशाख ३० सम्म घरदैलो अभियानमार्फत तथ्याङ्क सङ्कलन गरी विद्यार्थी भर्ना गराउने जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जानकारी दिए ।

कार्यालयले आदिवासी जनजाति, दलित र अपाङ्ग बालबालिका भर्ना गराउन छात्रवृत्तिको व्यवस्था गरेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया