प्रहरी सेटिङमै जुवातास

juwa-tashमहोत्तरी, ३ वैशाख । जुवाडेहरू र प्रहरी प्रशासनबीचको मिलेमतोमा महोत्तरीको बर्दिवासमा व्यावसायिक रूपमा जुवातासको खाल खेलाइने गरेको खुल्न आएको छ । महोत्तरीको बर्दिवास नगरपालिका–१ बाट एक साता अघि ठूलो संख्यामा जुवाडेहरू पक्राउ परेपछि यस्तो तथ्य खुल्न आएको हो ।

सो क्रममा जुवातास खेलिरहेका ३२ जना जुवाडेलाई सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय महोत्तरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय बर्दिवासको जिम्मा लगाएको थियो । जिल्लामा यती ठूलो संख्यामा जुवाडे पक्राउ परेको पहिलो घटना हो ।

बर्दिवास–१ औरही रोडस्थित प्रेमकुमारी मगरकोे घरमा जुवा खेलिरहेका जुवाडेलाई सशस्त्र प्रहरीको टोलीले जुवा खेलिरहेको स्थानमै घेरा हालेर पक्राउ गरेको थियो । यसअघि जुवातासमा पक्राउ परेका जुवाडे फेरि पक्राउ परेका थिए ।

बर्दिवास–१ का गोपालबहादुर मल्ल, इस्राइन चुरौटे, धनुषा नपा–१४ बस्ने नन्दकिशोर महतो, सर्लाहीका श्याम लामा यसअघि समेत पक्राउ परेका इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

बर्दिवास–१ का गोपालबहादुर मल्लले प्रेम कुमारीको घर नै भाडामा लिएको र सोही कोठामा करिब एक महिनादेखि जुवातास खेलाउने गरेको खुल्न आएको छ । मासिक भाडा बुझाउने गरी मल्ललगायतका जुवा सञ्चालकले फागुनदेखि कोठा भाडामा लिएको मगरले बताइन् ।

जुवातासको खाल सञ्चालन गर्न महोत्तरीका प्रहरी उच्च अधिकारीहरूले मासिक नजराना लिएर जुवाको खाल सञ्चालन गर्न छुट दिएको स्रोतले जनाएको छ । कौडा एवं जुवातासको खाल सञ्चालनका लागि बर्दिवासमा जुवातास सञ्चालन गरिरहेको गिरोहले जिल्ला प्रहरी कार्यालय प्रमुख सौरभ राणालाई फागुन महिनामा पाँच लाख रुपैयाँ र इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख रमेश पण्डितलाई एक लाख रुपैयाँ बुझाएको खुल्न आएको छ ।

बर्दिवासबाट जुवाडेहरू पक्राउ परेपछि जुवातास सञ्चालनमा प्रहरी उच्च अधिकारीहरूको समेत संग्लनता रहेको खुल्न आएको हो ।

स्रोतका अनुसार प्रहरीले खेल सञ्चालन गर्दा बाधा पु-याउने भएकोले कुनै पनि किसिमको वाधा अवरोध नगर्न भन्दै उक्त रकम बुझाएको स्रोतको दावी छ । यसरी बुझाएको रकम मध्यमाञ्चल प्रहरी कार्यालयका प्रमुखसम्म पुग्ने गरेको समेत स्रोतले दावी ग-यो । जुवा खेलाउन नजरानाको रकम इलाका, जिल्ला हुँदै क्षेत्रीय प्रहरी कार्यालयसम्म पुग्ने गरेको छ ।

यसअघि खैरमारामा खेलाइने जुवा विगत एक महिनादेखि बर्दिवासमा सरेको हो । श्रोतका अनुसार उक्त रकम जिल्लास्थित सशस्त्र प्रहरीप्रमुखसम्म पुग्ने गरेको छ । बर्दिवासको घटनामा भने सशस्त्र प्रहरीका प्रमुखलाई नजराना वापतको रकम नपुग्दा छापा मारिएको समेत खुल्न आएको छ । सशस्त्र प्रहरीले पहिलो घेरा हालेर छापा मारिसकेपछि नेपाल प्रहरीलाई पक्राउ परेकाहरू बुझाउन बोलाइएको थियो ।

पछि सशस्त्र प्रहरीलाई जुवातास खेलाउँदा पाइने रकम नपाएकोे जुवातास खेल सञ्चालन गर्दै आएकाबाट खुल्न आएको छ । सशस्त्र प्रहरी प्रमुख समेतलाई नजराना बुझाएपछि मात्र खेल सञ्चालन हुने गरेकोमा यसपटक त्यो नभएपछि सशस्त्रले छापा मारेको हो ।

जिल्लाको व्यावसायिक रूपमा जुवातास खेल सञ्चालन गर्दै आएका समूहले वैशाखमा जिल्लाका सशस्त्रप्रहरी प्रमुखलाई पनि नजराना बुझाउने तयारी गरिरहेको बुझिएको छ । तर, गिरोहको तयारीबारे अनविज्ञ सशस्त्र प्रहरी प्रमुखले आपूmलाई बाइपास गरेको सोचेर खालमा छापा मार्न लगाएका हुन् ।

यस सम्बन्धमा भने आपूmलाई केही थाहा नभएको र कुनै प्रकारको प्रलोभनमा परेको वा मासिक रकम लिने नगरेको भन्दै उक्त कुरा झुठो भएको छिन्नमस्ता सशस्त्र प्रहरी गणका प्रमुख सुदर्शन सिलवालले बताएका छन् । यस्तै सीमा सुरक्षा कार्यालयका एसपी धीरेन्द्र पाण्डेले समेत आपूले कुनै त्यस्तो रकम लिने नगरेको भन्दै असामाजिक क्रियापलाप बारे आपूलाई खबर आएको हुँदा छापा मारिएको बताए । सशस्त्रले छापा मारेपछि जुवाडेहरूले कुरा मिलाउन कोशिश गरेका थिए ।

करिब एक घन्टा जुवाडे र सशस्त्रका बीच वार्ता हुँदै गर्दा छापा मारिएको खबर सबैतिर हल्ला भएपछि घटनालाई गुपचुप गर्ने योजना तुहिएको थियो । इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायव उपरीक्षक रमेश पण्डितले भने आपूm चैतमा हाजिर भएको भन्दै जुवातास सञ्चालन गर्दै आएकाले बुझाएको बारे आपूmलाई केही थाहा नभएको र आफ्नो नामबाट कोही कसैले बुझेको भए आपूmले चाँडै त्यसबारे छानबिन गर्ने बताए ।

यसैबीच जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका ३२ जना सबैमाथि जुवा ऐनअन्तर्गत मुद्दा दायर गरी म्याद थप गरिएको छ । सबैमाथि जुवा ऐनअन्तर्गत मुद्दा दायर गरिएको छ ।

यसैबीच लाखौँको खेल हुने ठाँउबाट ९ हजार पाँच सय मात्र बरामद हुनुलाई स्थानीयले देखाउने दाँत भनेकाले घटना शंकास्पद रहेको बताएका छन् । लाखौँको खेल हुने ठाँउबाट रकम कसले गायव बनायो भन्ने अहिले चासोको विषय बनेको छ । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पण्डितले भने, ‘सशस्त्र र हाम्रो संयुक्त टोली पुग्दा खालबाट भेटिएको रकम नै त्यति नै थियो’ ।

स्थानीय एक व्यक्तिले नाम उल्लेख नगर्ने सर्तमा भने दैनिक बर्दिवासमा औरही, गौशाला, सर्लाही, धनुषा, सिन्धुलीलगायतका ठाँउबाट ठूला व्यापारी तथा प्रतिष्ठितहरू त्यहाँ खेल्न आउने गरेका छन् । त्यति धेरै संख्यामा जुवाडे रङ्गेहात पक्राउ पर्दा पनि ९ हजार मात्र देखाइएकाले सेटिङ मिलाएर खेल्ने गरिएको आशंका व्यक्त गरे ।

महोत्तरीमा यसअघि पनि बर्दिवास कालापानी र रामगोपालपुरबाट जुवाडे पक्राउ परेका थिए । यसैबीच बर्दिवासमा व्यावसायिक रूपमा हुँदै आएको जुवा खेललाई इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख रमेश पण्डितले कडाई गर्ने बताएका छन् । उनले जुवा खेले वा खेलाइएको पाइएमा कडा कारबाही गरिने बताए ।

जुवातास एवं कौडा खेल्नको लागि औरही, गौशाला, हात्तीलेट, बर्दिवासलगायत सर्लाही, सिन्धुली र धनुषा तथा भारतीय सीमावर्तीबाट समेत व्यक्तिहरू आउने गरेका स्थानीयले बताएका छन् । तास तथा जुवा खेल्न राजनीतिक दलका नेता, शिक्षकलगायत व्यापारी आउने गरेका छन् ।

प्रतिक्रिया