विद्यालयले तोकेकै ठाउँमा पुस्तक किन्ने बाध्यता

Laxyabahadur Kcकाठमाडौं, ३ वैशाख । डिल्लीबजारस्थित निजी तथा आवासीय विद्यालय एसोसिएसन (प्याब्सन)का अध्यक्ष लक्ष्यबहादुर केसीले सूर्याेदय ज्योति सेकन्डरी स्कुलले आफ्नै गेटअगाडिको स्टेसनरीबाट अभिभावकलाई पुस्तक किन्न निर्देशन दिएको छ ।

विद्यार्थी भर्ना गर्न आउँदा प्रत्येक अभिभावकलाई लेखा शाखामा बसेका लेखापालले भर्नासँगै अगाडिको स्टेसनरीमा पुस्तक किन्न भन्ने गर्छन् ।

यस्तै, शंखमूलस्थित काठमाडौं मोडेल स्कुलले गेटअगाडिकै वृत्तान्त स्टेसनरीमा अभिभावकलाई किताब किन्न निर्देशन दिएको छ । स्टेसनरीले गेटअगाडि केएमसीको पुस्तक आफ्नोमा मात्र पाइन्छ भनेर ब्यानर नै टाँसेको छ ।

यी त उदाहरणमात्र हुन् । नियमविपरीत निजी विद्यालयले अभिभावकलाई आफूले तोकेको ठाउँँमा पुस्तक किन्न बाध्य पारेको वर्षौं भएको छ ।

नयाँ शैक्षिकसत्रसँगै नियमविपरीत निजी विद्यालयले अभिभावकलाई तोकिएको ठाउँँमा पुस्तक किन्न बाध्य पारेर मोटो कमिसन खाने गरेका छन् ।

निजी विद्यालयअगाडि खुलेका स्टेसनरीमा फलानो स्कुलको किताब हाम्रोमा मात्र पाइन्छ भनेर प्रचार नै भइरहेको छ ।

कतिपय निजी विद्यालयले अभिभावकले अन्तै पुस्तक किन्लान् भनेर स्टेसनरीको नाम नै तोकेर सूची नै दिने गरेका छन् । केही वर्षयता शिक्षा विभागले विद्यालयलाई तोकेका ठाउँमा किन्न बाध्य नपार्न भने पनि अटेर गरिरहेका छन् ।

संस्थागत विद्यालय सञ्चालन मापदण्ड तथा निर्देशिका–०६९ मा पनि विद्यार्थी अभिभावकलाई पुस्तक किन्दा विद्यालयलले तोक्न नपाइने उल्लेख छ । शिक्षा विभागका निर्देशक खगेन्द्र नेपालले विद्यालयले तोकेर अभिभावकलाई पुस्तक किन्न भन्न नपाइने बताए ।

‘अभिभावकलाई तोकेको ठाउँमा पुस्तक किन्न बाध्य गराउन पाउने छैनन्,’ उनले भने, ‘हामी अब अनुगमन गर्छौं र त्यस्तो पाइए कारबाही गर्नेछौँ ।’ नेपालले केही वर्षपहिला स्कुलकै हातामा पुस्तक बिक्री हुने गरे पनि अहिले स्टेसनरीमा विद्यालयको मिलोमतोमा खरिद बिक्री हुन थालेको बताए ।

विद्यालयले तोकेकै ठाउँमा पुस्तक खरिद गर्दा टाढाका अभिभावकलाई पायक नपर्ने र मूल्यमा छुट नपाउने बाध्यता छ । अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले सरकारले केही गर्न नसक्दा विकृति झनै मौलाएको बताए ।

उनले कमिसनकै खेलमा विद्यालयले अभिभावकलाई एउटै ठाउँबाट पुस्तक किन्न बाध्य पारेको बताए । ‘स्टेसनरीको नाम नै तोकेर पुस्तक किन्न अभिभावकलाई बाध्य पारेका छन्,’ उनले भने, ‘सरकार नै उदास भएकाले दिनदहाडै अभिभावक ठगिँदै आएका छन् ।’

प्याब्सनका अध्यक्ष डिके ढुंगाना अभिभावकलाई सुविधाका लागि पुस्तकको सूची दिइएको बताउँछन् ।

‘एकै ठाउँमा सबै पुस्तक नपाइने भएकाले निश्चित ठाउँ विद्यालयले तोक्न सक्छ,’ उनले भने, ‘तर अभिभावकलाई त्यहीँ मात्र किन भनेर बाध्यता पारेका छैनौँ ।’ उनले विगत चार वर्षदेखि विद्यालयको सूचनापाटीमा पुस्तकको सूची राख्ने गरेकाले त्यहीअनुसार किन्न अनुरोध गरे ।

प्रतिक्रिया