तेहरान, ३ वैशाख । अमेरिकाले इरानसँग पारमाणविक सम्झौता गरेमा त्यसमाथि कारवाही गर्नसक्ने संसद् कंग्रेसको चेतावनीलाई अस्वीकार गर्दै इरानी राष्ट्रपति हसन रुहानीले तेहरानले यस्तो वार्ता अमेरिकी सासदसँग गरेको नभई विश्वका शक्ति मुलुकसँग गरिरहेको बताएका छन् । अमेरिकी संसद्को माथिल्लो सभा सिनेटको विदेश सम्बन्ध समितिले इरानको पारमाणविक मुद्दामा सम्भावित अन्तिम समझौतामा पुनरावलोकन गर्नसक्ने संसद्लाई अधिकार प्राप्त हुने विधेयकलाई अनुमति दिएपछि इरानी राष्ट्रपति रुहानीको उक्त टिप्पणी आएको हो । उक्त विधेयकलाई संसद्ले पारित गर्ने अनुमान गरिएको छ । यसो भएमा राष्ट्रपति बाराक ओबामाले सांसद्हरूलाई कुनै पनि समझौतामा ६० दिनभित्र परीक्षण गर्न र त्यसलाई रोक्न समय दिनुपर्छ ।
इरानको उत्तरी भागमा रहेको नगर रास्तमा एक सम्बोधनमा राष्ट्रपति रुहानीले आफूहरूले अमेरिकी सिनेटसँग वार्ता नगरेको, आपूmहरूले अमेरिकी प्रतिनिधिसभासँग पनि वार्ता
नगरेको र आफूहरूले ‘पीफाइब प्लस वन’ नाम गरेको समूहसँग वार्ता गरिरहेको बताए । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्का पाँच स्थायी सदस्य बेलायत, चीन, फ्रान्स, रसिया तथा अमेरिकाका साथमा जर्मनीका सरकारलाई यो नाम दिइएको छ ।
उनले अमेरिकी सिनेटले के भन्छ, अमेरिकी प्रतिनिधिसभाले के चाहन्छ, अमेरिकी कट्टरपन्थीहरू केका पछाडि छन् र अमेरिकी अभिरुचि नियोगले यस क्षेत्रमा के भन्छ भन्ने कुरा आफ्नो मुलुक र सरकारका लागि चासोको विषय नभएको बताए । उनले ठूला शक्तिलाई सम्मानपूर्ण समझौता गर्न र इरानी मुलुकका लागि सम्मान दिन आग्रह गर्दै यसका लागि तेहरानले लचकता देखाउन बताए ।
अप्रिल २ मा यी पक्षहरूले एक सम्झौतामा गरेका थिए । उनीहरूबीच मङ्गलबार वार्ता हुने भएको छ र जुन ३० सम्म अन्तिम सम्झौता हुनुपर्नेछ । उनीहरूले इरानमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने समयसीमाका साथमा अनेकौँ प्राविधिक विषयमा समाधान निकाल्नुपर्छ । इरानी राष्ट्रपति रुहानीले प्रतिबन्ध अन्त्य नभएसम्म कुनै सम्झौता नहुने बताए ।
इरानले सम्झौतामा हस्ताक्षर गर्नासाथ प्रतिबन्ध हट्नुपर्ने माग गरेको छ भने शक्तिमुलुकले प्रतिबन्ध क्रमिक रूपमा घट्दै जाने र इरानले सम्झौता तोडे तत्कालै पुनः लागू हुने संयन्त्र सुनिश्चित गर्न चाहेको छ । अर्कोतिर बुधबार इजरायलले अमेरिकी कंग्रेसको उक्त पाइलाको स्वागत गरेको छ । इजरायल इरान तथा शक्ति मुलुकबीच देखा परेको सम्झौताको विरोधमा रहेको छ । उसले यस्तो समझौताले इरानको पारमाणविक क्रियाकलाप नरोकिने दाबी गरेको छ र उसले अमेरिकी संसदमा आफ्ना समर्थकहरूलाई यस प्रकारको समझौता रोक्न त्यसको विरोधमा उतारेको छ ।
अमेरिकी प्रशासनले इरानसँग पारमाणविक सम्झौतालाई प्रमुख प्राथमिकतामा पारेको छ । उसले यस प्रकारको विधेयक पारित हुननदिन निकै प्रयास गरेको थियो । अमेरिकी विदेशमन्त्री जोन केरीले सिनेटको विदेशसम्बन्धी समितिमा मंगलबार यस विषयमा सम्झौतामा नपुग्दासम्म दुई दिन निकै प्रयास गरेका थिए । उक्त सम्झौताको विधेयकले कुनै पनि सम्झौतामा कंग्रेसले पुनरावलोकन गर्न पाउने व्यवस्था गरेको छ ।
इजरायली गुप्तचरमन्त्री युभाल स्टिननिजले सांसद्हरूले कुनै पनि सम्झौताको पुनरावलोकन गर्न पाउने यस विधेयकको स्वागत गरेका छन् । ‘जी सेभेन’ समूहको विदेशमन्त्रीको बैठकमा उपस्थित हुन ढिलो जर्मनी आइपुगेका विदेशमन्त्री केरीले उक्त सम्झौताको स्वागत गरे र उनले यसले जुन ३० सम्म इरानसँग पूर्ण सम्झौता गर्ने प्रशासनको क्षमतालाई प्रभाव नपार्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया